नेपालका धनाड्यहरूले कति दिन्छन् देउसि-भैलाे खेल्न अाउनेलाइ दक्षिणा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
६८ पटक हेरिएको
Shares
नेपालका धनाड्यहरूले कति दिन्छन् देउसि-भैलाे खेल्न अाउनेलाइ दक्षिणा ?

सारांश

  • काठमाडौं, २२ कात्तिक ।
  • तिहार बत्ति र फुलको झिलिमिलिसँगै देउसी-भैलो खेलेर मनाउने चाड हो ।
  • देउसे-भैलेको उद्देश्य हो, मनोरञ्जनसहितको आम्दानी ।

काठमाडौं, २२ कात्तिक । तिहार बत्ति र फुलको झिलिमिलिसँगै देउसी-भैलो खेलेर मनाउने चाड हो । देउसे-भैलेको उद्देश्य हो, मनोरञ्जनसहितको आम्दानी । त्यसैले उद्योगी/व्यवसायीहरुलाई चिठ्ठी नै काटेर विभिन्न संघ संस्था, क्लब, राजनीतिक दलका भातृ तथा शुभेच्छुक संगठनहरु जाने प्रवृत्ति पछिल्ला वर्षहरुमा बढ्दो छ ।

अर्बौंका मालिकहरुकहाँ देउसी खेल्न जाँदा मोटो रकम पाइने आशामा यस्ता समुहहरु तिहार लाग्ने वित्तिकै चिठ्ठी काट्न हतारिन्छन् । नेपालका धनाड्य व्यवसायीहरुले यसरी देउसी-भैलो खेल्न आउनेहरुलाई कति दान देलान् त ? हामीले केही ठूलो व्यावसायीहरुलाई सोधेका थियौं ।

बच्चाहरुलाई विषेश प्राथमिकता दिन्छु

सुरज बैद्य(अध्यक्ष, संयोजक, नेपाल भ्रमण वर्ष २०२०)

मेरोमा देउसी-भैलो खेल्न धेरै जना आउँछन् । तर म ठूलालाई भन्दा बच्चालाई प्राथमिकता दिन्छु । जति साना बच्चा आए त्यति खुसी हुन्छु । ५/६ वर्षका बच्चाहरु आए भने म उनीहरुसँगै देउसी-भैलो खेलेर रमाइलो पनि गर्छु । उनीहरुलाई ३-४ सय रुपैयाँका दरले पैसा दिएर पठाउने गरेको छ । त्योभन्दा अलि ठूला अर्थात् १०-१२ वर्षका बच्चाहरु आए भने १०-१२ सय रुपैयाँ दिने गरेको छु ।

तर, पछिल्ला वर्षहरुमा देउसी भैलो विकृतिको रुपमा विकसित हुँदैछ । यसलाई चाडको रुपमा नमनाएर कतिपयले चन्दा उठाउने अवसरका रुपमा पनि देउसी भैलो खेल्न थालेका छन् । यद्यपि यो हाम्रो चाड हो । म पनि बच्चामा देउसी भैलो खेल्न जान्थेँ । कति दान पाइयो भन्ने चाहीँ यादै भएन । आज म देशबाहिर जाँदैछु । त्यसैले कर्पोरेट क्षेत्रमा पनि देउसी भैलो हुने हुँदा टोयटाको मूख्य कार्यालयमा देउसी खेल्न आउनेका लागि आवश्यक व्यवस्था मिलाएको छ ।

दान दिने काम बिनोद बाबुको हो

सारिका चौधरी(चौधरी समुह)

तिहारमा देउसी-भैलो खेल्न आउने नेपालीहरुको संस्कार नै हो । हाम्रोमा २५-३० समुहजति आउलान् । तर, सबैलाई अफिसले नै चेक काटेर दिन्छ । त्यो कामको व्यवस्थापन बिनोद बाबुले नै मिलाउनु हुने भएकाले कति दान दिन्छौं भन्ने कुरा मलाई यकिन छैन । त्यही १०/१२ हजार रुपैयाँसम्म दिइन्छ होला । म त देउसी-भैलो खेल्न आउन फलफुल र मिठाइ खुवाएर पठाउँछु ।

टिम अनुसारको दान दिन्छु

भवानी राणा(अ ध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ)

