प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..

सारांश

  • तहको दोस्रो चरणको निर्वाचन परिणाम अन्तिम चरणतिर उन्मुख भइरहँदा प्रमुख तीन दलसहित विभिन्न दलका प्रभावशाली नेताहरूको गाउँ, नगर र वडामा थरीथरीका परिणाम सार्वजनिक भइरहेका छन् ।
  • सोमबार अबेरसम्मको २ सय ५८ तहको परिणाममा एमाले १ सय १२ स्थान जितेर पहिलो, ९८ सिटसहित कांग्रेस दोस्रो र ३२ स्थानसहित माओवादी केन्द्रले तेस्रो स्थान प्राप्त गरेको छ ।
  • त्यस्तै, संघीय समाजवादी फोरमले ६, फोरम लोकतान्त्रिक नेपालले ३ र राप्रपाले २ स्थानीय तह जितेको छ ।

तहको दोस्रो चरणको निर्वाचन परिणाम अन्तिम चरणतिर उन्मुख भइरहँदा प्रमुख तीन दलसहित विभिन्न दलका प्रभावशाली नेताहरूको गाउँ, नगर र वडामा थरीथरीका परिणाम सार्वजनिक भइरहेका छन् ।

सोमबार अबेरसम्मको २ सय ५८ तहको परिणाममा एमाले १ सय १२ स्थान जितेर पहिलो, ९८ सिटसहित कांग्रेस दोस्रो र ३२ स्थानसहित माओवादी केन्द्रले तेस्रो स्थान प्राप्त गरेको छ ।

त्यस्तै, संघीय समाजवादी फोरमले ६, फोरम लोकतान्त्रिक नेपालले ३ र राप्रपाले २ स्थानीय तह जितेको छ । पहिलो चरणको २ सय ७२ स्थानसहित दोस्रो चरणसम्मको परिणाम हेर्दा कतिपय प्रभावशाली नेताहरूले आफ्नै वडा, गाउँ र नगर गुमाएका छन् भने कतिपय भने वर्चस्व कायम राख्न सफल भएका छन् ।

कांंग्रेस

 जिल्लामा देउवाको शाख कमजोर

प्रधानमन्त्री देउवा मतदाता रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसकै उम्मेदवार विजयी, उनको वडामा पनि कांग्रेस विजयी ।

सदरमुकाम अमरगढीमा पहिलोपटक एमाले विजयी । देउवाको गढ डडेल्धुराका सातमध्ये दुई स्थानमा एमाले र एकमा माओवादी विजयी । अजेयमेरुमा कांग्रेसभन्दा विद्रोहीको मत धेरै ।

 पौडेलको जिल्लामा कांग्रेस सन्तोषजनक

कांग्रेस नेता रामचन्द्र पौडेल मतदाता रहेको तनहुँको व्यास नगरपालिकाको २ नम्बर वडामा कांग्रेसले जितेको छ ।

जिल्लाका १० मध्ये कांग्रेसले ६, एमालेले तीन र माओवादीले एक स्थान जितेका छन् । सदरमुकाम दमौली रहेको व्यास नगरमा कांग्रेसले जित्यो भने बन्दीपुरमा माओवादीले ।

शशांकको वडामा एमाले विजयी

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले मतदान गरेको काठमाडौं–४ मा एमालेले वडा अध्यक्ष जितेको थियो । महानगर प्रमुखमा पनि एमालेकै विद्यासुन्दर शाक्य निर्वाचित भए ।

त्यस्तै, शशांक संसद्मा लगातार दुईपटक निर्वाचित भएको नवलपरासीको गैंडाकोट क्षेत्रमा एमालेले जितेको छ ।

 गोपालमानको वडामै कांग्रेस पराजित

कांग्रेस नेता गोपालमान श्रेष्ठले मतदान गरेको स्याङ्जाको पुतलीबजार–३ को वडाध्यक्षमा कांग्रेसले हार्यो‍ । नगरपालिकाको प्रमुख पद पनि कांग्रेसले गुमायो ।

तर, आफ्नै वडा र नगरमा कांग्रेसलाई जिताउन नसक्ने नेता गोपालमान श्रेष्ठलाई कांग्रेसले देशको उपप्रधानमन्त्री बनाएको छ ।

