बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने

सारांश

  • भक्तपुर, २४ साउन ।
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ ।
  • मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना हुनुभएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अस्पताल पुग्नुभएका नेता दाहालले  भन्नुभयो, “डा भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ ।

भक्तपुर, २४ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ ।

मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना हुनुभएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अस्पताल पुग्नुभएका नेता दाहालले  भन्नुभयो, “डा भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ ।”

पूर्वप्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री डा भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । शल्यक्रियामा संलग्न प्रा डा राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच मात्रै करिब आधा घण्टो छुट्टै छलफल भएको थियो ।

अस्पतालमा उपचार गराइरहनु भएका डा भट्टराईसँगको भेटपछि कुरा गर्दै अध्यक्ष दाहालले उहाँको उपचारको क्रम चलिरहेको रस्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै उहाँ छिट्टै घर फर्किने विश्वास व्यक्त गर्नुभयो ।

करिब एक वर्षदेखि नियमित रुपमा डा भट्टराईको मूत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउँदै प्रा डा बर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताउनुभयो । शल्यक्रियापछि तीन दिनसम्म पिसाब नलीमा पाइप राखेर आज बिहान निकालिएको अस्पतालको मेट्रोन सुन्दरी जोशीले जानकारी दिनुभयो ।

अस्पतालका अध्यक्ष पुष्पमान अमात्यले विदेशमा हुने कतिपय उपचार यहीँ हुने भएकाले स्वदेशमै नेताहरुले उपचार गराउनुपर्ने बताउनुभयो ।

डा भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार राति सभामुख ओनसरी घर्ती पनि पुग्नुभएको थियो । अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले डा भट्टराईको उपचार बुधबारसम्म चल्ने र अपराह्न २ बजे घर फिर्ता पठाइने जानकारी दिनुभयो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?