लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
१९ पटक हेरिएको
Shares
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ

सारांश

  • केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारमा पहिलोपटक मन्त्रीमा नियुक्त भए लालबाबु पण्डित र थममाया थापा ।
  • पहिलोपटक नै ओली सरकारको जनसंख्या तथा वातावरण मन्त्रीमा नियुक्त हुने सौभाग्य पाएका लालबाबु पण्डित यसअघि सामान्य प्रशासन मन्त्री हुँदा उनले गरेका कामले निकै महत्व पाए र जनताको मनमा बस्न सफल भए ।
  • यसपटक जनसंख्या तथा वातावरण मन्त्री बनेका पण्डितले रिपोर्ट बुझाएर खल्ली भर्ने एनजीओहरुका दिन सकिएको बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारमा पहिलोपटक मन्त्रीमा नियुक्त भए लालबाबु पण्डित र थममाया थापा । पहिलोपटक नै ओली सरकारको जनसंख्या तथा वातावरण मन्त्रीमा नियुक्त हुने सौभाग्य पाएका लालबाबु पण्डित यसअघि सामान्य प्रशासन मन्त्री हुँदा उनले गरेका कामले निकै महत्व पाए र जनताको मनमा बस्न सफल भए । यसपटक जनसंख्या तथा वातावरण मन्त्री बनेका पण्डितले रिपोर्ट बुझाएर खल्ली भर्ने एनजीओहरुका दिन सकिएको बताएका छन् ।

तपाईं यसअघि पनि सफल मन्त्रीको रूपमा चिनिनुभएको थियो, यो कार्यकालमा पुरानै परिचय कायम गर्न कत्तिको चुनौती देख्नुभएको छ ?
म काम गर्न आएको हुँ । मलाई दिइएको जिम्मेवारी म दिलोज्यान लगाएर गर्नेछु । हिजो पनि त्यस्तै गरेको हुँ आज र भोलि पनि त्यसरी नै काम गर्नेछु । चुनौती त हरेक काममा हुन्छ । मन्त्रालय हाँक्न चुनौती नहुने कुरै भएन तर, म यसलाई चुनौतीभन्दा पनि आफ्नो परीक्षाको रूपमा लिएर उत्तीर्ण हुने गरी मात्रै हैन, विशिष्ट अंकसहित उत्तीर्ण हुने गरी काम गर्नेछु ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालयको नेतृत्वमा भर्खरै आउनुभएको छ । जनताले तत्काल राहत महसूस गर्ने गरी केही कार्ययोजना बनाउन भ्याउनुभयो कि छैन ?
यो खासै चर्चामा नरहेको र काम देखाउन नसकिने मन्त्रालयको रूपमा चिनिंदै आएको छ । तर, म त्यो सोचलाई बदलेरै छोड्नेछु । म अहिले पहिलेका काम र बनेका कार्ययोजनाहरू कति कार्यान्वयन भए भनेर अध्ययन गरिरहेको छु ।

काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रहरूमा पर्यावरणीय स्थिति एकदमै बिग्रिएको छ । यसको समाधानका लागि योजना बनाउने काम शुरू भइसकेको छ । वातावरणका क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्था र व्यक्तिहरूसँग भेटघाट गरेर पनि समस्या के–के छन् बुझिरहेको छु । तर, समस्या कहाँनिर पनि देखियो भने नेपालमा धेरै सरकारी विदाहरू रहेका छन् ।

बीचमा धेरै विदा परेका कारण अन्तरमन्त्रालय र विभागहरूसँग समन्वय गर्न पाइएन । अहिले सरकारसँग यो वा त्यो बहानामा विदा दिएर बस्ने समय नै हैन । सरकारी विदा धेरै हुँदा समग्र राष्ट्रको कार्यक्षमता माथि नै ह्रास आइरहेको छ । नेपाल कामभन्दा आराम गर्ने देश बढी भएको छ । मेरो विचारमा अब सरकारी विदा कटौती गर्नुपर्ने समय भएको छ । विश्वबजारसँग प्रतिस्पर्धा गर्नको लागि पनि अब सरकारी र निजी दुवै क्षेत्रले विदा कटौती गरेर कार्यक्षमता बढाउनुपर्छ ।

अब जनताले पनि अधिकार मात्रै खोज्ने र कर्तव्य पालना नगर्ने बानी त्याग्नुपर्छ । अधिकार मात्रै खोज्ने प्रवृत्तिले देश बन्दैन । विद्यमान समस्या समाधानका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छ । तर, म के प्रतिबद्धता जनाउन चाहन्छु भने अबको एक वर्षभित्र काठमाडौंमा हिंड्दा मास्क लगाउनुपर्ने छैन ।

