पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा

सारांश

  • काठमाडौं, ९ बैशाख ।
  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको मुख्य अभिभारा भएको बताएका छन् ।
  • नेकपाको स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा अध्यक्ष प्रचण्डले त्यस्तो धारणा राखेका हुन् ।

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको मुख्य अभिभारा भएको बताएका छन् । नेकपाको स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा अध्यक्ष प्रचण्डले त्यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष प्रचण्डले जनयुद्धको जगमा भएको जनआन्दोलनले सयौं वर्षको राजतन्त्रलाई समाप्त गरी संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको बताउँदै यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् । विज्ञप्तिको पूर्णपाठ :

प्रेस वक्तव्य

विश्व सर्वहारा वर्गका महान् नेता कमरेड भी.आई. लेनिनको १४८ औैं जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी एवम् प्रगतिशील र देशभक्त जनसमुदायमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछ । यस अवसरमा महान् सहिदहरुप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुप्रति सम्मान र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछ ।

लेनिनको जन्म जयन्तीको अवसर पारेर आजभन्दा ६९ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । वर्ग–संघर्ष र विचारधारात्मक संघर्षको लामो श्रृङ्खला एवं विभाजन र एकताको अनगिन्ती अनुभवहरु हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको छ ।

जनयुद्धको जगमा भएको जनआन्दोलनले सयौं वर्षको राजतन्त्रलाई समाप्त गरी संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको हाम्रो मुख्य अभिभारा हो ।

स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरि देश अहिले स्थिरता, सुशासन र विकासको व्यवहारिक अभ्यासको चरणमा छ । यो समाजवाद उन्मुख संविधान कार्यान्वयनको पहिलो खुट्किलो हो । नेपाली जनताले सामााजिक न्यायसहितको समृद्धिको नयाँ युगको अपेक्षा गरेका छन् ।
कम्युनिष्ट पार्टीहरु बीचको एकीकरण र समाजवादको आधार निर्माणका निम्ति संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धिका लागि महान् लेनिनले तत्कालिन सोभियत संघमा पुर्याउनु भएको योगदान यहाँ स्मरणयोग्य छ ।

पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन हार्दिक अपील गर्दछ ।

……………………..
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

९ बैशाख, २०७५ (२२ अप्रिल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?