बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर
सारांश
- काठमाडौं।
- काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ।
- महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ।
काठमाडौं। काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ। महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ।जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो। बैङ्किङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ।
उपत्यकामा आव २०७४र०७५ मा ४८७ र आव २०७३र०७४ मा १० जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको थियो। यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैङ्किङ कसुरमा मुद्दा चल्दै आएको छ। कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताउँछन्। “पहिला सहमतिमा कारोबार गर्यो, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ,”–उनी भन्छन्। खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैङ्किङ कसुरमा मुद्दा चलाइने गरेको छ।
केही समय अगाडि देवानी हक अन्तर्गत बैङ्किङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैङ्किङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो । मुलुकभर आर्थिक वर्ष २०७५र०७६ मा दुई हजार ६२० जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको थियो । यस्तै आव २०७४र०७५ मा ७७६ र आव २०७३र०७४ मा ९३ जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रतिक्रिया