न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
सारांश
- काठमाडौं ।
- सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले राजिनामा नदिएमा संसदले महाभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
- जोशी संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका हुन् ।
काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले राजिनामा नदिएमा संसदले महाभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । जोशी संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका हुन् । उनी प्रधानन्यायाधीश हुन नसकेपछि डेढ महिना विदा बसेर काममा फर्केका थिए ।
सर्वोच्चमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नियुक्त भएपछि उनी अदालत फर्केर काम शुरु गरेका छन् । उनी काममा फर्केपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले महाभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जनाइएको छ।
‘हामीले प्रर्याप्त हस्ताक्षर संकलन गरेका छौं, नेकपाका एक सांसदले भने, राजिनामा आएन भने महाभियोग प्रस्ताव दर्ता गर्छौं ।’ जोशीको राजिनामा पर्खने र नदिएमा महाभियोगको प्रस्ताव दर्ता गर्ने नेकपाको तयारी देखिन्छ ।
बिहिबार नेकपाका सांसदहरुसँग हस्ताक्षर समेत संकलन गरेका छन् । संसद भवनमा नेकपाका प्रमुख सचेतक देव गुरुङले हस्ताक्षर संकलन गरेका थिए। दलको कार्यालयमा समेत सांसदलाई बोलाएर हस्ताक्षर संकलन गरिएको थियो ।
यदि संसदबाट अस्विकृत भैसकेका जोशीले फेरि सर्वोच्च फर्केर मुद्दा हेर्न थालेका कारण महाभियोगको प्रस्ताव तयारी गरिएको स्रोतले जनाएको छ । गत जेठ २९ मा संवैधानिक परिषद्ले जोशीलाई वरिष्ठता र कार्यदक्षताका आधारमा प्रधानन्यायाधीश बनाउन सिफारिस गरिएको थियो ।
शीलाई संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा साउन १८ गते अस्वीकृत गरेको थियो।
जोशीको नाम अनुमोदन नभएपछि भदौ ७ गते संवैधानिक परिषदले ओम प्रकाश मिश्रलाई प्रधानन्यायाधीमा सिफारिस गरेको थियो।
कूल सांसदको एक तिहाई हस्ताक्षर सहित महाभियोग लागि प्रस्ताव दर्ता गर्न सकिने संविधानमा व्यवस्था छ। प्रस्ताव दर्ता भएपछि पदमा रहेको व्यक्ति स्वत निलम्वन हुने व्यवस्था छ । त्यसपछि महाभियोगको प्रस्तावका बारेमा छलफल हुनेछ ।
प्रतिक्रिया