यसरी काठमाडौं भित्र्याइयो मरेका खसीबोका

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
४० पटक हेरिएको
Shares
यसरी काठमाडौं भित्र्याइयो मरेका खसीबोका

सारांश

  • काठमाडौं ।
  •  व्यवसायी र मासु पसल सञ्चालकको मिलोमतोमा मरेका खसीबोकाको मासु उपभोक्तालाई बिक्री गरेको रहस्य खुलेको छ ।
  • पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा बिहीबार थानकोट नाकाबाट २८ गोटा मरेका खसीबोका नियन्त्रणमा लिएको छ ।

काठमाडौं । व्यवसायी र मासु पसल सञ्चालकको मिलोमतोमा मरेका खसीबोकाको मासु उपभोक्तालाई बिक्री गरेको रहस्य खुलेको छ । पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा बिहीबार थानकोट नाकाबाट २८ गोटा मरेका खसीबोका नियन्त्रणमा लिएको छ । यी खसीबोका मासु बिक्री गर्ने उद्देश्यले ल्याइएको हो । व्यापारीले विभिन्न समयमा यसरी मरेका खसीबोकाको मासु बिक्री गर्दै आएका छन् ।

महानगरीय प्रहरी प्रभाग थानकोटको सहयोगमा क्वारेन्टाइन कार्यालयले यात्रुवाहक बसबाट ती खसीबोका नियन्त्रणमा लिएको हो । नागढुंगा क्वारेन्टाइन कार्यालयका इन्चार्ज जीतबहादुर ज्ञवालीका अनुसार नेपालगन्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख १६८३ नम्बरको यात्रुवाहक बसको डिकीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा मरेका खसीबोका बरामद गरिएको हो ।

महानगरीय प्रहरी प्रभाग थानकोटका इन्स्पेक्टर ऋषिराम घर्ती मगरका अनुसार यात्रुवाहक बसमा निरीक्षण गर्ने क्रममा बसको डिकीमा २८ वटा मरेको खसीबोका राखेर काठमाडौं भित्र्याउँदै गरेको अवस्थामा फेला पारिएको जानकारी दिए । उनकाअनुसार उक्त डिकीबाट १३ वटा जिउँदो खसीबोका पनि बरामद गरिएको छ । ‘मरेका खसीबोका व्यवसायीले काठमाडौंका व्यापारीलाई बिक्री गर्ने वयानको क्रममा बताएका छन्,’ मगरले भने,‘काठमाडौंका व्यापारीले मरेका खसीबोका, कुखुरा, राँगा, बंगुरको मासु काटेर उपभोक्तालाई झुक्याएर सजिलै गरी बिक्री गर्ने रहस्य खुलेको छ ।’

ज्ञवालीका अनुसार नेपालगन्जका समिम मुकेरीले काठमाडौंको कलंकीस्थित मासु व्यवसायी समिम कुरैशीलाई यात्रुवाहक बसमार्फत उक्त खसीबोका पठाएका हुन् । ‘दाङको भालुवाङमै उक्त खसीबोका मरेको अवस्थामा राखिएको यात्रुवाहक बसका चालकले बयान दिएका छन्’, ज्ञवालीले भने,‘यसैबाट प्रस्ट हुन्छ, चाडवाडको समयमा मौकाको फाइदा उठाइ मिलोमतोको आधारमा मरेका मासुजन्य जनावर काठमाडौं भित्र्याइन्छ भनेर ।’ प्रहरीले उक्त यात्रुवाहक बससहित चालक युवराज पोखरेल र गाडी धनी दिपेश ढुंगाना तथा राजु वगालेलाई नियन्त्रणमा लिएको छ ।

पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा बिहीबार थानकोट नाकाबाट २८ गोटा मरेका खसीबोका नियन्त्रणमा लिएको छ ।

चाडवाडको समयमा खसीबोका परीक्षणका लागि थानकोट नाकामा सञ्चालनमा ल्याइएको विशेष अनुगमन कार्यक्रमको उदघाट्न गर्दै पशुपन्छी मन्त्री सन्तकुमार थारुले उपभोक्तालाई झुक्याएर मरेका खसीबोका, कुखुरा, राँगा र वंगुरको मासु बिक्री गर्ने व्यवसायीलाई कुनै पनि अवस्थामा उन्मुक्ति नदिने आश्वासन दिए । उनले मरेका जनावरको मासु बिक्री गर्ने व्यवसायीलाई खोजेर कडा कारवाही गर्न आफ्ना मातहतका विभागलाई निर्देशनसमेत दिए । मन्त्री थारुले भने,‘मरेका खसीबोका नियन्त्रणमा नलिइएको भए तिनको मासु अहिलेसम्म उपभोक्ताको भान्छासम्म पुगिसकेको हुन्थ्यो ।’

यसअघि पनि विशेष निगरानी गर्ने क्रममा मरेको अवस्थामा थानकोटबाट राँगाभैंसी ११ वटा, १९ खसीबोका, चार हजार कुखुरा र पाँच वटा मरेको वंगुर बरामद गरिएको थियो । यस्तै हाँस दुई सय, खसी तीन र ठूलो परिमाणमा मरेका कुखुरा नागढुंगा नाकाबाट क्वारेन्टाइन कार्यालयले नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।

स्वास्थ्य परीक्षण सुरु उपत्यकाका सात स्थानमा बिहीबारदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने विशेष कार्यक्रम सुरु भएको छ । भेटेरिनरी जनस्वास्थ्य कार्यालय, पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय, पशु क्वारेन्टाइन, पशु स्वास्थ्य निर्देशनालयलगायत सरकारी निकायको समन्वयमा यस्तो टोली परिचालन गर्ने निर्णय भएको छ ।

उनका अनुसार थानकोट, कलंकी, टुकुचा, बिजुलीबजार, सल्लाघारी, बालाजु र बलम्बुमा स्वास्थ्य परीक्षण गर्ने टोली परिचालन गरिएको छ । पशु स्वास्थ्य टोलीले स्वस्थ्य खसीबोकाको सिङमा हरियो र अस्वस्थ्य खसीबोकाको सिङमा रातो चिन्ह लगाउने काम सुरु गरेको छ । यस्तै निजी क्षेत्र र नेपाल खाद्य संस्थानले पनि बिहीबारदेखि दसैंलाई भनेर खसीबोकाको बिक्री सुरु गरेको छ । खाद्य संस्थानले १० रुपैयाँ छुट दिएर प्रतिकिलो चार सय ५५ मा खसी, १० रुपैयाँ छुटमा चार सय ५० मा बोका र सोही दरमा छुट दिएर ६ सय ७५ रुपैयाँ प्रतिकिलोका दरले च्याङग्राको बिक्री गर्न सुरु गरेको हो ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?