बाघको छाला तस्करीमा सैनिक जवान संलग्न, चार पक्राउ
सारांश
- काठमाडौं, २२ असोज ।
- बाघको छाला तस्करीमा सैनिक जवान पनि संलग्न रहेको भेटिएको छ ।
- नेपाली सेनाका दुई जवानसहित ४ जनालाई बाघको छालासहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २२ असोज । बाघको छाला तस्करीमा सैनिक जवान पनि संलग्न रहेको भेटिएको छ । नेपाली सेनाका दुई जवानसहित ४ जनालाई बाघको छालासहित प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबाट १ थान पाटे बाघको छाला र ३ थान चितुवाको छाला बरामद गरिएको छ । बाघको छाला ओसारपसारको क्रममा चारै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
स्याङ्जा स्थायी घर भई हाल धादिङको बैरेनी ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान सोमराज श्रेष्ठ, भद्रकालीस्थित विकास निर्माण बाहिनीमा कार्यरत जवान गोरखाका सलिम मिया, कपिलवस्तुका राजन थापा र अर्घाखाँचीका मानबहादुर नेपाली पक्राउ परेका हुन् ।
कपिलवस्तुबाट काठामाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरु सोमबार राति थानकोटस्थित नागढुंगाबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले पूर्व सूचनाको आधारमा उनीहरुलाई नागढुंगास्थित पिपलबोटबाट पक्राउ गरेको बताएको छ ।
प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जनाए अनुसार अभियुक्त चारजनाले कपिलवस्तुबाट काठमाडौं छाला कारोवार गर्ने क्रममा थिए । साथै उनीहरुले काठमाडौंमै उक्त छाला ७६ लाख रुपैयाँमा बिक्रीको तयारी भएको थियो ।
प्रतिक्रिया