 सिटौलाको भद्रपुरमा कांग्रेस हारतर्फ
कांग्रेस नेता कृष्णप्रसाद सिटौला मतदाता रहेको झापाको भद्रपुर नगरपालिकामा कांग्रेस हारतर्फ अघि बढेको छ । आठवटा वडाको मतगणना सकिँदा प्रमुखमा २७ सय मतले एमाले अघि छ । अब दुईवटा वडाको मत गन्न बाँकी छन् ।

रामशरणको वडामा एमाले, गाउँपालिकामा माओवादी
कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महत मतदाता रहेको नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा एमाले उम्मेदवार विजयी भएका थिए । एमालेका ध्रु्रव मिश्र सात सय ३९ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार रामशरण श्रेष्ठले ६ सय ४३ मत ल्याएका थिए । पञ्चकन्या गाउँपालिका प्रमुखमा भने माओवादीका तेजबहादुर लामा दुई हजार नौ सय ६२ मत ल्याएर विजयी भए । महतसहित अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत र बहादुरसिंह लामाजस्ता चर्चित नेता रहेको नुवाकोटका १२ स्थानीय तहमा कांंग्रेसले सातवटामा जित हात पारेको थियो ।

प्रकाशमानको वडामा कांग्रेस
कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले भोट हालेको काठमाडौं महानगरपालिका–१६ बाट कांग्रेस उम्मेदवारले वडा अध्यक्ष जिते । काठमाडौं–१६ मा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका थिए । काठमाडौंको एक महानगरसहित ११ तहमध्ये एमालेले सात र कांग्रेसले चारवटा जितेको थियो ।

खुमबहादुरको वडामा कांग्रेस, उपमहानगर एमाले हाबी
कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको गृहजिल्ला दाङका दुई उपमहानगरपालिकामध्ये घोराहीमा एमालेले प्रमुख जित हात पारिसकेको छ । प्रमुखमा एमालेका नरुलाल चौधरी झन्डै पाँच हजार मतान्तरले कांग्रेस प्रमुखका उम्मेदवार भूपनारायण डाँगीलाई पराजित गरेका हुन् । खड्का मतदाता रहेको लमही–८ मा भने कांग्रेसकै मेघनारायण चौधरी विजयी भएका छन् । स्वास्थ्यका कारण खड्का भोट हाल्न दाङ आएनन् ।

बालकृष्ण खाणको वडामा एमाले विजयी
रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण मतदाता रहेको यो वडाबाट एमाले उम्मेदवारले कांग्रेस उम्मेदवारविरुद्ध चार सय सात मतअन्तरको जित हात पारेका हुन् ।

रमेश लेखकको वडा र नगरमै कांग्रेस पराजित
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक मतदाता रहेको कञ्चनपुरको वेदकोट–८ र नगर दुवैमा कांग्रेस पराजित भएको छ । लेखक मतदाता रहेको वेदकोट–८ मा एमालेले प्यानलसहित जित्यो । नगरका १० वडामा ६ नम्बर कांग्रेस, ५ नम्बर माओवादीले जित्दा नगरका १, २, ३, ४, ७, ८, ९ र १० वडा एमालेले जितेको छ । जिल्लाको पाँच स्थानीय तहमध्ये कांग्रेसले दुई, एमाले दुई र माओवादी एक तह जिते । नगरको उपमेयर पनि एमालेले नै जित्यो ।

एमाले

ओलीको वडामा एमाले पराजित

एमाले अध्यक्ष केपी ओली मतदाता रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा कांग्रेस उम्मेदवार कमलनाथ आचार्य विजयी भए ।
नगरपालिकामा भने एमाले विजयी भयो ।

ओलीले संसद्मा प्रतिनिधित्व गर्ने झापाको दमक नगरपालिकाको प्रमुखमा एमालेका रोमनाथ ओलीले अग्रता लिइरहेका छन् ।