विशेषगरी शहरी क्षेत्रको वातावरण मानव स्वास्थ्य प्रतिकूल रहेको विभिन्न रिपोर्टहरूमा सार्वजनिक भइसकेको छ । आम जनताले सास फेर्नै नसक्ने गरी वातावरण बिग्रँदै गइरहेको छ । यो समस्या आउनुमा मुख्य दोष कसको देख्नुहुन्छ ?
प्रकृतिले दिएको वरदानलाई हामीले बिगारेका छौं । मेरो मुख्य जोड नै प्रकृतिमैत्री, मानवमैत्री वातावरण कसरी बनाउन सकिन्छ भन्नेमा छ/रहन्छ । यसमा सरकारी निकाय, विभागहरू र अन्य सम्बन्धित निकायहरू दोषी छन् नै यही समस्यालाई देखाएर ‘डलर’ पचाउनेहरू पनि मैले प्रशस्तै देखेको छु । अब मेरो एउटा प्रयास समस्या देखाएर डलर पचाउनेहरूलाई कारबाही गर्नु रहन्छ ।

स–साना टोली बनाएर सर्वसाधारणदेखि सचिव, मन्त्रीदेखि प्रधानमन्त्री समेत बेलाबेला खोला वा बाटो सरसफाइमा हिंडेको देख्न पाइन्छ । दीर्घकालीन कार्ययोजना विनाको यस्तो ‘नाटक’ कहिलेसम्म गरिरहने ?
एकदम सही प्रश्न गर्नुभयो । म पनि यही सोचिरहेको छु कि कुचो समाएर बाटोमा कति दिन हिंड्ने ? संसार कहाँबाट कहाँ पुगिसक्यो हामी अझै हातमुख धुनुपर्छ, साबुन पानी प्रयोग गर्नुपर्छ, आँगन सफा गर्नुपर्छ भन्नेमै अल्झिरहेका छौं ।

तर, सफाइ आफैंबाट गर्नुपर्छ भन्ने चेतना हुनु चाहिं सकारात्मक कुरा हो । म यो अवस्थाबाट जति सक्यो चाँडो देशलाई माथि ल्याउन चाहन्छु । त्यसको लागि मैले योजना बनाउन शुरू नै गरिसकेको छु । प्रविधिको प्रयोगलाई मै‌ले पहिलो प्राथमिकता दिएको छु । विकसित देशहरूमा के–कस्ता प्रयास भइरहेका छन् त्यसको अध्ययनमा लागेको छु । चाँडै यो समस्या समाधानको लागि एउटा निचोडमा पुग्नेछु ।

मन्त्रिपरिषद्‌मार्फत नै निर्णय भएका अधिकांश कार्ययोजना अलपत्र परेका छन् । त्यति माथिल्लो निकायबाट जारी भएका योजनाहरू अलपत्र पर्नु वा कार्यान्वयन नहुनुको कारण चाहिं के रै’छ ?
हेर्नुस्, यो देशको प्रमुख समस्याको रूपमा भ्रष्टाचार रहेको छ । यसमा तल्लो तहदेखि माथिल्लो ओहोदाका कर्मचारी र ठूल्ठूला नेताहरूको समेत संलग्नता छ । योजना त बन्छन् कार्यान्वयन किन हुँदैन त भन्दा त्यहाँ भ्रष्टाचार छ । त्यो योजना कार्यान्वयन भए त अर्को पटक भ्रष्टाचार गर्न पाइँदैन ।

त्यसैले योजना बनाउने तहमा रहेकाहरू नै उक्त योजना कार्यान्वयन नगराउन मुख्य भूमिका खेलिरहेका छन् । तर, अब यस्तो प्रवृत्ति चल्नेवाला छैन । दोषी देखिए म ठाउँको ठाउँ कारबाही गर्छु । अर्को, यहाँ विभिन्न संघसंस्थाहरूको पनि ठूलो चलखेल छ । वातावरणको क्षेत्रमा त यो झन् भयावह नै छ कि जस्तो लाग्छ । अब रिपोर्ट मात्रै बुझाएर खल्ती भर्ने संघसंस्थाहरूका दिन गए ।

