बिजुलीको मूल्य बढाउने भारतको प्रस्ताव : लोडसेडिङको सम्भावना बढ्यो
सारांश
- भारतबाट नेपाल आयात हुने बिजुलीको भाउ बढ्ने भएको छ ।
- भारतले नेपाललाई अहिलेको दरमा बिजुली दिन नसक्ने भन्दै ऊर्जा मन्त्रालयमा अनौपचारिक जानकारी गराएपछि भाउ बढ्ने निश्चित भएको हो ।
- विद्युत्को मूल्यबारे भारतीय पक्षले केही समयअघि मन्त्रालयलाई जानकारी गराइसकेको छ ।
भारतबाट नेपाल आयात हुने बिजुलीको भाउ बढ्ने भएको छ । भारतले नेपाललाई अहिलेको दरमा बिजुली दिन नसक्ने भन्दै ऊर्जा मन्त्रालयमा अनौपचारिक जानकारी गराएपछि भाउ बढ्ने निश्चित भएको हो । विद्युत्को मूल्यबारे भारतीय पक्षले केही समयअघि मन्त्रालयलाई जानकारी गराइसकेको छ । नेपालले कम्तीमा १ महिना र बढीमा २ महिनासम्म पुरानै सम्झौताअनुसार बिजुली उपलब्ध गराउन आग्रह गरे पनि भारतीय पक्षले नमान्दा बिजुलीको भाउ बढ्ने करिब पक्का भएको हो । यसअघिको सम्झौताअनुसार भारतले नेपालमा निर्यात गर्दै आएको बिजुलीमा खुद घाटा भएकाले भारतीय पक्षले मूल्यवृद्धि हुने बताएको हो ।
यसको प्रत्यक्ष असर ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट नेपाल भित्रिरहेको १ सय ६० मेगावाट बिजुलीमा पर्नेछ । यही पुस ५ र ६ गते नेपाल–भारत ऊर्जासचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी) बैठक बस्ने तय भएको थियो । तर, भारतले बिजुलीको मूल्य बढाउने प्रस्ताव गरेपछि सो बैठकसमेत रोकिएको छ । भारतको सर्वोच्च अदालतले गत नोभेम्बर १७ देखि पेटकोक र फर्नेस (तेल प्रशोधन प्रक्रियामा सहउत्पादनका रूपमा प्राप्त हुने कार्बनको मात्रा उच्च रहेको इन्धन) आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएको थियो । पेटकोकमा लागेको प्रतिबन्धबाट भारतमा कोइलाबाट विद्युत् उत्पादन बन्द भएको छ ।
सोही दिनदेखि टनकपुरबाट नेपालतर्फ आयात भइरहेको ३० मेगावाट बिजुली बन्द भइसकेको छ । टनकपुरबाट विद्युत् आयात बन्द भएपछि केन्द्रीय प्रसारण लाइनमार्फत पश्चिम नेपालतर्फ खपत हुने विद्युत् पूर्वतर्फबाट पठाइएको छ, जसले गर्दा काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका प्रमुख सहरमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरण स्रोतले बताएको छ ।
यही डिसेम्बरमा पिपिएको म्याद सकिने भएपछि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको भविष्यसमेत अन्योलमा परेको छ । नयाँ सरकार गठन नभएको अवस्थामा कामचलाउ सरकारले राष्ट्रिय महत्व धेरै राख्ने निर्णय गर्न असम्भव हुने भन्दै ऊर्जामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले जोखिम लिन चाहेनन् । सोही कारण जेएससीको बैठक स्थगित भएको मन्त्रालय स्रोतले बताएको छ ।
तर, जेएससीको प्राविधिक समितिले तयारी पूरा नगर्दा नेपाली पक्षकै आग्रहमा बैठक रोकिएको ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । ‘विद्युत् खरिद–बिक्री, क्रस बोर्डर प्रसारणलाइनको विषयमा प्राविधिक समितिको गृहकार्य बाँकी रहेको थियो,’ सचिव घिमिरेले भने,’ ‘ढल्केबरबाट आयात भइरहेको विद्युत्को विषयमा कुरा नमिल्दा बैठक केही समय स्थगित भएको हो ।’ नयाँ सरकार नबनेसम्म बिजुलीको मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय गर्न उचित नहुने भन्दै अहिलेलाई बैठक स्थगित गरिएको स्रोतको भनाइ छ । उनका अनुसार भारतको पिटिसी र एनबिबिएनसित यो समस्या समाधानका लागि छलफल भइरहेको छ ।
नेपालले टनकपुर नाकाबाट प्रतियुनिट ५.६८ रुपैयाँ (३.५५ भारु)मा बिजुली खरिद गर्दै आएको थियो । त्यस्तै, ढल्केबरबाट भने प्रतियुनिट ५.७६ रुपैयाँ (३.६० भारु)मा आयात गर्दै आएको छ । भारतीय विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को भाउ केही महिनादेखि बढ्दै आएको छ । पेटकोकबाट विद्युत् उत्पादन बन्द भएपछि जलविद्युत् तथा ऊर्जाबाट उत्पादित बिजुलीको भाउ बढेको हो । नेपालले हाल भारतका विभिन्न नाकाबाट करिब ३ सय मेगावाट बिजुली आयात गरिरहेको छ ।
लोडसेडिङको सम्भावना बढ्यो
भारतबाट बिजुली आयातमा कमी भएसँगै नेपालमा लोडसेडिङको सम्भावना उच्च भएको छ । विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुरबाट नियमति रूपमा आयात गरिरहेको १ सय ६० मेगावाट विद्युत् खरिद सम्झौता (पिपिए)को म्याद सकिएसँगै लोडसेडिङ हुने सम्भावना भएको हो । नेपाली पक्ष मूल्यवृद्धि नगराई पुरानै दरमा खरिद गर्ने पक्षमा र भारतीय पक्ष जसरी भए पनि मूल्य बढाउने पक्षमा रहेका कारण बिजुली आयातको टुंगो लागेको छैन । नेपालमा लोडसेडिङ हुन नदिन वा हरसम्भव कम गर्न प्राधिकरणले प्रयास गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ढल्केबरबाट आयात गरिने विद्युत्मा पुरानै दर कायम गर्न पहल गरिने उनले बताए ।
प्रतिक्रिया