खनालको वडामा एमाले, नेम्वाङकोमा कांग्रेस

एमाले वरिष्ठ नेता झलनाथ खनालको गृहनगर इलामको सूर्योदय नगरपालिकाको ९ नम्बर वडामा संघीय समाजवादी फोरमलाई हराउँदै एमालेको प्यानल नै विजयी । नगरप्रमुखमा पनि एमाले विजयी ।

पूर्वसभामुख सुवास नेम्वाङको वडा इलाम– ७ मा एमालेलाई कांग्रेसले पराजित गरेको छ ।

 गौतमको क्षेत्रमा मिश्रित परिणाम

एमाले उपाध्यक्ष वामदेव गौतमले मतदान गरेको बर्दियाको बाँसगढी–८ को वडासहित मेयर र उपमेयरमा पनि एमाले विजयी । जिल्लामा कांग्रेस, एमाले र माओवादीलाई दुई–दुई तह । दुईमा गणना जारी । गौतमले संसद्मा प्रतिनिधित्व गर्ने प्युठानमा एमालेले तीन, कांग्रेसले तीन, माओवादीले १ र जनमोर्चाले २ तह जिते ।

 रावलको जिल्लामा एमाले कमजोर

उपाध्यक्ष भीम रावलको गृहनगर अछामको साँफेबगर नगरपालिकामा एमाले नै विजयी भएको छ । रावलको ६ नम्बर वडामा पनि एमालेकै प्यानल विजयी भएको छ ।

अछामका १० तहमध्ये पाँचमा कांग्रेसले जित हासिल गरेको छ । त्यस्तै, तीनमा एमाले, दुईमा माओवादीले जितेका छन् ।

एमाले महासचिवको वडामा कांग्रेस

एमाले महासचिव ईश्वर पोखरेलको मतदाता नामावली रहेको काठमाडौंको टोखा–६ को वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी ।
नगरपालिकामा भने एमाले विजयी । काठमाडौंका ७ तहमा एमाले र ४ मा कांग्रेस विजयी ।

विष्णु पौडेलको वडामा एमाले विजयी
एमाले उपमहासचिव विष्णु पौडेलले मतदान गरेको बुटवल उपमहानगरपालिका–८ मा एमालेका वडा अध्यक्षका उम्मेदवार भीमबहादुर श्रेष्ठ कांग्रेसका राधेश्याम राजभण्डारीलाई हराउँदै विजयी भएका छन् । सो वडा एमाले उपमहासचिव पौडेल र कांग्रेसबाट मेयरका प्रत्याशी खेलराज पाण्डेको वडा हो ।

भीम आचार्यको नगरमा एमाले पराजयनजिक
एमाले सचिव भीम आचार्यको नगरपालिका सुनसरीको इनरुवामा एमालेका मेयरका उम्मेदवार पोष्टकुमार नेपाल पछि परेका छन् । मतगणना बाँकी रहेको अन्तिम वडा ६ नम्बरको नौ सय मात्रै गन्न बाँकी रहँदा एमाले उम्मेदवारभन्दा कांग्रेसका राजन मेहता १२ सय मतले अघि देखिएका हुन् । आचार्यको ६ नम्बर वडामा भने एमालेका अध्यक्षका उम्मेदवार कोषराज अधिकारीले अग्रता लिइरहेका छन् ।

ज्ञवाली र विष्टको गाउँ–नगरमा विजयी
एमाले सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टको नगरपालिका र गाउँपालिकामा एमालेले जितेको छ । ज्ञवालीको रुरु नगरपालिका र उनको ४ नम्बर वडा तथा विष्टको इस्मा गाउँपालिका र ३ नम्बर वडा दुवै एमालेले जितेको हो । गुल्मीका १२ स्थानीय तहमध्ये एमालेले ८, कांग्रेसले ३, माओवादीले एक स्थानीय तह जितेका छन् ।

नेम्वाङको वडामा एमाले पराजित
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नगरपालिका इलाममा एमालेका मेयर महेश बस्नेत र उपमेयरमा सुशीला नेम्बाङ विजयी भए । तर, उनको ७ नम्बर वडामा भने एमालेका वडा अध्यक्षका उम्मेदवार सुमन श्रेष्ठलाई १८ मतले पछि पार्दै कांग्रेसका नरेश श्रेष्ठ विजयी भए । सो वडामा उपनेता नेम्वाङसँगै कांग्रेसका पूर्वमहामन्त्री केबी गुरुङले पनि मतदान गरेका थिए ।

