प्रचण्डले भने- म गद्दार भैसकेको रहेनछु !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
४८ पटक हेरिएको
Shares
प्रचण्डले भने- म गद्दार भैसकेको रहेनछु !

सारांश

  • २४ असोज, काठमाडौं ।
  • एमालेसँग पार्टी एकताका लागि सहमति जनाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाड्ने बताएका छन् ।
  • मातृका यादव र गोपाल किरातीको जोडबलमा सोमबार पेरिसडाँडामा सचिवालयको बैठक डाकेका प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाडिने आश्वासन दिएका हुन् ।

२४ असोज, काठमाडौं । एमालेसँग पार्टी एकताका लागि सहमति जनाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाड्ने बताएका छन् ।

मातृका यादव र गोपाल किरातीको जोडबलमा सोमबार पेरिसडाँडामा सचिवालयको बैठक डाकेका प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाडिने आश्वासन दिएका हुन् । प्रचण्डको आश्वासनपछि किरातीले माओवादी केन्द्रबाट तत्काल विद्रोह नगर्ने प्रतिवद्धता जनाएका छन् ।

एमालेसँग पार्टी एकता गर्ने प्रचण्डको निर्णयप्रति गोपाल किराती र मातृका यादव असन्तुष्ट थिए । किरातीले पार्टीबाट विद्रोह गर्ने चेतावनी प्रचण्डलाई दिएका थिए भने यादवले चाहिँ असन्तुष्टिका बावजुद विद्रोह नगरी अन्तरसंघर्ष चलाउने बताउँदै आएका थिए ।

पेरिसडाँडामा करिब ४० जना सचिवालय सदस्यहरुको उपस्थितिमा प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाड्ने बताएपछि गोपाल किराती पनि तत्काल विद्रोहको बाटोमा नगई मात्रिका यादवको जस्तै अन्तरसंघर्ष गरेर पार्टीभित्रै रहन सहमत भएको एक नेताले बताए ।

लाजिम्पाटमा दुई दिन

एमालेसँग पार्टी एकताको घोषणासँगै नेता गोपाल किराती माओवादी पार्टी पुनर्गठनको तयारीमा लागेका थिए । तर, प्रचण्ड निवास लाजिम्पाटमा दुई दिनसम्म भएको छलफलपछि उनी पार्टीभित्रै रहेर अन्तरसंघर्ष चलाउने निश्कर्षमा पुगेका हुन् ।

असोज २१ गते किराती प्रचण्डसँग कुराकानी टर्ने भन्दै बिहान ७ बजे लाजिम्पाट पुगेका थिए । तर, एक घण्टासम्म छलफल गरेपछि उनको ब्लड प्रेसर बढ्यो र निवासतर्फ फर्किए ।

असोज २२ गते पुनः प्रचण्ड र किरातीवीच छलफल भयो । सो छलफलमा मात्रिका यादव पनि सहभागी थिए ।

माओवाद र पहिचानको मुद्दा छाडेर एमालेसँग एकता गर्ने हो भने आफू एक मिनेट पनि प्रचण्डसँग रहन नसक्ने भन्दै किरातीले चेतावनी दिएका थिए । प्रचण्डले किरातीलाई माओवाद र पहिचानको मुद्दा छाडेर एमालेसँग एकता नगरिने किरातीलाई आश्वासन दिए ।

तर, किरातीले यो कुरा आफूलाई मात्रै भनेर नहुने भन्दै सचिवालयको बैठक बोलाएर यो कुरा राख्न प्रचण्डलाई आग्रह गरेपछि २३ गते पेरिसडाँडामा सचिवालयको बैठक डाकियो ।

लाजिम्पाटमा भएको छलफलमा मात्रिका यादवले किरातीलाई पार्टीबाट विद्रोह नगर्न सुझाव दिएका थिए । आफूले विद्रोह गरेर पनि सफल नभएको भन्दै यादवले किरातीलाई असफल हुने चेतानवी दिँदै पार्टीभित्रै रहेर अन्तरसंघर्ष गरौं भनेका थिए ।

