प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

सारांश

  • फिदिम, २५ माघ, पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् ।
  • उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
  • विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई सोधपुछ गर्नुका साथै सामान्य कुटपीट गरेका थिए ।

फिदिम, २५ माघ, पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई सोधपुछ गर्नुका साथै सामान्य कुटपीट गरेका थिए । तर, आफू उक्त कार्यमा संलग्न नरहेको बताएका विद्यार्थी रोहित राईलाई प्रधानाध्यापक खत्रीले थप कुटपीट गरेको अभिभावक र उनका सहपाठीको भनाइ छ । खत्रीले टाउकोमा प्रहार गरेका कारण राई घाइते भएका छन् । उनलाई उपचारका लागि उनकै साथीहरुले पाँचथर जिल्ला अस्पतालमा भर्ना गराएका छन् । राईसँगै कक्षा ९ मा अध्ययनरत विद्यार्थी निशान सापकोटाका अनुसार सोही विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीका कारण बेञ्च वाङ्गिएको थियो ।

यद्यपि कक्षा ९ कै विद्यार्थीले २०÷२० रुपैयाँ सङ्कलन गरी कुर्सी मर्मत गराएका थिए । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवि घर भएका राई फिदिम डेरा गरी कक्षा ९ मा अध्ययन गर्दै आएका छन् ।

प्रधानाध्यापक खत्रीको कुटाइबाट घाइते राईले रिगटा लागेको बताइरहेको उपचारमा संलग्न जिल्ला अस्पतालका अहेब दीपक अधिकारीले बताउनुभयो । कुटपीटका कुनै निल डाम नदेखिए पनि टाउकामा असर परेको हुनसक्ने अधिकारीको भनाइ छ । “टाउकोमा समस्या भएको भए सिटी स्क्यान गर्नुपर्छ । यसका लागि २४ घण्टा पर्खनुपर्छ” अधिकारीले भन्नुभयो, “हामीले दुखाइ कम गर्ने औषधि दिएका छौँ ।” यही विद्यालयमा गतवर्ष एक विद्यार्थीमाथि शिक्षकबाट कुटपीट भएको थियो । आफूले प्राप्त गर्नुपर्ने अङ्कका विषयमा प्रश्न गर्दा विद्यार्थी कुटिएका थिए ।

यस पटक आफूले गल्ती नगरेको दाबी गर्दा प्रधानाध्यापकले मुड्कीले प्रहार गरेको सोही कक्षाका विद्यार्थीको गुनासो छ । गत वर्षको घटना सार्वजनिक भएपछि प्रधानाध्यापक तथा शिक्षकले घट्ना सार्वजनिक भएका विषयमा विद्यार्थीलाई सोधपुछ गर्नुका साथै विद्यालयबाट निकाला गरिदिने धम्की दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?