बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
सारांश
- काठमाडौं ।
- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् ।
- नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए ।
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए ।
सरकारी विद्यालयमा अंग्रजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको बताए । संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको बताउँदै अल्पसंख्यक, बहुसंख्यक सबैले बोल्ने भाषाको महत्व उत्तिकै हुने बताए ।
“भाषा र संस्कृति नहुँदा भूगोलले मात्रै देश रहँदैन”, उनले भने, “भाषा संरक्षण र प्रवद्र्धनका लागि एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ ।” प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मातृभाषा संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले आठ वर्षदेखि मातृभाषामा कविता गोष्ठी गर्दै आएको बताए ।
प्रतिष्ठानका पूर्वउपकुलपति वैरागी काइँलाले नेपालको पहिरन, वाद्ययन्त्र र भूगोल विविध भएकै कारण सुन्दर भएको बताए । शताब्दी पुरुष सत्यमोहन जोशीले बगैँचामा एउटा सेतो फूल मात्रै हुँदा सुन्दर नभए पनि त्यही विभिन्न रङ्का फूल हुँदा सुन्दरता थपिएजस्तै नेपालमा विभिन्न जाति र तीनका भाषाले देश सुन्दर बनाएको बताए ।
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनस्को) ले सन् १९९९ मा गरेको निर्णयअनुसार सन् २००० देखि फेब्रुअरी २१ मा यो दिवस मनाउन थालिएको हो । नेपालले ८ वर्षदेखि मातृभाषा दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया