नेपाल कम्युनिष्ट पार्टी रामेछापको पूर्वएमाले गुटगत स्वार्थले विवादमा तानिँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नेपाल कम्युनिष्ट पार्टी रामेछापको पूर्वएमाले गुटगत स्वार्थले विवादमा तानिँदै

सारांश

  • काठमाडौं, १३ भदौ ।
  • रामेछापमा पूर्वएमाले र पूर्व माओवादी केन्द्रको एकता प्रक्रिया टुंगिएको छ ।
  • एकता प्रक्रिया टुंगिए पनि पूर्वएमाले भने गुटगत स्वार्थका कारण विवादमा तानिन थालेको छ ।

काठमाडौं, १३ भदौ । रामेछापमा पूर्वएमाले र पूर्व माओवादी केन्द्रको एकता प्रक्रिया टुंगिएको छ । एकता प्रक्रिया टुंगिए पनि पूर्वएमाले भने गुटगत स्वार्थका कारण विवादमा तानिन थालेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रामेछाप जिल्ला कमिटीमा पूर्वएमालेबाट ६९ जना र पूर्वमाओवादी केन्द्रबाट ६६ जना गरी जम्मा १ सय ३५ जना रहने सहमति भएको थियो । जसमा पूर्वमाओवादी केन्द्रले आफ्नोतर्फबाट विवादरहित तरिकाले जिल्ला कमिटीमा रहने ६६ जनाको नामावली यसअघि नै सार्वजनिक गरिसकेको छ । यता, पूर्वएमालेले भने आफ्नो तर्फबाट जिल्ला कमिटीमा रहने ६९ जना छनौट गर्दा ३३ प्रतिशत महिला नपुराएको, सक्रिय, क्रियाशील र जुझारु महिलाहरुलाइृ गुपचुप शैलीमा पाखा लगाइएको र गुटगत स्वार्थका कारण निस्क्रिय र एकदमै नयाँ अनुहारलाई प्राथमिकता दिएर सिफारिस गरिएको जस्ता आलोचना सार्वजनिक भएका छन् ।

पूर्वमाओवादी केन्द्र डिल्लीमान तामाङ अध्यक्ष र पूर्वएमालेका आनन्द श्रेष्ठ सचिव रहेको एकीकृत पार्टीमा विशेषतः गुटगत स्वार्थमा लागेर ओली पक्षलाई किनारा लगाइएको स्रोत बतायो । यतिसम्म कि नाम सिफारिस गर्ने कार्यदलमा रहेका राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल र केन्द्रीय सदस्य कैलाश ढुङ्गेल समेतलाई थाहा नदिई जिल्ला कमिटी सिफारिस गरिएको बताइएको छ ।

दुई पार्टी समायोजनका क्रममा रामेछाप जिल्ला कमिटी सिफारिस नै विवादित बनेपछि कार्यकर्ता पंक्ति निराश देखिएको छ । पूर्व एमालेका जिल्ला इन्चार्ज देवशंकर पौडेल र जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलले मनोमानी ढंगले ३३ प्रतिशत महिला नपुराई पुराना कार्यकर्तालाई ओझेलमा पार्दै पार्टीको विधानअनुरुप पार्टी सदस्यता भर्खरै लिएका र योग्यता नै नपुग्नेहरुलाई जिल्ला कमिटीमा राख्दा कस्तो संगठन बन्ला भन्ने गुनासो एक जिल्ला कमिटीका सदस्यले गरे । उनले भने, “नयाँलाई स्थान दिनु त सही होला तर विधानविपरीत योग्यता नै नपुगेकालाई जिल्ला कमिटीमा ल्याइँदा लामो समयदेखि सक्रिय रहेर पार्टीलाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका महिलाहरु ओझेलमा पर्नुले संगठन बलियो बन्दैन ।”

रुढिवाद, अन्धविश्वास, सामाजिक विकृति, उत्पीडन र विभेदका विरुद्ध संघर्ष गर्दै आएकी सीता केसी लगायतका अरु महिलाहरु गुटकै कारण जिल्ला कमिटीमा नपर्नु उदेकलाग्दो भएको भन्दै रामेछापका कार्यकर्ता पंक्तिले आफ्ना सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक क्षेत्रमा निकै सक्रिय केसी सधैं पार्टीकै काममा व्यस्त रहने र रामेछापका दीनदुःखी, गरिव र विरामीलाई हृदयदेखि सहयोग गर्ने एक निडर महिला नेतृ जिल्ला कमिटीबाट पाखा लगाइँदा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा दुखेसो पोख्दै आएका छन् ।

रामेछापका विद्यार्थी युवा नेता माधव ढकालले जिल्लाका नेताहरुलाई प्रश्न गर्दै लेखेका छन्, “तपाईंको कार्यक्रम व्यवस्थापन, आर्थिक, नैतिक, भौतिक सहयोग अन्याय अत्याचारका बिरूद्व सडकमा, संघठन बिस्तारमा, निर्वाचनमा भोट माग्न, संगठनलाई परेको बेला ज्यान दिन सधै अगाडि युवा चाहिने नेकपा जिल्ला कमिटी बनाउँदा चैं बुढो गोरूले गाई ओगटे जस्तो आजीवन आफै बसिरहनु पर्ने ?” उनले अझै अगाडि लेखेका छन्, “संगठनमा सीमित योगदान गरेका सधै तिम्रै गुणगान गाउने मात्र हुनुपर्ने ? आज कता गए यी युवा ?” भन्दै सीता केसी, रोशन पाख्रिन, दीपक कार्की, उज्जन सुवेदी, गीता कार्की, दानबहादुर थापा, राजु कार्की, बुद्ध लामा लगायतलाई जिल्ला कमिटीमा खोजेका छन् । उनले भनेका छन्, “एकपटक सोची हेर, यिनै युवा तिम्रा कार्यक्रममा नहुँदा कस्तो हुँदो हो ?”

त्यस्तै, युवा नेता अनमोल अविनाशले असन्तुष्टि पोख्दै फेसबुकमा लेखेका छन्, “यतिबेला कम्युनिस्ट पार्टीभित्र पूर्व एमालेका नेतालाई पूर्व माओवादीका नेता र पूर्व माओवादीका नेतालाई पूर्व एमालेका नेता भए पुगेको छ । यिनले आआफ्ना पूर्व कार्यकर्तालाई अवमूल्यन र बेवास्ता गरिरहेका छन् । यिनले आआफ्ना पूर्व कार्यकर्ताको तागत हेर्न खोजेकै हुन् त ?” उनको प्रश्न छ, “तत्कालीन माओवादीले आफ्ना सेनालाई रातारात अयोग्य बनाएको जस्तो यतिबेला फेरि यिनले एकताको नाममा पूर्व आआफ्ना कार्यकर्तालाई अयोग्य बनाउन खोजेकै हुन त ?” यी बाहेक जिल्लाका युवा नेताहरुले व्यापकरुपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?