कागजी सफलतामा रमाउन अब कसैले पाउने छैन । निर्णय कार्यान्वयन नहुनुमा अस्थायी सरकार पनि एउटा कारण थियो । एउटा सरकारले गरेको निर्णय अर्को सरकारले कार्यान्वयन नगर्ने प्रवृत्ति थियो । अब स्थायी सरकार आएको छ । गरेका हरेक निर्णयहरू कार्यान्वयनमा आउँछन् । कर्मचारीतन्त्रले पनि अब काम बाहेक अरू सोच्न पाउने छैनन् ।

धूलो अल्पकालीन समस्या हो । काठमाडौं उपत्यका लगायत अन्य शहरी क्षेत्रहरूको प्रदूषणको मुख्य कारण धुवाँ नै हो । गाडी, कलकारखाना, ईंटाभट्टा लगायतबाट निस्कने धुवाँ नियन्त्रणका लागि के गर्नुहुन्छ ?
यी समस्या एउटा मात्रैभन्दा पनि विभिन्न मन्त्रालय र विभागहरूसँग सम्बन्धित रहेका छन् । मेरो मन्त्रालयअन्तर्गत पर्ने कार्यभारहरू म पूराका पूरा कार्यान्वयन गर्ने पक्षमा छु । त्यहीअनुसार मैले निर्देशन गर्ने तयारी गरेको छु । म निश्चित कार्ययोजनाका साथ अगाडि बढ्नेछु । अब नयाँ उद्योग, कलकारखानालाई सम्बन्धन दिंदा वातावरणमैत्री छ कि छैन त्यो कडाइका साथ हेरिनेछ ।

पैसा खुवाएर वातावरणमैत्री लाइसेन्स पाउँछु भनेर अब कसैले नसोचे हुन्छ । करोडौंका गाडी चढ्नेहरूले पनि पैसा तिरेर हरियो स्टिकर टाँस्ने गरेको मैले पत्ता लगाएको छु । अब त्यो स्टिकरको अनुमति दिने र टाँस्ने दुवै दण्डित हुन्छन् । मलाई आएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्रै हरियो स्टिकर भएका ६५ प्रतिशत गाडी प्रदूषण जाँचमा फेल भएका छन् ।

सरकारले प्रदूषण नियन्त्रणका लागि २० वर्षे पुराना गाडी हटाउन पटक–पटक निर्णय गरे पनि कार्यान्वयन हुनसकेको छैन । नियमित मर्मतसम्भार गरेर चलाउँदा त इन्जिन वर्षौंसम्म चल्छ, वातावरणमैत्री पनि हुन्छ । के पुराना गाडी हटाउनु समस्या पार लगाउनु हो ?
एकदमै सान्दर्भिक प्रसंग निकाल्नुभयो । यो विषयमा म यातायात विभाग र सम्बन्धित मन्त्रालयसँग छिट्टै छलफल गर्ने योजनामा छु । अहिले नै यही गर्छु भन्न त म सक्दिनँ तर, आवश्यक अध्ययनपछि म जति सक्यो छिटो एउटा निर्णयमा पुग्नेछु । विद्युतीय गाडी र सौर्य ऊर्जाको प्रयोग बढाउन मेरो पहल रहनेछ ।

तत्काल निर्णयमा पुग्न र आवश्यक कारबाही गर्न विद्यमान ऐन/नियम कति सहज छन् ?
कतिपय ऐन/नियम विवादित पनि छन् । धेरै त अर्को मन्त्रालय वा विभागसँग जोडिएका छन् । जसले काममा बाधा पुर्‍याइरहेको छ । यस्ता ऐन/नियम परिमार्जनको पक्षमा छु । मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै छलफल गरेर परिमार्जनका लागि अगाडि बढाउनेछु ।

प्रदूषणको अर्को कारण मानिने प्लाष्टिकजन्य पदार्थको प्रयोगमा कमी आउन सकेको छैन । उद्योगहरूले ‘र्‍यापिङ’ मार्फत बजारमा पठाउने प्लाष्टिकले पनि उत्तिकै समस्या निम्त्याइरहेको छ । त्यतातिर केही सोच्नुभएको छ ?
यसमा अलिकति जनचेतनाको पनि कमी देख्छु । त्यसैले पहिलो कुरा त प्लाष्टिकजन्य पदार्थको प्रयोग गर्नुहुँदैन भनेर चेतना फैलाउने अभियानमा लाग्नेछु । म यही सञ्चारमाध्यममार्फत आम जनतालाई आह्वान गर्न चाहन्छु कि प्लाष्टिकको प्रयोग आजैदेखि गर्न छोडौं । किनमेल गर्न जाँदा घरबाटै झोला लिएर जाऔं ।

