खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल

सारांश

  • सम्भवतः चलचित्र बिकास बोर्ड्ले दसैं अगाडि नयाँ नेतृत्व पाउनेछ ।
  • सरकारले पहिलोपटक चलचित्र विकास बोर्ड अध्यक्षमा आवेदन मागेको छ ।
  • राजनीतिक नियुक्तिको परम्परा तोडिएको छ ।
सम्भवतः चलचित्र बिकास बोर्ड्ले दसैं अगाडि नयाँ नेतृत्व पाउनेछ । सरकारले पहिलोपटक चलचित्र विकास बोर्ड अध्यक्षमा आवेदन मागेको छ । राजनीतिक नियुक्तिको परम्परा तोडिएको छ । अन्डर–ग्राजुएट भीडले भरिएको घरेलु फिल्मको नेतृत्वमा अनिवार्य स्नातक उत्तिर्णको सर्त राखिएको छ । १२ उम्मेदवारले आफू अब्बल रहेको प्रमाणपत्र र कार्ययोजनासहित संचार मन्त्रालयमा निवेदन दिएका छन् ।
आवेदन दिनेमा फिल्म निर्देशनमा कपाल फुलाएकादेखि कुनै एक विधामा डेब्यु गरेका नवप्रवेशी सम्म छन् । हालैमात्र कुरा गर्दै चलचित्र विकास बोर्डका कार्यवाहक अध्यक्ष रामचन्द्र ढकालले योग्य र सक्षम उम्मेदवारलाई अध्यक्ष नियुक्त गरिने बताएका थिए जो छनौट समिति संयोजक समेत हुन् । चलचित्र विकास बोर्ड नेतृत्वको विशेषता भनेकै अनुभवी, बोल्ड र कस्मोपलिटन दृष्टिकोण हुनु हो ।
आवेदकमध्ये यी तीन विशेषताको फ्युजन कुन उम्मेदवारसँग होला ? ढकालको उक्त आशय कुन उम्मेदवारप्रति लक्षित होला ? स्थापनाको डेढदशकमा चलचित्र विकास बोर्डले कसलाई पहिलोपटक गैरदलीय नेतृत्वको रुपमा प्राप्त गर्ला ? लिगेसी, बोल्ड, लैगिक समावेशिता र अध्ययनको हिसाबले भन्नुपर्छ : निकिता पौडेल जारी प्रतिस्पर्धाकी योग्य आवेदक हुन् ।
किन निकिता पौडेल ?
४० वर्षदेखि नेपाली सिनेमा निर्माण, वितरण र प्रदर्शनमा सक्रिय गोपिकृष्ण मूभिजको लिगेसी निकितासँग सुरक्षित छ । थाइल्यान्डस्थित अमेरिकी विश्वविद्यालय मातहतको वेबस्टर युनिभर्सिटीबाट संचारमा स्नातकोत्तर उत्तिर्ण उनी १३ वर्षदेखि संस्थामा क्रियाशिल छिन् । फिल्मका लिजेन्ड पिता उद्धव पौड्याल सक्रिय राजनीतिमा डेब्यु भएपछि २०६९ देखि गोपिकृष्ण मूभिज र इन्टरटेनमेन्टको प्रमुखको रुपमा उनी निरन्तर छिन् ।
गोपिकृष्णसँग गाँसिएको निर्माण, प्रदर्शन र वितरण लिगेसी निकिताको सशक्तता हो । राजनीतिक फिलोसोफी लोकतान्त्रिक भएपनि निकिताले अहिलेसम्म कुनै दलीय सदस्यता लिएकी छैनन् । ‘बुवाको कारण मलाई राप्रपा भनिन्छ तर, म कुनै राजनीतिक पार्टीसँग आबद्ध छैन’ हालैको एक बिहान निकिता मुडमा सुनिइन्, ‘म आफूलाई योग्य ठान्छु र सोहीअनुसार शनिबार हुने अन्तवार्ताका लागि प्रस्तुत हुँदैछु ।’ उनी पूर्णतः बोल्ड एवं कन्फिडेन्स देखिइन् ।
युवा उद्यमी उनको अर्को पहिचान हो । नीजि क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले उनलाई उत्कृष्ट युवा उद्यमी २०७० बाट पुरस्कृत गरेको थियो । मिडिया संचालक संस्था मिडिया सोसाइटी, चलचित्र निर्माता संघ लगायतका संस्थामा निकिता सहभागि लोभलाग्दो छ । देश तथा विदेश भ्रमणबाट प्राप्त शिक्षाले उनलाई विश्वव्यापी दृष्टिकोण (कस्मोपलिटन) बनाउन मद्दत गरेको छ । ‘नेपाली फिल्मलाई विश्वव्यापीरुपमा स्थापित तुल्याउनु मेरो उद्देश्य हो’ उनले भनिन् ।
सवाल लैंगिक समावेशिताको
नेपाली सिनेमाको ५० वर्षको छोटो इतिहासलाई पितृसत्तात्मक कोणबाट लेखियो । कथा भन्ने शैली, चरित्र चित्रण, नीति निर्माणमा पुरुष दबदबा रह्यो । अहिले पनि उल्लेख्य मात्रमा घरेलु फिल्मको विकास प्रक्रियामा महिला सहभागिता छैन । नीति बनाउने थलो चलचित्र विकास बोर्डको लगाम पुरुषकै हातबाट कसियो । पहिलोपटक अध्यक्षका लागि पौडेलको उम्मेदवारी लैंगिक सहभागिताको कोशेढुंगा हुनसक्छ ।
