ब्रैथवेटको सतकले जोगाउन सकेन वेस्ट इण्डिजलाई, न्युजिल्याण्ड शीर्ष स्थानमा
सारांश
- एजेन्सी ।
- न्युजिल्याण्ड इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
- शनिबार राति भएको खेलमा वेष्ट इण्डिजलाई ५ रनले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
एजेन्सी । न्युजिल्याण्ड इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वेष्ट इण्डिजलाई ५ रनले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
म्यानचेस्टरमा न्युजिल्याण्डले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४९ ओभरमा अलआउट हुँदै २ सय ८६ रनमा समेटियो । वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले १ सय १ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै क्रिस गेलले ८७ रनको अर्धशतकीय इनिङ्स खेल्दा शिम्रन हिटमायरले ५४ रन बनाए ।
न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ तथा लक्की फर्गुसनले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियमसनले शतकीय इनिङ्स खेले । खराब सुरुवात गरेको न्युजिल्याण्डको लागि विलियमसनले १ सय ४८ रन बनाए ।
यस्तै रस टेलरले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । जेम्स निशम २८ तथा कोलिन डी ग्राण्डहोमेले १६ रन बनाए । वेष्ट इण्डिजका सेल्डोन शेन कोट्रेलले ४ विकेट लिए । यस्तै कार्लोस ब्रैथवेटले २ र क्रिस गेलले १ विकेट लिए । जितसंगै न्युजिल्याण्डले ६ खेलबाट ११ अंक जोडेको छ । पराजित वेष्ट इण्डिजले ६ खेलबाट ३ अंक जोडेको छ ।
प्रतिक्रिया