अब संसदमा ९ वटा मात्रै पार्टी, हराउँदै हलो, गाई र आँखा संकटमा !
सारांश
- काठमाडौं, मंसिर २३ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको प्रारम्भिक परिणाम अनुसार एमाले र माओवादी सम्मिलिन वाम गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ ।
- देशमा अब एउटै गठबन्धनले ५ बर्षसम्म सरकार चलाउने पनि पक्का जस्तै भएको छ ।
- यो चुनावले केही नयाँ परिदृश्यलाई सतहमा ल्याएको छ ।
काठमाडौं, मंसिर २३ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको प्रारम्भिक परिणाम अनुसार एमाले र माओवादी सम्मिलिन वाम गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । देशमा अब एउटै गठबन्धनले ५ बर्षसम्म सरकार चलाउने पनि पक्का जस्तै भएको छ । यो चुनावले केही नयाँ परिदृश्यलाई सतहमा ल्याएको छ । अब बन्ने संसदमा थरीथरीका अनेकौ पार्टी पनि रहनेछैनन् ।
राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण अहिलेका धेरै भुरे टाकुरे दल हराउने अवस्थामा छन् । अहिले आइरहेको मतपरिणाम हेर्दा अबको संसदमा बढीमा ९ वटा मात्रै राष्ट्रिय दल बन्ने पक्का जस्तै देखिन्छ ।
केहि दलको प्रत्यक्षमा १ सिट आएपनि समानुपातिकमा ३ प्रतिशत मत नआउने संकेत देखिएको छ भने केही दलले प्रत्यक्षमा १ सिट जिते पनि समानुपातिकमा ३ प्रतिशत मत ल्याउन नसक्ने देखिन्छ । त्यसैले अबको संसदमा बढीमा ९ वटा भन्दा धेरै पार्टी नरहने पक्का छ ।
नेकपा एमाले र माओवादी केन्द्रको बहुमत आउने पक्का भइसकेको छ । यस्तै नेपाली कांग्रेसले पनि प्रत्यक्षमा २० देखि २५ सिट ल्याउने र समानुपातिकमा पनि खसेको मतको सरदर ३० प्रतिशत मत ल्याउने देखिन्छ । संघीय समाजवादी फोरमले पनि प्रत्यक्षमै ८ क्षेत्रमा अग्रता लिएको छ, समानुपातिकमा पनि संघीय फोरमको राम्रै मत आउने कुरा प्रत्यक्षको अग्रताले देखाइसकेको छ ।
यस्तै राजपा पनि ९ क्षेत्रमा अघि छ । समानुपातिकमा ३ प्रतिशत मत नआउला भन्ने कुरै भएन । अब कुरा रह्यो, नारायणमान विजुक्छेको नेमकिपा, कमल थापाको राप्रपा, बावुराम भट्टराइको नयाँ शक्ति र जनमोर्चाको ।
राप्रपा
राप्रपाका अध्यक्ष कमल थापा आफै संकटमा पर्नुभएको छ । मकवानपुरमा कमल थापा एमालेका कृष्णप्रसाद दाहालभन्दा निकै पछि हुनुहुन्छ । कमल थापाले मकवानपुरमा हारे पनि झापा ३ मा वाम गठबन्धनको सहयोगमा राजेन्द्र लिङदेनले जित्ने सम्भावना बढ्दै गएको छ ।
तर यदी झापामा चुनाव जित्ने वित्तिकै राजेन्द्र लिङदेन एमालेमा प्रवेश गर्ने गाँइगुँइ पनि सुरु भैसकेको छ । कमल थापा आफै हार्ने सम्भावना र राजेन्द्र लिङदेन राप्रपाकै सांसद हुने नहुने पक्का नभएकाले राप्रपा राष्ट्रिय दल बन्ने नबन्ने कुरा पनि पक्का छैन ।
यदि प्रत्यक्षतर्फ राप्रपाले एक सिट हात पारे पनि समानुपातिक सिटको लागि ३ प्रतिशतको प्रावधानले कमल थापाको गाई संसदमा पुग्छ पुग्दैन यसै भन्न सकिन्न ।
जनमोर्चा
जनमोर्चाले प्रत्यक्षतर्फ प्यूठानबाट १ सिट जित्ने पक्का जस्तै छ । त्यहाँ एमाले र माओवादीको समर्थनमा मशालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती दूर्गा पौडेलले अग्रता लिइरहनुभएको छ । प्यूठानमा पनि जनमोर्चाले समानुपातिका राम्रै मत ल्याउँने देखिन्छ ।
प्रत्यक्षमा माओवादीलाई समर्थन गरेपनि समानुपातिकमा भने वाग्लुङबाट पनि जनमोर्चालाई राम्रै मत आउने अपेक्षा छ । त्यस्तै पुरानो र देशैभरी संगठन भएकाले अन्य जिल्लाबाट पनि थोरधेर समानुपातिक मत पाउने सम्भावना रहेकाले राष्ट्रिय जनमोर्चा राष्ट्रिय दल बन्ने सम्भावना देखिन्छ ।
नयाँशक्ति
भारतको दिल्लीमा अरविन्द केजरीवालले आम आद्मी पार्टीबाट पाएको सफलता देखेर बाबुराम भट्टराईले पनि नयाँ शक्ति पार्टी खोल्नुभयो । तर पहिलो गाँसमै ढुंगा भनेझै बाबुराम भट्टराईको पार्टीले स्थानीय तहको चुनावमा जम्मा १ तहमा मात्रै जित्यो ।
अहिले पनि देशभरमा नयाँ शक्तिले प्रत्यक्षतर्फ जम्मा १ सिटमा अग्रता लिएको छ, त्यसमा पनि जितको पक्का भैसकेको छैन् । गोरखा २ मा बाबुराम भट्टराइले जितेमा प्रत्यक्षतर्फ १ सिट त आउने भयो । तर समानुपातिकमा झण्डै ३ लाख मत ल्याउन नयाँ शक्तिलाई हम्मेहम्मे पर्ने देखिन्छ । त्यसले बाबुराम भट्टराई स्वतन्त्र सांसद हुने र नयाँशक्ति पार्टी राष्ट्रिय दल नहुने सम्भावना अझै पनि बलियो छ ।
नेमकिपा
भक्तपुर क्षेत्र नम्बर १ नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ । तर अहिले त्यहाँ पनि प्रेम सुवालले धेरै मतको अग्रता कायम गर्न सक्नुभएको छैन् । कांग्रेसका उम्मेदवारसँग उहाँको कडा टक्कर छ । क्षेत्र नम्बर २ मा त नेमकिपा धेरै नै पछाडि छ ।
यदि भक्तपुर १ मा जित हात पारेपनि नेमकिपाले समानुपातिकका लागि चाहिने ३ प्रतिशत मत अर्थात झण्डै ३ लाख मत ल्याउन नेमकिपालाई पनि धौ धौ पर्ने देखिन्छ ।
प्रतिक्रिया