प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्
सारांश
- २६ कात्तिक, काठमाडौं ।
- आइतबार बिहान चाक्सीबारी, ठमेलमा पुग्दा काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह भर्खर चुनावी घरदैलो सकेर फर्किएका रहेछन् ।
- काठमाडौंका कांगेस सभापति सवुज बानियाँ पनि त्यहीँ थिए ।
२६ कात्तिक, काठमाडौं । आइतबार बिहान चाक्सीबारी, ठमेलमा पुग्दा काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह भर्खर चुनावी घरदैलो सकेर फर्किएका रहेछन् । काठमाडौंका कांगेस सभापति सवुज बानियाँ पनि त्यहीँ थिए ।
झण्डै पौने घन्टा लामो कुराकानीका क्रममा सिंह चुनाव जित्नेमा निकै दृढ देखिए । उनी पटक-पटक भन्थे, म त तथ्यांककै विद्यार्थी पनि हुँ, तथ्यांकको कुरा पनि गरौं । पहिलो संविधानसभामा कांग्रेसका लागि समग्रमा स्थिति राम्रो नहुँदा पनि मैले जितेको थिएँ । दोस्रोपटक झन धेरै मत पाएँ । खसेको सदरमध्ये ५२.३ प्रतिशत मैले पाएको छु ।’
धेरैले विवेकशील साझा पार्टीबाट रविन्द्र मिश्र उम्मेदवार भएकाले काठमाडौं १ मा सिंहलाई सकस रहेको मान्छन् । वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा साझा उम्मेदवार छन् । तथापि धेरैले प्रकाशमान र रविन्द्र मिश्रको प्रतिस्पर्धा हुने ठानेका छन् ।
कांग्रेस नेता सिंह भने चुनावी दौडमा आफ्नो प्रतिस्पर्धी नै छैन भन्छन् । आफ्नो जित पक्का रहेको भन्दै उनले भने, दोस्रो को हुने ? मिश्र र शर्मालाई नै सोध्नुस् ।
प्रस्तुत छ, काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहसँग अनलाइनखबरले गरेको कुराकानीः
यो पटकचाहिँ अलि बढी दबाव महसुस गर्नुभएको हो ?
मैले दुईपटक (०४८/०५१) चुनाव हारेँ । त्यसपछि संविधानसभाका दुबै चुनाव जितेँ । तर, पहिलो संविधानसभामा जस्तो दबाव मैले राजनीतिक जीवनमा कहिल्यै महसुस गरिनँ । कारण के भन्दा ०४६ मा बहुदलीय व्यवस्था आयो । त्यसपछि दुईवटा चुनाव लडंे, दुबैमा हारेँ । एकपटक वाममोर्चाका उम्मेदवार र दोस्रोपटक प्रस्तावित प्रधानमन्त्री मनमोहन अधिकारीसँग हारेँ । पार्टीको कुनै पनि चुनावमा नहारेको म जनताबाट अनुमोदन हुनै नसकेकाले मलाई के हो, के हो भन्ने थियो ।
भनेपछि, अहिलेचाहिँ तपाईलाई डर छैन ?
अहिले त मलाई कुनै दबाव छैन । अरु त भर्खर चुनावी मैदानमा आएर देखिएकाहरु छन् । म त त्यहाँबाट दुईपटक निर्वाचित भइसकेको व्यक्ति हुँ । सुरुदेखि नै ग्रुमिङ भएको छु, मेरो बनिबनाउ क्षेत्र हो ।
उसोभए पूरै इन्जोय गरिरहनुभएको छ ?
हो, इन्जोय गरिरहेको छु । मेरो क्षेत्रमा जानुस्, सांसद भनेको त यस्तो पो हुनुपर्छ भन्छन् । प्रायः सबैसँग मेरो अन्तक्रिर्या हुन्छ । मेरो बानी नै छ कि बोलाएका सबै ठाउँमा जान्छु, सकेको सहयोग गर्छु ।
मतदातासँग मेरो विशेष सम्बन्ध छ । चुनावको समयमा आएर फेसबुकमा लेखेर, समाचार लेखाएर होला भन्नेहरुलाई त्यही संसारमा रमाउन दिउँ । तर, राजनीति भनेको रत्नपार्कमा चटक देखाएजस्तो होइन ।
तर, तपाईले जुन दिनबाट चुनावी अभियान सुरु गर्नुभयो, त्यस दिनदेखि नै प्रतिस्पर्धी वाम र विवकेशील साझाप्रति बढी नै आक्रामक देखिनुभएको छ नि ?
म सैद्धान्तिकरुपमै वाम भन्दा पनि साम्यवादी गठबन्धनको विपक्षमा छु । तपाईहरु नै भन्नुहुन्छ, तिम्रो बाबु गणेशमानजीले ०४६ मा कम्युनिष्टलाई साथमा लिएर आन्दोलन गर्नुभयो, आज आएर विरोध गर्न मिल्छ ?