‘हामी धेरै वर्ष छुट्टयिौं, तर केही गर्न सकेनौं,’ यादवले किरातीलाई भने, तपाईको हालत पनि त्यही हुन्छ ।’

छलफलका क्रममा किरातीले प्रचण्डलाई भने-‘कमाण्डर एक्लै हिँड्यो भने मारिन्छ, सिपाहीसँगै हिँड्यो भने सुरक्षित हुन्छ ।’

स्रोतका अनुसार किरातीले पार्टी एकता संयोजन समितिलाई चुनावी तालमेल समितिमा रुपान्तरण गर्न माग गरेका थिए । साथै पार्टीको औपचारिक बैठक बोलाएर माओवाद र पहिचानको मुद्दामा प्रतिवद्धता जनाउनुपर्ने किरातीको माग थियो ।

पेरिसडाँडामा के भयो ?

सोमबार पेरिसडाँडामा हतार-हतार बसेको सचिवालय बैठकमा करिब ४० नेताहरु सहभागी थिए । गोपाल किरातीसँग खरो वैचारिक विमति राख्दै आएका शक्ति बस्नेत, टोपबहादुर रायमाझी लगायतका नेताहरु बैठकमा उपस्थित भएनन् ।

बैठकको सञ्चालन मात्रिका यादवले गरेका थिए । उनले गोपाल किरातीको माग अनुसार सचिवायलको बैठक डाकिएको बताए । सोही बैठकमा प्रचण्डले माओवाद र पहिचानको मुद्दा नछाड्ने प्रतिवद्धता जनाए ।

असन्तुष्ट नेता किरातीले यदि एमालेले पनि माओवाद र पहिचानको मुद्दालाई मान्छ भने उसँग पार्टी एकता गर्दा आफूलाई कुनै आपत्ति नहुने बैठकमा बताए ।

किरातीले बैठकमा अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि बोल्न आग्रह गरेका थिए । श्रेष्ठले पार्टी अध्यक्षको भनाइ नै आफ्नो भनाइ रहेको बताएपछि किराती सन्तुष्ट बनेको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘म गद्दार भैसकेको रहेनछु’

प्रचण्ड र गोपाल किरातीवीचको छलफलमा अर्को एउटा रोचक प्रशंग पनि छ ।

प्रचण्डसँग रिसाएका किरातीले पार्टी अध्यक्षलाई सम्वोधन गर्दा ‘श्री प्रचण्डज्यु’ भने । अर्को दिनको भेटमा प्रचण्डले किरातीलाई छेड हान्दै ‘श्री प्रचण्डका तर्फबाट गुडमर्निङ है’ भने ।

अरु बेलाको भेटमा किरातीले ‘कामरेड प्रचण्ड’ भन्थे । तर, एमालेसँग एकता गर्ने निर्णयमा पुगेपछि किरातीले प्रचण्डलाई ‘श्री’ भनेका हुन् ।

आफूले आशा र भरोसा गरेको नेता प्रचण्ड नै भएकाले श्री भनेर सम्वोधन गरेको किरातीले बताए पनि प्रचण्डले यसमा चित्त बुझाएनन् ।

एक माओवादी नेताले प्रचण्डको भनाइ उधृत गर्दै अनलाइनखबरसँग भने- ‘श्री भन्नाले म कामरेड हुन नसके पनि साइँलाको नजरमा अझैसम्म गद्दारचाहिँ भइसकेको रहेनछु !’

अरुले आफ्नो विरोध गर्दा रीस उठे पनि साइँलासँग कहिल्यै रीस नउठ्ने प्रचण्डले बैठकमा बताएका थिए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Shiva Shrestha

    Haiet yo natak ho ko ka kun paresthiti ma oralo lagdai cha samaley bataucha

    Comment Author

    Chhatra Limbu

    Balla thaha vo?

    Comment Author

    Biswo Pant

    लाेकतन्त्र मा गद्दार भनेकाे ठुलै हाे कि के हाे

    Comment Author

    Dhan Bisht

    Herdai rakhnu party becheko pusti hunxa aaundo dinharu ma

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?