बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
सारांश
- न्युरोडमा गिटी विछ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिन ।
- यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी पो बनाउने रहेछन् ।
- ’ न्युरोडमा पिच गर्न पोखरा महानगरपालिकाले गिट्टी छरेपछि माधव पहारीले सामाजिक सञ्जाल फेसबुकमा यसरी ब्यंग्य गरे ।
न्युरोडमा गिटी विछ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिन । यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी पो बनाउने रहेछन् ।’
न्युरोडमा पिच गर्न पोखरा महानगरपालिकाले गिट्टी छरेपछि माधव पहारीले सामाजिक सञ्जाल फेसबुकमा यसरी ब्यंग्य गरे । उनीजस्तै थुप्रै पोखरेलीले न्युरोडमा अहिले भइरहेको कामप्रति जिज्ञासा तथा प्रश्न उठाएका छन् ।
न्युरोडमा छरिएको गिट्टीका कारण महानगरपालिका एक कर्मचारीकै मोटरसाइकल पल्टियो । थुप्रै सर्वसाधारण यस्तै जोखिममा छन् भने त्यहाँ उडेको धुलोले धेरैले सास्ती खेप्नुपरेको छ ।
पोखरा महानगरपालिकाले अहिले न्युरोडमा किन यसरी गिट्टी छरिरहेको छ त ? वरिष्ठ इन्जिनियर शारादामोहन काफ्ले भन्छन्, ‘यसलाई रोड मेन्टिनेन्स सर्फेस ड्रेसिङ भनिन्छ । बाटोको गिट्टी उप्किएर नजाओस्, चर्किएको ठाउँमा टालियोस् भनेर यसो गरिन्छ ।
यसमा पहिले विटमिन (अलकत्रा) हाल्ने र बल्ल त्यसमाथि गिट्टी हाल्ने हो । सडकमा छरिएको गिट्टीको केही प्रतिशतमात्र विटमिनको मद्दतले रोडमा टाँसिन्छ ।’ घरमा छाना चुहियो भने टालटुल गर्ने र त्यसको आयु बढाउने जस्तै सडकको आयु बढाउन सर्फेस ड्रेसिङ गरिने काफ्लेले बताए ।
छरिएको गिट्टीमध्ये २५ प्रतिशतमात्र सडकमा टाँसिन्छ भने ७५ प्रतिशत गिट्टी बडाहारेर व्यवस्थापन गर्नेपर्ने हुन्छ । अहिले न्युरोडमा गरिएकोजस्तो सर्फेस ड्रेसिङ गर्दा ४-५ वर्ष सडकको आयु बढ्ने र त्यति नै समयमा यो सडक ड्रेसिङ गर्नुपर्ने हुन्छ । सडक डिभिजन कार्यालयले यही काम ४-५ वर्ष पहिले नयाँ बजारमा पनि गरेको थियो ।
तर, चैत मसान्तभित्रै सक्नुपर्ने यो काम बल्ल अहिले आएर सुरु भएको छ । जब वर्षा सुरु हुन्छ, तबमात्रै नयाँ सडकको नयाँ ट्याक खोल्नेदेखि सडक कालोपत्रे गर्ने काम धमाधम हुन थाल्छ । त्यही नियती अहिले पोखरामा भाग्नुपरेको छ ।
चैत मसान्तभित्रै काम सक्ने गरी ०७३ साउन १३ गते विराट एन्ड विशाल सिमरन जेभी कम्पनीलाई महानगरपालिकाले ठेक्का सम्झौता दिएको थियो । तर, चैत मसान्तभित्रै काम सक्नुपर्ने सडकको काम बल्ल अहिले आएर सुरु भएको हो । चैतमा दसैंसम्मको लागि समझौता थप गरेर अहिले काम थालिएको हो ।
महानगरपालिकाले न्युरोड, सिद्धार्थचोकदेखि महेन्द्रपुल, रानीपौजादेखि काहुँ खोलासम्मको केही भाग गरी १९ हजार ३ सय २० वर्गमिटर सडकको काम गर्न महानगरपालिकाबाट करिब ९० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सिद्धार्थचोकदेखि महेन्द्रपुलसम्म यसपाली त्यो काम नहुने तर त्यसको सट्टामा अरु सडकको काम गर्ने बताइएको छ ।
ठेकेदार कम्पनीले सर्फेस ड्रेसिङ गर्ने आफूहरुसँग सामाग्री नै नभइकन ठेक्का लिँदा ढिलाइ भएको छ । समयमै काम नसक्ने भएपछि किन ठेक्का लिएको त ? ठेकेदार कम्पनीका बलबहादुर रानाले भने, ‘यो काम गर्नका लागि चाहिने सबै उपकरण हामीसँग थिएन । बाहिरबाट ल्याउनुपर्ने हुँदा ढिला भयो ।’ ठेकेदार कम्पनीको हेलचेक्य्राइँका कारण काममा ढिलाइ भएको हो ।
ठेकेदार कम्पनीले लामो समय काम सुरु नगरेपछि नगरपालिकाले पटकपटक ताकेतासमेत गरेको थियो । तर, काम सक्ने सम्झौताको समय सकिनुभन्दा केही दिन अघिमात्र ठेकेदार कम्पनीले म्याद थप गर्न नगरपालिकालाई अनुरोध गरेको थियो ।
ठेकेदार कम्पनीहरुले विकास निर्माणमा राज चलाउने र सरकारी तबरबाट पनि कारबाही तथा कडाइ नहुँने बरु कर्मचारी नै सहयोगी बनिदिँदा बर्षायाममा कम गुणस्तरीय काम हुने गरेको नगरपालिकाकै कर्मचारी बताउँछन् ।
यो काम गर्न अहिलेको मौसम पनि उपयुक्त नभएकाले गुणस्तरीय काम नहुने देखिएको छ । सर्फेस ड्रेसिङ गर्न भुँइको तापक्रम कम्तमिा १५ देखि २० डिग्री हुनुपर्छ । अहिले तारन्तार पानी परिरहेकोले कहिले काम रोकिने त कहिले सुरु गर्ने भइरहेको छ ।
ठेकेदार कम्पनीले दसैंसम्म सक्ने गरी जिम्मा लिएको काममध्ये अहिलेसम्म जम्मा २३ प्रतिशतमात्रै काम सकेको छ । यो काम गर्न चैतदेखि जेठसम्मको समय उपयुक्त मानिन्छ । तर वर्षातको समयमा काम सुरु हुने हुँदा सडक गुणस्तरको नबन्ने र चाँडै बिग्रने प्राविधिकहरु बताउँछन् ।
प्रतिक्रिया