प्रचण्डलाई जनयुद्धको भूतले तर्सायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
प्रचण्डलाई जनयुद्धको भूतले तर्सायो

सारांश

  • दीपेश केसी जङ्गबहादुर जिवितै छँदा टुँडिखेल नजिक शालिक राख्न लगाएछन् ।
  • यो पनि बेलायत जाँदा साथ रहेका एकजना चाकडीवाजको सल्लाहमा ।
  • तर, शालिक राखेको केही महिनामै निकाल्न लगाएछन् ।

दीपेश केसी जङ्गबहादुर जिवितै छँदा टुँडिखेल नजिक शालिक राख्न लगाएछन् । यो पनि बेलायत जाँदा साथ रहेका एकजना चाकडीवाजको सल्लाहमा । तर, शालिक राखेको केही महिनामै निकाल्न लगाएछन् । उनलाई लागेछ आफू जिउँदो छँदा पो शालिकको सम्मान हुन्छ, मरेपछि शालिकको सम्मान त के दुव्र्यवहार हुनसक्छ । १९ औं शताब्दीमा कोतपर्वमा कत्लेआम गरेका जङ्गबहादुर दुरदर्शी थिए र शालिक हटाइहाले ।

२१ औं शताब्दीका प्रचण्ड सत्ता र शक्ति सधै रहन्छ जसरी आफूलाई नायक सम्झदैछन् । यतिसम्मकी अन्तर्रा्ष्ट्रिय फौजदारी अदालत, ‘द हेग लगेमा हिरो हुन्छु’ भन्दैछन् । प्रचण्डले भुल्नु हुँदैन कि नेतृत्व लिएको विद्रोहले नेपालको इतिहासमा सबैभन्दा बढी मान्छे मारिएका छन् । कुनै प्राकृतिक प्रकोप या लडाईंमा समेत यति धेरै मान्छे मारिएको तथ्यांक छैन । १८ हजार मान्छे मारिएको घटना बिर्साएर देशलाई स्वर्णीम युगमा लानुपर्ने दायित्व निर्वाह गर्नुपर्नेहरुले बाटो बिराएका मात्र छैनन् बाटो भत्काउँदैछन् ।

जनतालाई खोक्रो आश्वासन दिएर निराशा छाउने गतिविधि गरिरहेछन् । जनयुद्ध लडेकाहरु विलासी जीवनमा भुलेका छन् । सर्वहारा वर्गको अधिनायकत्व ल्याउने भनेकाहरु शासनसत्तामा पुगेर पूँजीपतिमा रुपान्तरण भएका छन् । यसले सबैभन्दा बढी जनयुद्ध लडेकाहरुलाई चिढ्याएको हुनुपर्छ ।

मर्नेहरु त मरिसके बाँच्नेहरुमा पश्चात्ताप र आक्रोशको ज्वालामुखी छातिभित्र थोपरिएको छ । त्यसले विष्फोटक रुप लिनसक्छ । आक्रोश र असन्तुष्टिको परिणाम बनेर लेनिन बिष्टहरु जन्मिएका छन् । जसले बाल्यावस्थामा कलम समात्ने हातले बन्दुक समाते । किताब बोक्ने झोलामा गोलीगठ्ठा बोकेर हिंडे ।

लेनिनको चुनौती
रुसी बोल्सेभिक क्रान्तिका नायक भ्लादिमिर लेनिनको नामबाट प्रभावित भएर कसैले लेनिन बिष्टको नाम राखिदिएको हुनुपर्छ । बिष्टले जनयुद्ध लडे । बालसैनिकका रुपमा उनको प्रयोग भयो । लेनिन एउटा पात्र मात्र हुन्, उनीजस्ता हजारौं बालसैनिकको प्रयोग दश वर्षे सशस्त्र द्वन्द्वकालमा भएको थियो । विद्यालयमा पढ्दा पढ्दै स्वर्णीम युग ल्याउने सपना देखाएर जङ्गलमा बन्दुक थमाउन लगिए । बुर्जुवा शिक्षा लिन हुन्न भन्दै सत्ताको लोभ देखाउँदै ‘सत्ता बन्दुकको नालबाट निस्कने’ सिकाउँदै लगिए ।

आकर्षण गर्ने अनेकन उपाय थिए । अबोध बालबालिकाहरुको ब्रेनवास गरियो । नयाँ चाहना र नयाँ भविष्य निर्माणका लागि आतुर हुने बालबालिकाहरु सजिलै माओवादीको जनयुद्धमा आकर्षित भए । घरपरिवारबाट बिछोडिएर क्रान्ति सम्पन्न गरी जनवादी शासन स्थापना गर्ने सपना देखे । चीन, रुस, क्युवालगायत देशको कम्युनिष्ट क्रान्तिका सुन्दर पक्षहरु पढाइए । ती देशहरुले क्रान्तिपछि सुखमात्र पाएको सुनाइए । यसरी हजारौं बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने गतिविधि भए ।

हजारौं आमाहरुको काख रित्तियो । हजारौं टुहुरा भए । बालबालिकाहरु सबैभन्दा तारोमा परे । कलम उचाल्नुपर्ने कलिला हातहरुले बन्दुक उचाले । सुन्दर भविष्यको आशामा अञ्जानमा दुश्मन भनिएका आफ्नैहरुसँग लडे भिडें । त्यस क्रममा धेरै मारिए । केही बाँचे ।

बालसैनिकहरु सेना समायोजनका क्रममा अयोग्य ठहरिए । जसले सशस्त्र जनयुद्धमा बालसैनिकको प्रयोग भएका घटनाहरु खुल्यो । प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्दै युद्ध लडेका प्रचण्ड बाबुरामलगायत माओवादी नेताहरुका लागि अहिले इतिहास चुनौती बनेर तेर्सिएको छ ।

बालसैनिकका रुपमा प्रयोग भएकाहरु एकीकृत भएका छन् । उनीहरुले अन्तर्रा्ष्ट्रिय क्षेत्रसम्म आवाज पुर्याएका छन् । युद्धमा भएका गैरन्यायिक घटनामा कसैले उन्मुक्ति पाउन नहुने आवाज उठाइरहेका छन् ।

दश वर्षे युद्धमा १८ हजारभन्दा बढी मारिएको तथ्यांक छ । मारिएका र तिनका परिवारले घटना बिर्सिएका छैनन् होला । तैपनि शान्तिका लागि संयमता अपनाएका छन् । २१ औं शताब्दीमा अमानवीय तरिकाले हत्या र यातना भए । जुन पृथ्वीनारायाण शाहले १८ औं शताब्दीमा नेपाल एकीकरण गर्दा पनि भएको थिएन । १९ औं शताब्दीको अन्ततिर जङ्गबहादुरले समेत यो हदको मानवताविरोधी जघन्य घटना घटाएका थिएनन् । तैपनि, शान्तिका लागि जनताले महानता देखाए ।

विगतका घटनालाई लुकाउन सकिएला तर मेटाउन सकिदैन । जोडतोडले उठिरहेको बालसैनिकको मामला यही हो । यसमा कस्को के स्वार्थ छ अध्ययन अनुसन्धानको विषय होला । तर, बालक अवस्थामा लेनिन बिष्टको काँधमा बन्दुक बोकाइएको होइन भनेर न त प्रचण्डले दाबी गर्न सक्छन् न त डा.बाबुराम भट्टराईले दाबी गर्न सक्छन् ।

लेनिन बिष्ट माओवादी जनयुद्धका जनसेना कमाण्डरहरु प्रचण्ड र बाबुरामका लागि पिउसो थिए । उनी जस्ता कति मारिए कति अङ्गभङ्ग भए । तर, जिवितै फर्कन सफल लनिन जब अयोग्य लडाकु भनिए तब वास्तविक युद्धमा होमिन थाले ।

