विवाहपञ्चमी भब्य रूपले मनाउने तयारी
सारांश
- जनकपुरधाम, १४ असोज ।
- प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउन योजना बनाउन आग्रह गर्नुभएको छ ।
- जानकी मन्दिरद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्री साहले सो आग्रह गर्दै उहाँले सीतारामविवाहपञ्चमी महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको धारणा राख्नुभयो ।
जनकपुरधाम, १४ असोज । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउन योजना बनाउन आग्रह गर्नुभएको छ ।जानकी मन्दिरद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्री साहले सो आग्रह गर्दै उहाँले सीतारामविवाहपञ्चमी महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको धारणा राख्नुभयो । मन्त्री साहले साताव्यापि महोत्सवलाई भब्यता दिन जनकपुरधाममा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने अवधारणाबारे छलफल भई रहेको छ भन्नुभयो । उहाँले प्रदेश सरकारले महोत्सव भव्यरुपमा मनाउन रू ३० लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।
गोश्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएका शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको शरीर नभए पनि अदृश्य रूपमा नै उपस्थितिको विश्वासले हर्ष र उल्लाससाथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुुने गरेका छन् ।
मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन भएकाले सीताराम विवाह महोत्सवमा प्रतिकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ । जानकी मन्दिरका सह–महन्त रामरोशन दासका अनुसार महोत्सवमा जनकपुर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवा मनाइन्छ ।छलफल कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह र सुरिता साह , जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतले महोत्सवलाई मिथिलाको पहिचानअनुरूप मनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया