प्रेतात्मालाई शान्त पार्न सल्यानमा बनाइँदैछ यस्तो मन्दिर
सारांश
- शंकर केसी सल्यान, १९ चैत्र ।
- विक्रम संवत् २०४२ सालयता ५४ जनाको ज्यान जानेगरी १७ वटा बढी सवारी दुर्घटना भएको क्षेत्र सल्यान भाण्टाखोलामा शिव र विश्वकर्मा बाबाको मन्दिर निर्माण गर्न थालिएको छ ।
- राप्ती लोकमार्गअन्तर्गत त्रिवेणी गाउँपालिका सल्यानको वडा नम्बर ५ र ६ को सिमानामा पर्ने भाण्टाखोलामा सवारी दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति भएकाले र अझै पनि त्यस क्षेत्रमा दुर्घटनाको क्रम नरोकिएकाले प्रेतात्माको शान्तिका लागि मन्दिर निर्माण गरेर पूजाआजा गर्ने भन्दै स्थानीयले मन्दिर निर्माण कार्य शुरु गरेका हुन् ।
शंकर केसी
सल्यान, १९ चैत्र । विक्रम संवत् २०४२ सालयता ५४ जनाको ज्यान जानेगरी १७ वटा बढी सवारी दुर्घटना भएको क्षेत्र सल्यान भाण्टाखोलामा शिव र विश्वकर्मा बाबाको मन्दिर निर्माण गर्न थालिएको छ । राप्ती लोकमार्गअन्तर्गत त्रिवेणी गाउँपालिका सल्यानको वडा नम्बर ५ र ६ को सिमानामा पर्ने भाण्टाखोलामा सवारी दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति भएकाले र अझै पनि त्यस क्षेत्रमा दुर्घटनाको क्रम नरोकिएकाले प्रेतात्माको शान्तिका लागि मन्दिर निर्माण गरेर पूजाआजा गर्ने भन्दै स्थानीयले मन्दिर निर्माण कार्य शुरु गरेका हुन् ।
गत माघ १५ गते वडा नम्बर ५ र ६ का स्थानीयहरु भेला भएर मन्दिर निर्माणका लागि समिति गठन गरेका थिए । मानबहादुर ओली अध्यक्ष रहेको शिव मन्दिर निर्माण समितिले अहिले विभिन्न निकायसँग सहयोग जुटाएर मन्दिर निर्माण कार्यलाइ अगाडि बढाइरहेको छ । पटकपटक भाण्टाखोला क्षेत्रमा गाडी दुर्घटना भइरहेपछि स्थानीयहरु त्यस क्षेत्रमा कुनै प्रेत आत्माको बास रहेको र उक्त आत्माले सताइरहेको निष्कर्षमा स्थानीयहरु पुगेका थिए ।
शुरुमा २०४२ सालमा यात्रुवाहक बस भाण्टाखोलामा दुर्घटनाग्रस्त हुँदा ४ जनाले ज्यान गुमाएका थिए भने फेरि २०५९ सालमा त्यसै क्षेत्रमा अर्काे ठूलो दुर्घटना भएको थियो । जुन बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो भने ५० बढी घाइते भएको स्थानीय तथा समितिका सदस्य मानबहादुर नेपालीले बताए । यस्तै अन्य साना ठूला १५ वटा भन्दा बढी सवारी दुर्घटना भाण्टाखोला क्षेत्रमा मात्रै भएको उनले बताए । गत माघ ८ गते पनि बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।
त्यसपछि गठन भएको समितिले मन्दिर निर्माण कार्य शुरु गरेको थियो । समितिका अध्यक्ष मानबहादुर ओलीले भने, “अहिलेसम्म मन्दिर निर्माणका लागि ४ वटा पिलर उठाएर सडक लेवलसम्म ढलान कार्य सकिएको छ ।’ अब मन्दिर निर्माण कार्य पूरा गर्नका लागि १० लाख बढी लाग्ने अध्यक्ष ओलीले जनाए । पिलर निर्माण र ढलानका लागि २ लाख ४३ हजार रुपैयाँ सकिएको समितिका सदस्य प्रेम सेर्पाइलीले जानकारी दिएका छन् । ‘हामीले खर्च गरेको २ लाख ४३ हजार रुपैयाँ स्थानीयवासी, गाडीधनी तथा विभिन्न सहयोगी दाताहरुबाट संकलन गरेका थियौँ,’ उनले भने, ‘अझै १ लाख आवश्यक पर्ने देखिएकाले सहयोग जुटाउने अभियान जारी राखेका छौँ ।’
सहयोग जुटाउनका लागि समितिले गाउापालिका, जिल्ला प्रशासन, वडा कार्यालय लगाएतका निकायसंग अनुरोध गरेको छ । यद्यपि सोँचे अनुसारको सहयोग जुट्न नसकेको समितीका सदस्य सेर्पाइलीले जनाए । मन्दिर निर्माण कार्य आगामी वडा दशैँ सम्म सक्ने लक्ष्य लिएको समितीले विभिन्न निकायको सहयोगको अपेक्षा गरेको छ । सडकको छेउँमा निर्माण हुन लागेको शिव मन्दिर तथा विशवकर्मा बाबाको मन्दिरमा शिलालेख राखिने र शिलालेखमा सहयोग गर्ने दाताहरुको नाम उल्लेख गर्ने समितीले जनाएको छ । समितीको निर्णय अनुसार ५ हजार सम्म सहयोग गर्ने व्यक्ति र १० हजार सम्म सहयोग गर्ने संघ, संस्था वा कार्यालयको नाम शिलालेखमा उल्लेख गरिने छ ।
त्रिवेणी– ६ सल्लेखालाका स्थानीय जानकी रावतले पहिले पहिले भाण्टाखोलास्थित बैगाडा खोलामा कुनै अनिष्ट नहोस् भनेर पूजाआजा गर्ने गर्दथे । ‘पूजाआजा, धारधुप नगर्दा ज्युला ल्याएका लालाबाला हराउने, मर्ने तथा हराउने गर्दथे । यस हिसावले पनि यहाँ कुनै शक्ति वा प्रेतात्मा छ भन्ने पुष्टि हुन्छ,’, उनले भनिन्, ‘त्यही प्रेतात्माले दुर्घटना गराइरहेको छ भन्ने निष्कर्षमा पुगेर हामीले मन्दिर निर्माण गर्न लागेका हौँ ।’
प्रतिक्रिया