म भन्छु, सैद्धान्तिक भेद बुझ्नुस् । हामी त्यो वामलाई मान्छौं, जो लेफ्ट अफ सेन्टर हुन्छन् । तर, कम्युनिज्म सिद्धान्त बोक्नेलाई मान्दैनौं । ०१८ सालपछि चिराचिरा भएका वामपन्थीहरुको वाम मोर्चा बनाउने विचारको विजारोपण ०४६ मा गणेशमानजीले गर्नुभएको थियो । उहाँहरुले बहुदलीय प्रजातन्त्रमा विश्वास गर्छौं भनेपछि हामीले सहकार्य गर्यौं ।
अहिले परिस्थिति फरक छ, उनीहरुले सार्वजनिक रुपमै हामीलाई भोट दिनुस्, १० वर्षभित्र साम्यवाद ल्याउँछौं भनेका छन् ।
तर, वाम गठबन्धनको घोषणापत्रमा न उनीहरुले तपाईले भनेजस्तो लोकतन्त्र मान्दैनौं भनेका छन्, न त साम्यवाद/अधिनायकवाद नै ल्याउँछौं भनेका छन् । बरु विगतलाई हेर्दा कांग्रेसले लोकतन्त्रमाथि घात गर्छ कि भनेर प्रश्न उल्टो उठाएकाछन् नि ?
यो कुरा त कस्तो हो भन्दा घोषणा गर्ने तर, बाचा पूरा नगर्ने बानी कम्युनिष्टहरुको छ ।
उसोभए तपाईहरु किन आत्तिएको त ?
उहाँहरुले १० वर्षमा कम्युनिज्म ल्याउँछौं भन्ने घोषणा चियागफमा भनेको हो र ? अहिले त रियाक्सन देख्नुभयो र तर्सिनुभयो । उहाँहरुको के कुरा गर्ने ! भोट माग्ने बेलामा माक्र्स, लेनिनको फोटो देखाउने, विदेशी राजदूत आउँदा झिक्नेहरुसँग कांग्रेसको तुलना गरेर हुन्छ ? यो नाटक त पटक-पटक भइसकेको छ । के ‘लाटा’ छन् र नेपालीहरु पत्याउन ?
अनि विवेकशील साझा पार्टी नि ?
मलाई त खुसी लाग्छ ! बहुदलीय शासन व्यवस्थाको वकालत गर्ने पार्टी आउँदा हामीलाई त खुसी लाग्छ । आक्रमण भयो, के भयो भनेर आफैंले समाचार बनाउने आफ्नो ठाउँमा होला । तर, मलाई केही छैन ।
तर, चुनावी प्रतिस्पर्धी रविन्द्र मिश्रतर्फ संकेत गर्दै राजतन्त्रको पक्षमा कमल चोप्नेहरु, बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाटै निस्किन्न भन्नेको छोरा भन्नुभयो । यसरी बाबुलाई लिएर गालीगलौज गर्न सुहाउँछ ?
अरे बाबा ! चुनावको टाइममा सुन्नेहरुलाई पनि त मसला त दिनैपर्यो नि । तपाईले उठाएको कुरा मैले बानेश्वरको एउटा कार्यक्रममा भनेँ । म पनि लिखित भाषण गर्ने मान्छे होइन, क्राउड हेर्छु र त्यहाँ के बोल्दा हुन्छ भन्छु ।
तर, तपाईजस्तो शीर्षनेताले उम्मेदवारका बाबुआमालाई लिएर गाली गरेको त अलि सुहाउँदैन नि ?
होइन, होइन । चुनावी भाषणमा कहिलेकाँही त दिनुपर्ने हुन्छ नि त । मैले फेरि त्यस्तै भनेको पनि होइन, फ्याक्ट चेक गर्नुस् ।
भनेर ठीकै गरियो ?
भएको कुरा भन्नलाई के ? यहाँ कांग्रेस र प्रकाशमान सिंहले केही बोल्नुहुँदैन भन्ने छ र ? मैले केही बोल्नुहुँदैन, बोल्यो कि तिललाई पहाड बनाउँछ ।
होइन, चुनावी प्रतिस्पर्धा व्यक्तिगत गालीगलौजमा होइन, विचार र एजेण्डामा होस् पो भनेको त ?
व्यक्तिगत लान्छना मैले कहाँ लगाएको छ र ? उम्मेदवारहरु यस्ता छन्, फ्याक्टलाई मूल्यांकन गर्नुस् । मतदाताहरुलाई आफूले जानेको कुरा त भन्नैपर्यो । मेरो राजनीतिक जीवन हेर्नुस्, कसैलाई त्यस्तो भनेको छैन । फ्याट कुराहरु कहिलेकाँही भनेको हो, त्यो पनि नर्मल भाषामा भनेको हो ।
चुनावी प्रतिस्पर्धामा रविन्द्र मिश्रलाई कसरी लिनुभएको छ ?
