बाढीको कहरः ६ जनाको मृत्यु, पाँच जना वेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
१५ पटक हेरिएको
Shares
बाढीको कहरः ६ जनाको मृत्यु, पाँच जना वेपत्ता

सारांश

  • काठमाडौं।
  • बिहीबार रातिदेखि परेको अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परि मुलुकका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ ।
  • गृहमन्त्रालका अनुसार पहिरोले घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं। बिहीबार रातिदेखि परेको अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परि मुलुकका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ । गृहमन्त्रालका अनुसार पहिरोले घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ । यसैगरी रामेछापमा एक जनाको मृत्यु भएको भने ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ ।

महोत्तरीमा खोलाले बगाउँदा एक जना वृद्ध वेपत्ता भएका छन् । खोटाङमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । अबिरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका –३ चुनातालमा दुई जनाको मृत्यु भएको हो। स्थानीय रामप्रसाद दंगालको घर बिहीबार राति पहिरोले पर्दा उनीकी ६० वर्षीया श्रीमती गोमा

सात वर्षीया नातिनी सुहबीको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। यसैगरी खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बताउँदा तीन जना बेपत्ता भएका छन्। पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी वेपत्ता भएको राससले जनाएको छ।

यसैगरी महोत्तरीको रातो खोलामा आएको बाढीले शुक्रबार विहान एक वृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीय वृद्ध हनिफ बैठालाई रातो खोलाले बगाएर बेपत्ता बनाएको छ। यसैगरी खोला तर्ने क्रममा पाँचथरको मिक्काजुन गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर एक विद्यार्थी बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षका जीवन राई रहेका छन्। यसैगरी मोरङ र सुनसरीमा एकरएक गरी दुई जना बेपत्ता भएका छन् भने पर्सामा बाढीले बगाएर एकको मृत्यु भएको छ।

जनकपुर जलमग्न
जनकपुर। अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्। बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन्। जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ।

जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ।

यद्यपि अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्याङ्क सङ्कलन काम भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। एशियाली विकास बैंकको एकीकृत शहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। बस्तीहरू समेत डुबानमा परेर स्थानीयवासी मर्कामा छन्।

विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ। वर्षाले अधिकांश सरकारी कार्यालय पनि डुबानमा परेका छन् । धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा निरन्तर रुपमा पानीको सतह बढ्दै गएपछि सर्वसाधारणलाई सचेत गराइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलका अनुसार धनुषा र सिरहा जिल्लाको सीमाका रुपमा रहेको कमला नदीमा अविरल वर्षाका कारण जलस्तर बढ्दै गएकाले कमला छेउछाउका सर्वसाधारणहरुलाई सचेत गराउँदै सतर्क रहन आग्रह गरिएको छ।

निरन्तर वर्षाका कारण जलस्तर बढ्दै गएकाले हुन सक्ने सम्भावित घटनाको न्यूनीकरणका लागि कमला छेउछाउका ग्रामीण भेगमा सुरक्षाकर्मीलाई सचेत गराई तयारी अवस्थामा राखिएको धनुषाका प्रजिअ कनेलले जानकारी दिए।

समग्र जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको छ तर जनकपुरको नालामा पानीको बहाव रोकिएकाले ठाउँठाउँमा पानी जमेको बताउँदै प्रजिअ कनेलले कर्मचारी र प्रहरीको सहयोगमा त्यसलाई निराकरण गर्ने प्रयास भइरहेको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?