भत्ताकै भरमा राउटे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
भत्ताकै भरमा राउटे

सारांश

  • शेरबहादुर सिंह डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहनुभएको छ ।
  • कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्ने राउटे समु्दायकी किणीदेवी बस्तीमा आएयता गाउँलेसँग सुमधुर सम्बन्ध रहेकोप्रति हर्षित हुनुहुन्छ ।
  • “जङ्गलबाट आएको भनेर हेला गर्छन् कि भन्ने पीर थियो”, उहाँले भन्नुभयो,“अब त खेतीपाती र मजदूरी गरेरै दिन बितिरहेको छ ।

शेरबहादुर सिंह
डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहनुभएको छ ।

कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्ने राउटे समु्दायकी किणीदेवी बस्तीमा आएयता गाउँलेसँग सुमधुर सम्बन्ध रहेकोप्रति हर्षित हुनुहुन्छ । “जङ्गलबाट आएको भनेर हेला गर्छन् कि भन्ने पीर थियो”, उहाँले भन्नुभयो,“अब त खेतीपाती र मजदूरी गरेरै दिन बितिरहेको छ ।”

उहाँले समाजमा बसोवास थालेसँगै विभिन्न आयमूलक काम र मजदूरीमा लाग्न स्थानीयवासीले प्रेरित गर्ने गरेको बताउनुभयो ।“दुई छोरा भारतको लोहाघाटमा मजदूरी गर्छन्”, उहाँले भन्नुभयो, “श्रीमान् गाउँघरमै ज्याला मजदूरी गर्नुहुन्छ ।”

कञ्चनपुरमा राउटे समुदायको तीन परिवारको मात्रै बसोवास रहेको छ । यहाँ बसोवास गर्दै आएका राउटे समुदायका अधिकांश पुरुष अहिले जीवन निर्वाह गर्न मजदूरी गरिरहेका छन् । “मजदूरीको पैसाले सामान्य खर्च चलेपनि हाम्रो घरको खर्च मुख्य रुपमा सरकारबाट पाइने राउटे भत्ताबाट टरेको छ”, किणीदेवीले रासससँग भन्नुभयो,“नियमित रुपमा भत्ता पाइरहेकै हुनाले घरको दाल, चामल चलेको छ ।”

पछिल्लो समय बस्ती छेउछाउका वन सामुदायिक वनमा रुपान्तरण भएपछि काठको भाँडाकुडा बनाउन पनि समस्या हुने गरेको राउटे समुदायको भनाइ थियो । “हाम्रो घरमा चार जनाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता पाउछौं”, उहाँले भन्नुभयो,“भत्ता नपाउने भए फेरि जङ्गल पस्नुपर्ने बाध्यता आउने अवस्था थियो ।”

सामाजिक सुरक्षा भत्ताले घरखर्च चलाइरहेका यहाँका राउटे समुदायका लागि केही समयअघि सांसद विकास कोषको रकमबाट प्रतिनिधीसभा सदस्य डा दिपकप्रकाश भट्टले भीमदत्तनगरपालिका–९ बटेनामा करबीर राउटेलाई दुई कोठे पक्की घर समेत निर्माण गरिदिनुभएको वडा कार्यालयले जनाएको छ ।

स्थानीय कमला राउटेले बस्तीमा घर बनाउन मात्रै जग्गा रहेको दुखेसो पोख्दै खानेपानीको निकै समस्या हुने गरेको बताउनुभयो । “पानी नहुँदा खेतमा पनि अन्न फलाउन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “राउटेलाई आयमूलक कामका लागि सीपमूलक तालीम पनि दिनुप¥यो ।” उहाँले राउटे समुदायका बालबालिका अझै विद्यालय जान नसकिरहेको बताउनुभयो ।

“विद्यालय जानुपर्छ भन्ने चेतना नै अझै फैलाउन सकिएको छैन”, उहाँले भन्नुभयो,“केही वर्ष विद्यालय गएका बालबालिका अहिले गाउँमा त्यसै डुल्दैछन ।” दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हँुदै कञ्चनपुरको खल्लामसेटी बसाइँ सरेका ६७ वर्षीय जयलाल राउटेले केही समयअघि भत्ता नियमित नआउँदा समस्या भएको बताउनुभयो ।

“भत्ता केही महिना ढिलो आउँदा घरमा छाक टार्नसमेत समस्या भयो”, उहाँले भन्नुभयो,“पैसा नहुँदा पसलमा उधारोमा सामान माग्न पनि गाह्रो लाग्छ ।” विसं २०५८ मा बसाइँ सरी यहाँ आएका बड्सिंह राउटेले पनि परिवारको खर्च भत्ताले चलेको बताउनुभयो । “पाएभने गाउँघरमै ज्यालामजदूरी पनि गर्छु”, उहाँले भन्नुभयो, “सरकारले लोपोन्मुख जातीलाई अझै सुविधा दिनुपर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?