उहाँ मैदानमा प्लेयर हो । रंगशालामा दर्शकले यसो हेर्दा म्याच चलिरहेको छ, खेलिरहेको छ भन्ने हो । राम्रो छ कि छैन भन्ने त मतदाताले छान्छन् ।
उहाँँ पूर्वपत्रकार पनि हो । यसअघि कहिल्यै साक्षात्कार भएको थियो ?
मैले व्यक्तिगत रुपमा भेटेको छैन । म मिडिया म्यानसँग दुरीमै बस्ने मानिस हुँ । पार्टीको महाधिवेशनमा म महामन्त्री जित्छु भनेर कसैले भनेकै थिएनन् तर, जितेँ । कमल चोप्नेहरुको माइन्ड र ग्राउण्ड रियालिटी फरक हुन्छ ।
अहिले चुनावमा पत्रकारहरुले रविन्द्र मिश्रलाई फेबर गरे भन्न खोज्नुभएको हो ?
पत्रकारले निश्पक्ष रुपमा प्रस्तुत गर्नुपर्नेमा तपाईहरुको कम्युनिटीकै सदस्य उम्मेदवार भएकाले उहाँँलाई अझ ‘हिरोफाइ’ गर्न खोजेको हो कि ? यसो हुँदा पनि मलाई कुनै आपत्ति छैन । तर, ग्राउण्ड रियालिटी धेरै फरक छ ।
वाम गठबन्धनको सिट बाँडफाँटमा काठमाडौं १ माओवादी केन्द्रको भागमा पर्यो लियो, एमालेको उम्मेदवार नहुनु तपाईका लागि केही फरक रहृयो ?
कम्युनिष्ट गठबन्धनको उम्मेदवार त छ नि । एमाले छैन भनेर भन्न मिल्दैन ।
चिन्नुहुन्छ, वाम गठबन्धनको उम्मेदवारलाई ?
जनार्दनको भाइ उठेको छ भन्ने थाहा छ । अरु थाहा छैन ।
यो पटक काठमाडौं १ का मतदाताले तपाईलाई किन जिताउने ?
सांसद भएपछि मैले धेरै काम गरेको छु, यो मतदाताहरुलाई थाहा पनि छ । उदाहरणका लागि मेरो निर्वाचन क्षेत्रमा पर्ने सार्वजनिक स्कुलहरुमा हामीले केही न केही राम्रो काम गरेका छौं । मैले भनेको छु, तपाईहरुले मलाई हैसियत बनाइदिनुभयो र मैले तपाईहरुकै भलाइमा प्रयोग गर्छु ।
दोस्रो पटक संविधानसभा चुनावमा भोट माग्दा कांग्रेस ठूलो पार्टी भयो भने संविधान दिन्छा्रैं भनेका थियौं । हामीले संविधान पनि दियौं । यो काम त कम्युनिष्टहरुले सकेनन् । भन्न त भन्छन् नि, घोषणापत्रमा स्थिरताका लागि हामीलाई भोट दिनुस् भनेका छन् । धेरै पछाडि नजाऔं । पहिलो संविधानसभा चुनावपछि कम्युनिष्टहरुले के गरे ? संविधानसभा त भंग गरे । स्थिरता कसले निम्त्याए ?
भोट माग्दै तपाईले भन्नुभएको थियो, पहिलोपटक जितेपछि मन्त्री र पार्टी महामन्त्री भएँ । दोस्रो पटक जिताएपछि उपप्रधानमन्त्री बनें, अब फेरि जिताउनुभयो भने के हुन्छु थाहा छ होला नि । के भन्न खोज्नुभएको ? आफूलाई ‘भावी प्रधानमन्त्री’ भन्न खोज्नुभएको हो ?
फेरि मेरै मुखबाट भन्न राम्रो हुँदैन हाहाहा… । मैले भनेकै हो, पहिलोपटक जिताउनुभयो, म कांग्रेसजस्तो पार्टीको पहिलो निर्वाचित महामन्त्री बनेँ । संसदीय दलको उपनेता बनेँ । दोस्रोपटक जिताएपछि उपप्रधानमन्त्री भएँ, राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गरेँ ।
मैले भन्ने गरेको छु, अरुलाई जिताएको भए हुनसक्थ्यो र ? यही फरक हो । पार्टी महामन्त्री र उपप्रधानमन्त्री भइसकेँ, सिढी चढ्दा चढ्दा के बाँकी छ बुझ्नुस् भनेकै हो ।
प्रकाशमानले त सिढी चढ्ला । तर, आम जनता र मतदाताका लागि यसबाट के हुन्छ ?
