बलात्कारी बचाउनेलाई प्रवल जनसेवाश्री पदक
सारांश
- काठमाडौं, २० भदौ ।
- प्रेमी र उनका साथी मिलेर इटहरीको तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना “गुपचुप”मा मिलापत्र गरेको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले “प्रवल जनसेवा श्री” पदक प्रदान गरेको छ ।
- प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका एसपी माझीलाई मंगलबार “प्रवल जनसेवाश्री” पदक प्रदान गरिएको हो ।
काठमाडौं, २० भदौ । प्रेमी र उनका साथी मिलेर इटहरीको तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना “गुपचुप”मा मिलापत्र गरेको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले “प्रवल जनसेवा श्री” पदक प्रदान गरेको छ । प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका एसपी माझीलाई मंगलबार “प्रवल जनसेवाश्री” पदक प्रदान गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुराएका व्यक्तित्वलाई विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी हुन् । यसैक्रममा एसपी माझी पनि “प्रवल जनसेवा श्री”बाट विभूषित भएका हुन् । एसपी माझी अहिले जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख हुन् ।
पुस–१६ गते इटहरीकै वडा नं. २ मा १६ बर्षीया बालिका बलात्कार गरेको घटना “गुपचुप” मा मिलापत्र गरेकोमा घटना भएको १ महिनापछि छानबीन भएको थियो । एसपी माझी सुनसरी जिल्ला प्रहरी प्रमुख हुँदा माघ २३ गते निलम्बनमा परेका थिए ।
तत्कालीन प्रहरीको प्रदेश नं. १ का एआइजी पशुपति उपाध्यायले संघीय प्रहरी एकाइ धरानका तत्कालीन एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन गरिएको थियो । छानबिन समितिको सिफारिसअनुसार, तत्कालीन सुनसरी प्रहरी प्रमुख एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका इनिस्पेक्टर चिरञ्जीवी दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो ।
निलम्बन गरेको तीन महिनापछि प्रहरी प्रधान कार्यालयले एसपी माझीको ग्रेड रोक्का गरेर निलम्बन फुकुवा गरेको थियो । त्यसपछि उनलाई डोटीको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । बलात्कारका घटनामा संलग्न भएको आरोपमा बालिकाका प्रेमी धरान वडा नं. ८ का ३६ वर्षीय जोकम सुब्बा र जोकमका साथी विराटनगरका मनिष भन्ने जीवन श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
Suraj Shrestha
दिने नै यस्ता लाई त हो!!!
त्यो पदक यस्तै हरुको लागी बनाइएको हो!!! अब कम्तिमा हाम्रा सुन डन गोरे दाई लाई पनि एउटा पदक दियर जेल मुक्त गरे झन मज्जा हुने थियो।