आफूहरुको हाँस्ने खेल्ने उमेर हरण गरिएको चाल पाएर न्याय पाऊँ भन्दै हिंडे । आमा र बाबुको काखमा रमाउनुपर्नेहरुले बाल्यकाल नहुँदै वृद्ध बनाइन लागेको चाल पाएर विगतमा परेको अन्यायको आवाज उठाउन थाले । त्यो आवाज यति चर्को भएको छ कि प्रचण्ड र बाबुरामको कानै खान सक्ने भइसकेको छ । देशभित्र बालसैनिकको आवाजको सुनुवाई नभएपछि अन्तर्रा्ष्ट्रियकरणतर्फ बढेको छ ।

हेगको डर
अहिले प्रचण्ड, बाबुरामलगायत नेता मात्र नभई द्वन्द्वसँग जोडिएका नेताहरुका लागि विदेश भ्रमण असजिलो भइसकेको छ । प्रचण्ड स्वयंले अमेरिका भ्रमणताका पक्राउ पर्ने डरबारे खुलासा गरिसके । उनले अहिले अन्तर्रा्ष्ट्रिय फैजदारी अदालत, हेगको त्रासबारे बोलिसके । हेग गएमा आफू हिरो हुने दाबी गरेका छन् । तर, प्रचण्डले हेग पुग्नेहरु हिरो होइन किरो बनेको इतिहास अध्ययन गर्न जरुरी छ ।

हेगमा अन्तर्रा्ष्ट्रिय फौजदारी अदालत छ जसले अन्तर्रा्ष्ट्रिय तहमै बदनाम मानवताविरोधी अपराध, युद्धअपराधलगायतको मुद्दा हेर्दछ । हेगमा लेनिन बिष्ट लगायत बालसैनिकहरु मुद्दासहित पुगेमा के हुन्छ ? यो गम्भीर विषय हो । लेनिनले आफू हेगमा मुद्दा लिएर जाने बताउँदै आएका छन् । उनले प्रचण्ड र बाबुराम मात्र नभई जनयुद्धकालमा भएका गैरन्यायिक घटनासँग जोडिएका सत्तापक्ष र विपक्षका नेताहरु सबैविरुद्ध उजूरी गर्ने चेतावनी दिइरहेका छन् । यो आफैमा गम्भीर विषय हो ।

हेगमा मुद्दा अगाडि बढेमा सर्वियाको गृहयुद्ध देखि लाइबेरियाको युद्ध अपराधमा उजूरी खेपेका वरिष्ठ पूर्व सरकारी अधिकारीहरुलाई जसरी कठघरामा उभ्याइने अवस्था हुन सक्छ । लेनिनले आफ्ना पूर्व नेता प्रचण्ड र बाबुरामलाई हेगस्थित अन्तर्रा्ष्ट्रिय फौजदारी अदालतको कठघरामा उभ्याउँछु भनेका छन् । यो अवस्था आउला नआउला अलग विषय हो ।

तर, प्रचण्डले लेनिनसँग जुहारी खेल्न थालिसके । उनले १३ साउनमा लेनिनको पछिल्लो चेतावनीको जवाफलाई हल्का मान्दै ‘हेग गए अन्तर्रा्ष्ट्रिय रुपमा हिरो बन्छु’ भने । कमरेड प्रचण्ड ! हेग पुगेका लाइबेरियाली पूर्व राष्ट्रपति चाल्र्स टायलर हिरो बनेनन् । युद्ध अपराध गरेको अभियोग पुष्टि भएपछि ५० वर्षको कारावास सजाय सुनाइए । बोस्निया हर्जगोभनियाको युद्ध अपराधमा दोषी ठहरिएका सर्व नेता रादोभान काराजिक ४० वर्षको कारावास सजाय भोगिरहेका छन् । कंगोका विद्रोही नेता थोमस लुवांगा डिइलो युद्ध अपराधमा दोषी ठहरिए ।