योभन्दा अगाडि त संविधान निर्माणमा धेरै केन्दि्रत भयौं । अब नयाँ संंविधानअनुसार विकासमा केन्दि्रत हुन्छौं । म राजनीतिमा त्यसै लागेको होइन, बुबा गणेशमानजीले दुःख कष्ट सहनुभयो, इज्जत, नाम पाउनुभएको छ । मेरी आमा मंगलादेवीले योगदान दिनुभएको छ । मेरो भित्री इच्छा छ, समृद्धिको अभियानमा केही राम्रो काम गरेर नाम लेखाउन चाहन्छु ।
तर, मानिसहरु त् प्रकाशमानलाई नपुग्दो केही थिएन, गणेशमानको लिगेसी भए पनि उनको जस्तो त्याग र निष्ठा बोकेर हिँड्न सकेनन् भन्छन् नि ?
आलोचकहरुले त भन्लान् (हाँस्दै ..) । तर, मेरो करियरको परीक्षणकालमा दुईपटक चुनाव हारेर पनि लागिरहेँ । अहिले खसेको मतको ५२ प्रतिशत ल्याइसकेँ । ज्ञानेन्द्रले शासन हातमा लिएर शाही आयोग बन्दा कसैले अडान लिन सक्यो ? आफूले गलत गरेको छैन भने गएर बयान दिए हुन्छ भन्थे तर, मैले बयान नदिने अडान छाडिनँ । यो कसैले नखेख्ने !
यहाँ मनोविज्ञान अचम्मको छ, गणेशमान सिंहको परिवारले दुःख गर्नुपर्ने, जेल जानु पर्ने तर, त्यसको आउटकममा सहभागी हुनचाहिँ नहुने ? ०४८ मा आमाछोरा आमाछोरा भने । अहिले कतिका आमा छोरा, कतिको श्रीमान-श्रीमती उठ्दैछन्, त्यसमा केही छैन । हाम्रो परिवारमा भने प्रश्न उठ्ने ?
अन्तिममा भनिदिनुस् न त, तपाईको प्रतिस्पर्धी रविन्द्र मिश्र हो कि अनिल शर्मा ?
मैले त कोही देखेकै छैन । रेस ट्राकमा म पहिल्यैदेखि छु, मलजल गरेको छु । उहाँहरु भर्खर आएर हामी मलजल गर्छौं भन्नुभएको छ । प्रतिपर्धी मैले कोही देखेकै छैन । दोस्रो को हुने ? उहाँहरुलाई नै सोध्नुस् । अन्लाईन खबर बाट
Bhupal Ghimire
हावा गफ प्रकाश् तेस्रो हो भाइ?
Rishi Ghimire
हावा गफ होईन प्रकाश दाइ पहिलो नै हो,,,
Hem Dhakal
Umedbar sabaile yestai gaf launchhan, natiza chunab pachhi thaha vai halchhani.
अगर खड्गी
मनको लड्डु घिउ सित पड्काउ । डेट एक्सपायर भयो बुढा ।
Ganesh Khadka
पछाडि बाट गनेछाै दादा
Ajaya Dulal
Chunab paxi heart attack hunxa.ambulance ma base hunxa.
Tanka Chaulagain
अब दिन गए ।
Mannu Raju
Hami ta bibeksil tira po chau
Bhim Pandey
कागे्स ले जस्तो देश भाडने काम कुनै पाटी ले
पनि गरेको छैन होला
Narendra Bohara
Kei din kurnus afai thaha hunx
Sagar Kumar Baidhya
Thakay ulta kuro chunab bata tha huncha
Krishna Dhakal
यस्तो नाङ्गो नाच नाच्दा समेत काङ्ग्रेसले जित्नु भनेको नेपाली जनतालाई मनोवैज्ञानिक रुपमै आफू अधिनस्त बनाउने अभियानमा भारत कति गहिराइसम्म पुगिसकेको रहेछ भन्ने पुष्ट्याईं गर्नु हुनेछ ! भारतको लागि नेपाल माथि दादागिरी मच्चाउन थप प्रेरणा दिनेछ त्यसले !
देश ऐतिहासिक मोडमा छ, यस्तो बेलामा हरेक नागरिकले एकताबद्द भएर काङ्ग्रेसलाई हराउनै पर्छ ता कि अलिकता देश प्रतिको जिम्मेवारी पनि बुझोस् उसले !! काङ्ग्रेसलाई सच्याउनकै लागि पनि उसलाई हराउनै पर्छ अहिले! काङ्ग्रेसको भलो चाहनेहरु समेत काङ्ग्रेस हराउने अभियानमा सामेल हुनुपर्छ!
Ramesh Aryal
Herum la hamini..