तिहार मनाउनका लागि म नेपालगञ्जको घरमा गएकी छु । घर र होटल सँगै छ । यहाँ देउसे-भैलेको ४०/५० समुह आउँछन् । यतातिर केटाकेटी दुबैले देउसी–भैलो खेल्छन् । राजनीतिक दलका भातृ तथा सुभेच्छुक संगठन, सामाजिक संघ/संस्था, टोलका क्लब र ससाना बच्चाहरुको समुह देउसी भैलो खेल्न आउँछन् । उनीहरुको टिम अनुसारको दान दिने गरेकी छु । बढीमा १५ हजार रुपैयाँसम्म दिने गरेका छौं ।

बच्चाहरुलाई १-२ सय दिन्छु

पशुपति मुरारका(पुर्वध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ)

पहिले पहिले त धेरै टोली देउसी भैलो खेल्न आउँथे । अचेल धेरै कम आउँछन् । तर, अचेल आउनेहरु अधिकांस पहिले नै चिठ्ठी काटेर आउँछन् । पहिले रमाइलो गर्न आउँथे, अचेल देउसी भैलो पनि व्यावसायिक भएको छ । पैसा उठाउने उद्देश्यले आएका हुन्छन् । त्यसैले हाम्रो खर्च पनि बढेको छ । देउसे-भैलेको टोली र अबस्था हेरेर दान दिने गरेको छु । राजनीतिक दलका भातृ संगठन, शुभेच्छुक संगठन र संससंस्थाहरु आउँदा अलि बढी दान दिनुपर्छ । टोलका बच्चाहरु आउँदा त १/२ सय रुपैयाँ दिँदा भैहाल्छ ।

देउसे-भैलेका लागि ठूलै रकम खर्च हुन्छ

शेखर गोल्छा( बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ)

 

देउसी-भैलो खेल्ने चलनप्रति मेरो फरक धारणा छ । यो नेपालीहरुको सबैभन्दा युनिक कल्चर हो । तर, अहिले पैसा उठाउने मेलो बनाउन थालिएको छ । यसले हाम्रो कल्चरलाई विकृत बनाउँदै लगेको आभाष हुन्छ । यस्तो प्रवृत्तिलाई सुधार गर्नुपर्ने समेत देखिएको छ ।

साथीभाई, बालबच्चाले संस्कार जोगाउन खेलिने देउसी÷भैलो अहिले राजनीतिक दल, सामाजिक संघ-संस्थाहरुले चिठ्ठी काटेरै जानकारी दिन्छन् । र, आउँछन् । उनीहरुलाई सहयोग त गर्नै पर्यो । दान दिएको कुरा यति नै रकम दिएँ भनेर त कसरी भन्नु ? जे होस् देउसे भैलेका लागि मोटो रकम खर्च हुन्छ । खासगरी अफिसमै धेरै समुहहरु देउसी खेल्न आउँछन् । उनीहरुलाई अफिसबाटै चेक काटेर दान दिने गरेको छु । त्यो खर्च पनि अफिसकै हो ।

बुबाले दिनुहुन्छ, मलाई त थाहै छैन

अञ्जन श्रेष्ठ(व्यवसायी)

पहिले पहिले त धेरै समुह आउँथे । अचेल खासै आउँदैनन् । यद्यपि २/४ टोली त आउने नै भए । उनीहरुको टिम र अवस्था हेरेर दान दिइन्छ । मेरो त सँधै बुबाले दान दिने भएकाले मलाई यकिन थाहा छैन । बच्चामा देउसी भैलोमा नजाने कुरै भएन । यो हाम्रो संस्कृति हो यसलाई जोगाइराख्ने चुनौति आएको छ । दिपावली भनेको कलरको चार्ड हो । साथै यो चार्ड मिठासको चाड पनि भएकाले सबैमा खुसि कसरी बाँड्न सकिन्छ भनेर मनाउँनु पर्छ ।

१०-१५ हजारसम्म दिन्छु

प्रबलजंग पाण्डे(व्यवसायी)

मेरोमा कम्तिमा पनि १५/२० टोली देउसी-भैलो खेल्न आउँछन् । प्राय सबैले चिठ्ठी काटेर जानकारी दिएर आएका हुन्छन् । उनीहरुको टोली र अवस्था हेरेर दान दिने गरेको छु । अहिलेसम्म सबैभन्दा बढी १५ हजार रुपैयाँ दिएको हुँला । पछिल्लो समय युवाहरु क्रिसमस र न्युयर मनाउन लालहीत भएका छन् तर हाम्रो देउसी भैलोमा चासो छैन । यसले कताकता हाम्रो संस्कृती लोपहुने हो की भन्ने डर लाग्छ । म आफुपनि सानो छँदा देउसी भैलोमा जाने गरेको थिए । (क्लिकमाण्डुबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?