माओवादी केन्द्र

 प्रचण्डको वडामा एमाले

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदाता रहेको चितवनको भरतपुर महानगरपालिका–४ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख–उपप्रमुखमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । विवादका कारण मतगणना भने स्थगित छ, विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

 नारायणकाजीको वडामा कांग्रेस

माओवादी नेता नारायणकाजी श्रेष्ठको जिल्ला गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको छ । श्रेष्ठ मतदाता रहेको वडा नम्बर –८ मा भने माओवादी केन्द्रका झटक दवाडी सात सय ८४ मत पाएर अध्यक्षमा निर्वाचित भए । गोरखाका ११ मध्ये नौमा कांग्रेस र दुईमा माओवादी विजयी ।

बादलको वडामा माओवादी तेस्रो

भरतपुर महानगर–१० बाट मतदान गरेका रामबहादुर थापाको वडामा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा माओवादी केन्द्र तेस्रो स्थानमा खुम्चियो ।

चितवन जिल्लाका सातमध्ये चारमा एमाले, एक-एकमा माओवादी र कांग्रेस विजयी । भरतपुर महानगरमा मतगणना स्थगित ।

अमिक शेरचनलाई वडामा सफलता
माओवादी केन्द्रका नेता अमिक शेरचनले भरतपुर महनगरपालिका–२६ बाट मतदान गरेका थिए । सो वडामा एमालेको सहयोगमा माओवादी केन्द्र वियजी भएको छ ।

टोपबहादुर रायमाझी र पम्फा भुसालको वडामा माओवादी नै
माओवादी नेताद्वय टोपबहादुर रायमाझी र पम्फा भुसालले अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–९ बाट मतदान गरेका थिए । सो वडामा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । सन्धीखर्क नगरपालिकाको प्रमुखमा कांग्रेससँगको तालमेलमा माओवादी केन्द्र नै विजयी भएको छ ।

जनार्दन शर्माको जिल्लाबाट माओवादीको क्लिन स्विप
गृहमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुमका सबै स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ । उनले मतदान गरेको मुसीकोट नगरपालिका–५ मा वडा अध्यक्षसहित माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

रोल्पामा माओवादी केन्द्रका नेताहरूको वर्चस्व
रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रले जिल्लामा वर्चस्व कायम राखेका छन् । रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरा, नन्दबहादुर पुनले मत हालेको स्थानीय तहका वडामा समेत सो पार्टीका उम्मेदवारले विजयी हासिल गरेका छन् ।
वर्षमान पुन र ओनसरी घर्तीको घर रहेको रोल्पा नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । यस्तै उनीहरूको घर रहेको वडा नम्बर ८ मा पनि माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । महराको घर भएको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको घर रहेको रोल्पास्थित दुईखोला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । यस्तै उनको घर भएको वडा नम्बर २ मा पनि माओवादी केन्द्र विजयी भएको छ ।

अग्नि सापकोटाको वडामा माओवादी केन्द्र
सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ । यस्तै उनको घर रहेको वडा नम्बर ४ मा पनि वडा अध्यक्षसहित माओवादी केन्द्रको प्यानल नै विजयी भयो ।

बाबुरामले वडामा जिते, नगरमा हारे

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको वडा गोरखाको पालुङटार नगरपालिका–१ मा नयाँ शक्तिका उम्मेदवारले जिते । तर, कांग्रेससँग तालमेल गर्दा पनि नगरपालिका प्रमुखमा भने उनको दल पराजित ।

नयाँ शक्तिले स्थानीय तहमा रसुवाको पार्वतीकुण्ड गाउँपालिकामात्रै जितेको छ ।

गच्छदारको वडामा कांग्रेस

लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको जिल्ला सुनसरीको दुहबी नगरपालिकाको २ नम्बर वडामा कांग्रेस विजयी । दुहबी नगरपालिका भने गच्छदारको दल विजयी । सुनसरीका घोषित चारमध्ये दुई स्थानमा उनको दल विजयी ।