निकिताको सहभागिताले चलचित्र विकास बोर्ड महिला मैत्री बन्न सक्ने अपेक्षा गर्न सकिन्छ । किनभने, बोर्डले प्रदान गर्ने सेवासुविधा, छात्रवृत्ति, अनुसन्धान र प्राज्ञिक कार्यमा महिला सहभागिता बढ्न सक्छ । यसले नेपाली सिनेमालाई हेर्ने सामाजिक दृष्टिकोणमा समेत व्यापक परिवर्तन आउन सक्ने अनुमान गर्न सकिन्छ । अहिले पनि कन्जरभेटिभ नेपाली समाजको निम्न मध्यम वर्ग छोरीलाई फिल्मबाट टाढै राख्न चाहन्छ । फिल्मलाई महिला सशक्तीकरणको माध्यम, प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न निकिताको नेतृत्व सबल बन्नसक्छ ।
यस्ता छन् निकिता एजेन्डा
उनले आफू नेतृत्वमा आए अल्पकालिन र दीर्घकालिन रुपमा कार्यान्वयन गर्न मिल्ने खालका एजेन्डा अघि सारेकी छन् । पहिलो चरणमा फिल्म क्षेत्रमा संलग्न सबैसँग छलफल चलाउने, बक्सअफिस लागु गर्ने, सरकारी राजदुतावासमा फिल्म दूत नियुक्ति गर्ने लगायतका तत्कालिन एजेन्डा छन् । नेपाली सिनेमालाई अन्तराष्ट्रियस्तरको उद्योगको रुपमा विकास गर्ने दीर्घकालिन उद्देश्य र सामाजिक जीवनस्तरमा उन्नती गर्ने लक्ष्य उनले लिएकी छन् ।
अर्को प्रमुख कुरा उनले घरेलु सिनेमाको मुख्य थ्रेटलाई सुधार्ने योजना बुनेकी छन् । त्यो भनेको सिनेमाको लेख्य संरचना (पटकथा)मा सुधार ल्याउन विश्वस्तरिय नेपाली साहित्यलाई एडप्टेसन गर्ने र निर्मातासँग समन्वय गरि क्षमतालाई प्रवेश गराउने उद्देश्य छ । अहिलेसम्मका अध्यक्षले फिल्मको हार्डवेयर संरचनामा मात्र सुधार ल्याउन पहल गरेका थिए । पटकथा भनेको फिल्मको आत्मा हो ।
नेपाली सिनेमालाई अन्तराष्ट्रिय महोत्सवमा प्रतिस्पर्धी तुल्याउने, आदिवासी जनजाति, मातृभाषी र क्षेत्रीय फिल्म प्रवद्र्धन गर्ने उनको योजना छ । चलचित्र विकास बोर्डले फिचर र त्यसमा पनि नेपाली भाषीलाई मात्रै फिल्म ठान्ने मनोविज्ञान उनले त्याग्न खोजेकी छन् । मुलुक संघियतामा प्रवेश गरेपछि बदलिएको संरचनाअनुसार निकिता अघि बढ्न खोजेको देखिन्छ ।
योग्यता छ भने पैसा किन चाहियो ?
अध्यक्षमा आवेदन दिएपछि निकितामाथि दुई आरोप तेर्सिए : पहिलो –राप्रपा नेतासमेत रहेका बुवा उद्धव पौड्यालको शक्ति र दोस्रो –पैसा चलखेल । निकिता यी गसिपलाई ठाडै अस्वीकार गर्न चाहन्छिन् । भन्छिन् : खुला प्रतिस्धर्पाबाट योग्य उम्मेदवार छान्ने हो भने पैसा र शक्तिकेन्द्रको पछाडि किन लाग्नुपर्‍यो ? सीधै मन्त्रीले नियुक्त गरे भैहाल्यो नि ।’ निकिताको यो बोल्ड उत्तरभित्रै यथार्थ लुकेका छन् ।
कार्यवाहक अध्यक्ष ढकालले भनेजस्तै विगतमा राजनीतिक नियुक्तबाट अध्यक्ष भएकाहरु कामप्रति बायस्ड भैदिए । क्षमतावान र सक्षम कहिल्यै बोर्डमा पुग्न पाएनन् । निकिता कार्यवाहक अध्यक्ष ढकालका यी अभिव्यक्तिसँग सहमत छिन् र त उनले उक्त पदका लागि आवेदन दिएकी हुन् । ‘यी आरोप सबै असत्य हुन् । म आफ्नो योग्यता र क्षमतामा पूर्ण विश्वास गर्छु र अडिग छु’ कफीको अन्तिम सिप लिँदै उनले भनिन् ।
शनिबार उनी अन्तवार्ता दिँदैछिन् । चलचित्र विकास बोर्ड सम्हाल्ने निकिता हुटहुटी अहिले पनि उस्तै छ । फेमिनिस्ट सोच भएकी यी फिल्म उद्यमीलाई शुभकामना !

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?