बिछ्याएका पाइप परीक्षण तथा सफा गर्ने काम सुरु, कहिले अाउँछ राजधानीमा मेलम्चीकाे पानी ?
सारांश
- सुन्दरीजल, २२ असार ।
- मेलम्ची खानेपानीका लागि बिछ्याएका पाइप परीक्षण तथा सफा (फ्लसिङ) गर्ने काम सुरु भएको छ ।
- सुन्दरीजलदेखि चाबहिल धोविखोलासम्मको करिब ११ किमि क्षेत्रफलमा बिछ्याएका मुख्य पाइप सफा गर्ने काम सुरु भएको परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का परियोजना निर्देशक तिरेश प्रसाद खत्रीले बताउनु भयो ।
सुन्दरीजल, २२ असार । मेलम्ची खानेपानीका लागि बिछ्याएका पाइप परीक्षण तथा सफा (फ्लसिङ) गर्ने काम सुरु भएको छ ।
सुन्दरीजलदेखि चाबहिल धोविखोलासम्मको करिब ११ किमि क्षेत्रफलमा बिछ्याएका मुख्य पाइप सफा गर्ने काम सुरु भएको परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का परियोजना निर्देशक तिरेश प्रसाद खत्रीले बताउनु भयो ।
पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेपछि पिआईडीले सुन्दरीजलस्थित बागमतीबाट पानी ल्याएर परीक्षण सुरु गरेको हो । निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार, पाइपबाट ल्याइएको बागमतीको पानी सुन्दरीलजस्थित संकलन केन्द्रमा संकलन तथा प्रशोधन गरेर मुख्य पाइपमा पठाउने काम भइरहेको छ ।
‘पाइपको प्रेसर तथा पाइपभित्र जमेको फोहोर पनि सफा (फ्लसिङ) गर्ने काम हुँदै छ । मुख्य पाइपको परीक्षण सकिनेबित्तिकै अन्य पाइपको परीक्षण सुरु हुन्छ ।’
निर्देशक खत्रीका अनुसार, मुख्य र शाखा पाइपको परीक्षण सकिएपछि जडान गरिएका धाराहरूको पनि चेकजाँच गरिनेछ । ६१ किमि लामो मुख्य पाइप लाइनमध्ये ५८ किमिमा पाइप बिछ्याइसकिएको छ । कलंकीकाे अन्डरपास वेकाे काम सम्पन्न नभएकाेले ३ किमि क्षेत्रमा पाइप बिछ्याउन बाँकी छ ।
शाखा पाइपअन्तर्गत पनि ७ सय ८३ मध्ये ७ सय ३५ किमि क्षेत्रफलमा पाइप बिछ्याउने काम सम्पन्न भएकाे छ । मेलम्चीको पानी अाउनु अगावै बागमतीकाे दैनिक ४ कराेड लिटर पानी काठमाडाैं उपत्याकावासीकाे धारामा झार्ने याेजनासहित पाइप परीक्षण फ्लसिङकाे काम सुरू भएकाे बताउनु हुन्छ निर्देशक खत्री ।
उहाँले भन्नुभयाे, ‘एक्कासी बागमतीकाे पानी ल्याउने कुराले मेलम्चीकाे पानी तत्काल नअाउने हाे कि भन्ने लाग्ला । मेलम्चीकाे पानी छिट्टै काठमाडाैं उपत्यका ल्याउनका लागि नै याे पूर्व तयारी भएकाे हाे । बिछ्याइएका पाइपकाे परीक्षाण तथा फ्लसिङकाे काम सम्पन्न भएकाे खण्डमा मेलम्चीकाे पानी सुन्दरीजल अाउने बित्तिकै प्रयाेग गर्न सकिने अवस्थामा पठाउन सकिन्छ ।’
कूल ७० हजार ८ सय ८५ हजार खानेपानीको धारामध्ये ५४ हजारभन्दा बढी जडान गर्ने काम सम्पन्न भएकाे छ । पानी संकलन तथा वितरणका लागि रिङराेडका बाँसबारी, महांकाल चौर र बालाजुलगायतका अाठ वटा स्थानमा नयाँ पानीपाेखरी निर्माण गरिएकाे निर्देशनालयले जनाएकाे छ ।

प्रतिक्रिया