पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पक्राउ पुर्जी छोरालाई !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै,  पक्राउ पुर्जी छोरालाई !

सारांश

  • काठमाडौं , १७ असोज ।
  • टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गर्‍यो ।
  • सुमितको नाममा पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणाधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायण रौनियारको हस्ताक्षर छ ।

काठमाडौं , १७ असोज । टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गर्‍यो । सुमितको नाममा पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणाधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायण रौनियारको हस्ताक्षर छ । सुमित हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन बितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन ।

गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । २०७३ चैत अन्तिम साता केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको पोखरियामा आयोजित विशेष कार्यक्रममा रौनियारलाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए । चुनावी अभियानका क्रममा प्रतिस्पर्धीले रौनियारलाई पप्पु कन्स्ट्रक्सनको सञ्चालकका रूपमा कुप्रचार गर्न थालेपछि उनले छोरा सुमितलाई कागजी सञ्चालक बनाएका थिए । त्यसैको आधारमा रौतहट प्रहरीले उक्त दुर्घटनापछि सुमितलाई सोधपुछका लागि बोलाएको हो । गत भदौ ९ गते रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

कागजी रूपमा सुमितलाई सञ्चालक बनाए पनि सांसद रौनियार कन्स्ट्रक्सनको ठेक्का सम्झौता, भुक्तानीका लागि सरोकारवाला अड्डामा आफैं जाने गरेका छन् । रौतहटकै राजदेवी नगरपालिकामा वाग्मती नदीमाथि निर्माण हुने पुलको डिजाइन गलत हुँदा भएको छलफलमा गत महिना छोरासँगै सांसद हरिनारायण पनि हुलाकी आयोजनाको कार्यालयमा पुगेका थिए ।

सडक डिभिजन स्रोतबाट प्राप्त सम्झौतापत्रमा ठेकेदार कम्पनीबाट हरिनारायण रौनियारको हस्ताक्षर छ । २०७१ असार २४ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ठेकेदारबीच भएको सम्झौतामा सडक विभागको हेटौंडास्थित डिभिजन कार्यालय प्रमुख रवीन्द्र दास र ठेकेदार कम्पनीबाट सञ्चालकको हैसियतले हरिनारायणले हस्ताक्षर गरेका हुन् । पप्पुले २०७१ असार २९ बाट काम थाल्ने गरी १४ करोड ९३ लाख २७ हजार १ सय ५० रुपैयाँमा ठेक्का सकारेको थियो । २०७४ असार २५ भित्र काम सक्ने सम्झौता थियो ।

(कान्तिपुर दैनिक बाट)

(https://ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?