अदालतमा मुद्दा दायर हुँदैमा कोहीपनि अपराधी भइहाल्दैन । तर, माओवादी जनयुद्धमा धेरै मानवताविरोधी घटना भएका छन् । यसको जिम्मेवारी त्यतिबेलाको युद्धका पक्षधरहरुले लिनैपर्छ । युद्धअपराध अन्तर्रा्ष्ट्रियकरण हुनुभन्दा पहिले आन्तरिक तरिकाले न्याय दिलाउने कार्य अबिलम्ब हुनुपर्छ । अहिले बालसैनिकहरु न्यायका लागि सक्रिय भएका छन् ।

लेनिन एउटा पात्र मात्र हुन् । उनीजस्ता हजारौं बालसैनिकहरुको भविष्यमाथि खेलवाड भएको छ । त्यो क्षतिको पूर्ति हुनसक्दैन । तर, उनीहरुको भविष्यका लागि बेलैमा सोच्नुपर्छ । कामरेड प्रचण्डले लेनिनसँग जुहारी खेल्नुभन्दा लेनिन जस्ता हजारौं पूर्व बालसैनिकको देशभित्र व्यवस्थापन गर्नुपर्छ । विगतमा जसरी हजारौं बालबालिका र युवाहरुको भविष्यमाथि खेलवाड भयो अब त्यो नहुने सुनिश्चितता गर्नुपर्छ ।

हेग नपुगेर के भो इतिहासले हिसाबकिताब राखेकै छ । मानवताविरुद्धको अपराध केही समय सत्ता र शक्तिको आँडमा छोपिएला मेट्न सकिदैन । विगतको गल्ती सच्याउन र पश्चात्ताप गर्न पनि भविष्यमा कुनैपनि बालबालिका या युवालाई हतियार नबोकाइने वातावरण निर्माण गर्नुपर्छ । कम्तिमा देश र आउँदो पीढीको भविष्य सुन्दर बनाउन भूमिका खेल्नैपर्छ ।

प्रचण्डले हेगमा पुगेर हीरो बन्छु भन्ने ठानेका भए भ्रम पालेका छन् या भ्रम फैलाउन खोजेका छन् । उनी हेग नपुगी नेपालको सुन्दर भविष्यको नक्शा कोरुन् । जुन स्वर्णीम युग ल्याउने भनेर युद्ध गरियो त्यसको सान्दर्भिकता पुष्टि गर्न प्रचण्ड र बाबुरामका लागि सम्भव छैन । अब उनीहरुले विगतको पश्चाताप गरेर जीवनको उत्तराद्र्धमा भावी पीढीका लागि सुन्दर भविष्य निर्माणका लागि त्याग गर्न सक्छन् । नत्र जनयुद्धको भूतले तसाईरहन्छ । लेनिनको सिद्धान्तको अनुयायी बनेकाहरु २१ औं शताब्दीका लेनिनहरुबाट झस्किइरहनुपर्ने हुनसक्छ ।

हेग लगे संसारकै हिरो भएर निस्कन्छुः प्रचण्ड
पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तराष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने दाबी गरेका छन् । सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ प्रचण्डले भने ’हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,। संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने मिल्ने दाहालले दाबी गरे। ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन्’ उनले भने।

परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ भनी पश्चमागी तत्व लागि परेको उनले आरोप लगाए।

दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने भन्दै दाहालले क्रान्ति भनेको लाखौं करोडौं जन्ताको काम भएको बताए। जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक नहुने उनले सप्ष्ट पारे।

आफूहरुको चाहेको यो धेरै भए पनि शक्ति सन्तुलन, विश्व परिस्थितलाई विचार गरेर अहिलेलाई यही उपलब्धिको रक्षा गरौं भनेर यो व्यवस्थामा आएको धारणा व्यक्त गरे। संघीय लोकतान्त्रिक व्यवस्था रहँदासम्म अहिलेको नेतृत्व कोही कमजोर नहुने उनले बताए। क्रान्तिका नाममा प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्दा अहिलेको व्यवस्था नरहने र देशले दुख पाउने उनले दाबी गरे। प्रचण्डको सचिवालयका अनुसार विप्वलका ८ नेता, कार्यकताहरू नेकपामा प्रवेश गरेका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?