प्लाष्टिकलाई जलाउने काम गर्दै नगरौं । प्लाष्टिकको प्रयोग घटाउनु नै वातावरण प्रदूषण आधा नियन्त्रण हुनु हो । उद्योगहरूले पनि र्‍यापिङमा प्रयोग हुने प्लाष्टिकको विकल्प सोच्ने बेला आएको छ । अन्य देशका उद्योगले के गरिरहेका छन् त्यसको अध्ययन पश्चात् एउटा निर्णय आउनेछ । प्लाष्टिकको र्‍यापिङको ठाउँमा कागजको प्रयोग गर्न सकिन्छ कि उद्योगीहरूसँग बसेर म यस विषयमा उपयुक्त निर्णय लिन्छु ।

चुरे क्षेत्रको समस्या पनि उस्तै भयावह छ । वन विनाशले वातावरण प्रदूषणमा सहयोग पुर्‍याइरहेको छ । चुरे क्षेत्र र तराईको वन–जङ्गल नियन्त्रणका लागि योजनाबद्ध रूपमा कसरी जान सकिएला ?
सबै काम अहिले नै गर्छु भन्न त म सक्दिनँ । यो समस्या पनि निकै टड्कारो रूपमा देखिएको छ । तर, दीर्घकालीन समस्या भएको कारणले यसमा पनि मेरो ध्यान पुग्ने नै छ । प्राकृतिक स्रोत, वन–जङ्गलको संरक्षणका लागि स्थानीय समुदायलाई नै सक्रिय बनाउनुपर्छ भन्ने मेरो योजना छ ।

अर्को कुरा पहाड, तराई दुवै क्षेत्रमा अव्यवस्थित रूपमा भइरहेको सडक आयोजनाहरूको विस्तार र निर्माणले समस्या थपिएको छ । वन विनाशमा सडक निर्माणको ठूलो भूमिका छ । विकासले विनाश ल्याउन त भएन त्यसैले जथाभावी रूपमा बनाउन लागिएको सडक निर्माण व्यवस्थित गर्ने र वातावरणमैत्री समाज निर्माण गर्नमा मेरो ध्यान केन्द्रित हुनेछ ।

अन्त्यमा, ठूल्ठूला नेता, मन्त्री र सरकारसँग जनताले के अपेक्षा गर्दा रहेछन् ?
जनताका अपेक्षा एकदम स–साना छन् । जनताले आफ्नो अगाडि भएको समस्या समाधान होस् भन्ने चाहन्छन् । मुलुकमा अहिले देखिएका समस्याका बारेमा जनता एकदम चिन्तित छन् । अहिले काठमाडौंका जनताले धूलो–धुवाँ नियन्त्रण गर्दिएहुन्थ्यो भन्ने सोचिरहेका छन् । मलाई पनि धेरै जनाले सोधिसक्नुभयो काठमाडौंमा मास्क नलगाई कहिले हिंड्न पाइन्छ भनेर ।

ठूला र दीर्घकालीन अपेक्षा पनि छन् । रोजगारमा जनताको विशेष चासो छ । आमा–बाबुहरूमा छोराछोरी विदेश पठाउन नपरे हुन्थ्यो भन्ने सोच छ । देश विकसित होस्, अमनचैन होस्, शान्तिसुरक्षा होस्लगायतका अपेक्षा हुनु स्वाभाविक हो । अब सबैको साथ र सहयोग लिएर हामी अगाडि बढ्नुपर्छ । अन्य देशहरू दौडिरहेका छन्, हामी घिस्रिरहेका छौं । अब चाँडै हामी दौडने सक्ने बन्नुपर्छ ।

हिमालखबरका लागि मस्त केसीसँगको अन्तर्वार्ता

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघसंस्थामा राजनीति घुसेर दुषित पारे : प्रधानमन्त्री ओली
संघसंस्थामा राजनीति घुसेर दुषित पारे : प्रधानमन्त्री ओली
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
काठमाडौँमै उत्कृष्ट बन्ने अम्बे सहकारीको प्रतिबद्धता
काठमाडौँमै उत्कृष्ट बन्ने अम्बे सहकारीको प्रतिबद्धता
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
हिक्मत गोठालो र नौसरालाई साँस्कृतिक महासंघको सम्मान
हिक्मत गोठालो र नौसरालाई साँस्कृतिक महासंघको सम्मान
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
सत्ता गठबन्धन बैठक स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय
मृत अवस्थामा फेला
मृत अवस्थामा फेला
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?