कमल थापाको वडामा कांग्रेस
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको मतदाता नामावली भएको मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ मा कांग्रेसले जितेको छ । कांग्रेस उम्मेदवार राजेश बानियाँ एक हजार आठ सय ४८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका वडा अध्यक्षका उम्मेदवार ईश्वर ढुंगाना रहे । उनले एक हजार सात सय ४४ मत पाए ।

पशुपतिशमशेरको वडामा एमाले
राप्रपा वरिष्ठ नेता पशुपतिशमशेर राणाको मतदाता नामावली रहेको सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१ को अध्यक्षमा एमाले उम्मेदवार सूर्यमान दोङ विजयी भएका छन् ।

बिरासत जोगाए बिजुक्छेले
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको मतदाता नामावली रहेको भक्तपुर नगरपालिका–५ मा सोही पार्टीले जितेको छ । सो वडामा नेमकिपाका प्रेमगोपाल महर्जनले एक हजार नौ सय ९२ मत ल्याएर कांग्रेसका धर्मराज खाइतूलाई पराजित गरे ।

चित्रबहादुरको वडामा कांग्रेस
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको मतदाता नामावली भएको बाग्लुङको गलकोट नगरपालिका–९ को वडा अध्यक्षमा कांग्रेसले विजय प्राप्त गरेको छ । कांग्रेस वडा अध्यक्षका उम्मेदवार तेजबहादुर थापाले पाँच सय ७२ मत ल्याएर विजय हासिल गरेका हुन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवार देवलाल सापकोटाले तीन सय ५५ मत ल्याए ।

३४ जिल्लामा ‘जिल्ला समन्वय समिति’को निर्वाचन तयारी

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन भएका ३४ जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन तयारी गरेको छ । निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत नियुक्ति प्रक्रिया सुरु गरेको छ । आयोगले न्यायपरिषद्लाई जिल्ला न्यायाधीश निर्वाचनका लागि पठाइदिन पत्र लेखिसकेको छ । परिषद्बाट न्यायाधीशहरू काजमा आएलगत्तै आयोगले निर्वाचनको प्रक्रिया सुरु गर्नेछ । आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार जिल्ला सभाको बैठक बसेपछि आयोगले जिल्ला समन्वय समितिको निर्वाचन गराउनेछ ।

नेपालमा ७७ जिल्ला !
संविधानसभाले संविधान जारी गर्दा निर्माण गरेको प्रदेशमा रुकुम र नवलपरासीलाई विभाजन गरिएको छ । रुकुमको पूर्वी क्षेत्र प्रदेश नम्बर ५ र पश्चिम रुकुमको क्षेत्र भने प्रदेश नम्बर ६ मा रहेको छ । जिल्ला टुक्रिए पनि रुकुमलाई दुई जिल्ला मान्ने कि नमान्ने भन्ने अहिलेसम्म प्रस्ट भएको छैन । त्यसैगरी, नवलपुर क्षेत्र प्रदेश नम्बर ४ मा परेको छ भने परासी क्षेत्र प्रदेश नम्बर ५ मा छ । यी दुवै जिल्लालाई कतिवटा मान्ने भन्नेमा निर्वाचन आयोगले सरकारसँग जवाफ मागेको थियो । सरकारले अहिलेसम्म जवाफ नदिएकाले ती दुई जिल्लाबारे प्रस्ट हुन नसकेको आयुक्त पौडेलले बताए ।

नवलपरासी र रुकुममा के हुन्छ ?
सरकारले अहिलेसम्म रुकुम र नवलपरासीलाई दुई जिल्ला बनाउन सकेको छैन । जसले गर्दा यी दुई जिल्लामा जिल्ला समन्वय समिति गठन गर्न समस्या भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अहिलेसम्म जिल्लाको संख्या यकिन गर्न नसकेपछि ती जिल्लामा के गर्ने भन्ने प्रस्ट हुन सकेको छैन । जिल्ला विभाजन गरिएकाले समन्वय समिति बनाउन समस्या भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

https://waterfordbanquet.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?