नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
१७ पटक हेरिएको
Shares
नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने

सारांश

  • सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा निर्माण हुन लागेको नांगेडाँडा लिफ्ट (वृहत पम्पिङ) खानेपानी आयोजनाको बिस्तृत आयोजना अध्ययन प्रतिवेदन निर्माण कार्य सुरु भएको छ ।
  • खानेपानी डिभिजन कार्यालय रामेछापका डिई जगन्नाथ पुर्वे लगायत खानेपानी विभागका इन्जीनियर र कन्सल्टेन्टहरुको टोलीले स्थानीय सरकार र सरोकारवालाहरुको सहभागितामा मंगलबार नांगेडांडामा एक कार्यक्रमबीच डिपिआर निर्माण कार्य सुरु गरिएको हो ।
  • नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयले निर्माण गर्न लागेको उक्त आयोजनाबाट यस क्षेत्रका ५ देखि ७ हजार बासिन्दाले शुद्ध खानेपानी उपभोग गर्न पाउनेछन् ।

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा निर्माण हुन लागेको नांगेडाँडा लिफ्ट (वृहत पम्पिङ) खानेपानी आयोजनाको बिस्तृत आयोजना अध्ययन प्रतिवेदन निर्माण कार्य सुरु भएको छ । खानेपानी डिभिजन कार्यालय रामेछापका डिई जगन्नाथ पुर्वे लगायत खानेपानी विभागका इन्जीनियर र कन्सल्टेन्टहरुको टोलीले स्थानीय सरकार र सरोकारवालाहरुको सहभागितामा मंगलबार नांगेडांडामा एक कार्यक्रमबीच डिपिआर निर्माण कार्य सुरु गरिएको हो ।

नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयले निर्माण गर्न लागेको उक्त आयोजनाबाट यस क्षेत्रका ५ देखि ७ हजार बासिन्दाले शुद्ध खानेपानी उपभोग गर्न पाउनेछन् । यस खानेपानी आयोजनाका लागि सिन्धुली–२ का सांसद हरिवोल गजुरेलको विशेष सक्रियतामा चालु आ.व. २०७७÷७८ मा संघीय सरकारले ६ करोड ९० लाख रुपैंया बिनियोजन गरेको थियो ।

खानेपानी तथा ढल निकास विभागको आयोजना कार्यन्वयन इकाई डिभिजनले उक्त आयोजना निर्माण गर्ने छ । डिभिजनले ललितपुरको इको कोड नेपाल नामक कन्सल्टेन्सीलाई डिपिआर निर्माणको ठेक्का दिएको छ । यही माघ महिनासम्ममा डिपिआर रिपोर्ट सम्पन्न गरी हस्तान्तरण गर्न कन्सल्टेन्सीलाई निर्देशन दिएको डिभिजन प्रमुख पुर्वेले बताए ।

Haribol Gajurel

डिपिआर बने लगत्तै ठेक्का लगाउने र बढीमा १८ महिनामा आयोजनाको सबै काम सम्पन्न गर्ने योजना रहेको उनले उल्लेख गरे । आयोजनाको जम्मा लागत विस्तृत अध्ययन रिपोर्ट तयार भएपछि मात्रै निक्र्योल हुने पनि इन्जीनियर पुर्वेले बताए । तर आयोजना सम्पन्न गर्नका लागि आवश्यक जति रकम लागे पनि त्यो नेपाल सरकारले व्यहोर्ने खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले जानकारी दिए ।

मंगलबार सुनकोशी गाउँपालिका प्रमुख दीपा दाहाल बोहोरा, डिभिजन प्रमुख पूर्वे, ५ नम्बर वडाध्यक्ष सन्तोष दाहाल, स्थानीय युवा नेता प्रमोद दाहाल, प्रेम बर्मा, रोहित दाहाल लगायतको टोलीले आयोजनाको विषयमा स्थानीय उपभोक्ताहरुसँग छलफल गरेपछि फिल्ड हेर्ने काम पनि सम्पन्न गरेको प्रमोद दाहाल र प्रेम बर्माले जानकारी दिए ।

आयोजनाले सुनकोशीको दुईवटा वडा ५ र ६ मा रहेका नांगेडाँडा, टारीगाउँ, काशीखर्क, बरालडिही, लिट्टेभञ्ज्याङ, सातबिसे, भलुंगे, रामटार, शाहीटार, मूलकोट, गाईखुरा, सितलपाटीको रिठ्ठे, भञ्ज्याङडाँडा र तीनखोप्रेका ५ देखि ७ हजार जनताले घरघरमा खानेपानीको सुविधा पाउने गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले बताइन् ।

जम्मा लगानीको ९० प्रतिशत संघीय सरकारले लगानी गर्ने छ । बाँकी रहेको ९ प्रतिशत स्थानीयको श्रमदानबाट र १ प्रतिशत रकम गाउँपालिकाले लगानी गर्नुपर्ने र त्यसको लागि गाउपलिका तयार रहेको अध्यक्ष दाहालले बताए । समयमै आयोजना सम्पन्न गर्न स्थानीय सरकारले कुनै कसर बाँकि नराख्ने उनले दावी गरे ।

सुनकोशीको बिकट पहाडी भूगोलमा रहेको बस्तीमा सुनकोशी नदीबाट पम्पीङ गरेर पहाडमा पानी लैजानुपर्ने भएका कारण आयोजना खर्चिलो हुने गाउँपालिकाको ठहर छ । नदीबाट पहाडका उपभोक्तासम्म पानी पुराउन ७÷८ किलोमिटर पानी पम्पीङ गर्नुपर्ने हुनसक्छ । छरिएर रहेको बस्ती भएका कारण पनि खर्च बढ्ने देखिन्छ ।

तर वर्षैंदेखि खानेपानीको समस्या रहेको यस क्षेत्रमा यो आयोजना सम्पन्न भएपछि यस क्षेत्रकै कायापलट हुने बागमती प्रदेशका सांसद लेखनाथ दाहाल राजनले दावी गरे ।

यसै आ.व.को बजेट कार्यक्रममा रहेको सिन्धुलीको मरिण क्षेत्रका १० हजार जनसंख्या र कमलामाई नगरपालिकाका १० हजार जनसंख्यालाई पुग्ने खानेपानी आयोजनाको सर्वे पनि १५ दिनभित्र सम्पन्न हुने डिई पुर्वेले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?