कांग्रेस नेताबीच घोचपेच

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेस नेताबीच घोचपेच

सारांश

  • काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक कलह मिलाएर अघि बढे आगामी चुनावमा कांग्रेस फेरि सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन्।
  • कांग्रेसको काठमाडौं जिल्ला समिति भेलालाई शनिबार सम्बोधन गर्दै देउवाले गत चुनावमा कांग्रेसमा व्यापक अन्तर्घात भएको दाबी गरे।
  • उनले भने, ‘हाम्रा २० जना नेता अन्तर्घातले चुनावमा पराजित भए, यो सुधारेर अघि बढ्नुको विकल्प छैन।

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक कलह मिलाएर अघि बढे आगामी चुनावमा कांग्रेस फेरि सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन्।

कांग्रेसको काठमाडौं जिल्ला समिति भेलालाई शनिबार सम्बोधन गर्दै देउवाले गत चुनावमा कांग्रेसमा व्यापक अन्तर्घात भएको दाबी गरे। उनले भने, ‘हाम्रा २० जना नेता अन्तर्घातले चुनावमा पराजित भए, यो सुधारेर अघि बढ्नुको विकल्प छैन।’ उनले आपसी मतभेद बिर्सेर पार्टीको हितमा एक हुन पनि सबैसँग आग्रह गरे। उनले पार्टी पदाधिकारीको मनोनयन छिट्टै हुने र विभागहरूले पनि पूर्णता पाउने बताए।

महामन्त्री शशांक कोइरालाले पार्टीमा व्याप्त गुटउपगुटको अन्त्य गर्न सभापतिसँग आग्रह गरे। उनले पार्टीमा अराजकता फैलिएको र अराजकता अन्त्य गरी अघि बढ्न समेत सबैसँग आग्रह गरे। ‘कांग्रेससँग राजनीतिक इतिहास, विचार र कार्यकर्ता सबै छ’, उनले भने, ‘हामीले यसलाई सही ढंगले जनमानसमा लैजान सकेनौं कि !’ पार्टीभित्रका गुटउपगुटलाई अन्त्य गर्न सभापतिले प्रयास गरे आफूले सघाउने उनको भनाइ थियो।

राष्ट्रिय सभागृहमा आयोजित जिल्ला भेलामा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति देउवाको कार्यशैलीको आलोचना गरे। उनले आरोप लगाए, ‘उहाँले समग्र पार्टी गतिशील बनाउन सक्नु भएन, आफ्नो गुट÷समूहका नेतासँग मात्र रमाउनु भयो।’ उनले सभापति देउवाबाट पार्टी अघि बढ्न नसक्ने भन्दै तत्काल महाधिवेशनको माग गरे। केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले शीर्ष नेतृत्वसँग फराकिलो मन बनाएर पार्टी एक ढिक्का गर्न सुझाए। उनले भने, ‘हामी मिलेर अघि बढ्यौं भने सबै समस्या सल्टिन्छ।’

अर्का केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले अन्तर्घातीमाथि पार्टीले कारवाही गर्न माग गरे। उनले भने, ‘कांग्रेसको सदस्यता बोकेर रूखबाहेक अरु चुनाव चिह्नमा मतदान गर्नेलाई कारवाही नगरे पार्टीभित्र बेथिति अझै बढ्छ, कारवाही गर्न कन्जुस्याइँ नगरौं।’ उनले चुनावमा पार्टीको पराजयको जिम्मा लिन पनि सभापतिसहित शीर्ष नेताहरूसँग आग्रह गर्दै भने, ‘मेरो क्षेत्रको सबै नतिजाको जिम्मा म लिन्छु, तपार्इंहरू पनि आ–आफ्नो भूमिकाअनुसार जिम्मा लिन पछि नपर्नुस्।’

कांग्रेसको काठमाडौं जिल्ला सभापति कृष्णसबुज बानियाँका अनुसार भेलाको प्रतिवेदन जिल्ला कार्यसमितिले केन्द्रीय कार्यसमितिमा पठाउनेछ। ‘पार्टीको समग्र अवस्थासहित चुनावमा पार्टीले ल्याएको मतको समेत विश्लेषण गरी भेलाको रिपोर्ट तयार पार्ने छौं’, उनले भने, ‘र केन्द्रमा पठाउने छौं।’

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले महासमिति भेलाको मिति तोक्ने निश्चितप्रायः देखिएका बेला जिल्ला सभापतिको भेलासमेत गर्ने तयारी गरिरहेको छ। चैत पहिलो साता जिल्ला कोषाध्यक्षको भेला भएको थियो। कांग्रेस नेताहरूका अनुसार महासमिति अघि नै जिल्ला सभापतिको भेला गर्ने तयारी भइरहेको छ।

कांग्रेसको भ्रातृ संगठन तरुण दलले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण सञ्चालन गरिरहेको छ भने केन्द्रीय पदाधिकारी बैठकले यसअघि जिल्ला कार्यसमितिहरूलाई निर्वाचनको समीक्षा केन्द्रमा पठाउन निर्देशन दिएको थियो। गत निर्वाचनमा व्यापक अन्तर्घात भएको गुनासा आएपछि पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको छ। रमेश रिजालको नेतृत्वको समितिले पहिलो चरणमा विभिन्न जिल्लाका ३ सय जनासँग स्पष्टीकरण सोधिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?