भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो
सारांश
- २१ कात्तिक, चितवन ।
- सरकारले चितवन राष्ट्रियको बाटो भएर यात्रा गर्दा लिने शुल्क हटाएको छ ।
- मन्त्रीपरिषदको सोमवार बसेको बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको हो ।
२१ कात्तिक, चितवन । सरकारले चितवन राष्ट्रियको बाटो भएर यात्रा गर्दा लिने शुल्क हटाएको छ ।
मन्त्रीपरिषदको सोमवार बसेको बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको हो । वन तथा भूसंरक्षण मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले माडीका स्थानीयले निकुञ्ज प्रवेशमा तिर्दै आएको शुल्क हटाएको हो ।
निकुञ्जपारीको वस्तीका रुपमा परिचित जिल्लाको माडी नगरपालिकाका वासिन्दा सदरमुकाम भरतपुरबाट प्रत्येक पटक घर जाँदा र आउँदा निकुञ्जलाई शुल्क तिर्नुपर्ने सास्ती झेल्दै आएका थिए ।
निकुञ्ज र जंगली जनावरका कारण सास्ती भोग्दै आएका तिनै माडीवासी निकुञ्ज आवतजावत गर्दा पैसा तिर्न बाध्य थिए ।
निकुञ्जको बाटो प्रवेश गर्ने र बाहिरिने दुई पांग्रे सवारीले एक पटकमा मूल्य अभिबृद्धि कर सहित साना सवारीको ११ रुपैयाँ ३० पैसा तिर्नुपर्ने भएपनि राजश्व संकलन गर्ने कर्मचारीले १५ रुपैयाँ लिने गरेका थिए ।
ठूला सवारीमा मूल्य अभिबृद्धि करसहित ५६ रुपैयाँ ५० पैसा हुने भएपनि ६० रुपैयाँ लिने गरिएको थियो । माडी क्षेत्रमा सोही बाटो प्रयोग भएर दैनिक ३५ भन्दा बढी ठूला सवारी र एक सयभन्दा बढी मोटरसाइकल आवतजावत गर्ने माडीका अगुवा श्रीप्रसाद दवाडीले जानकारी दिए ।
माडी जाने करीव ९ किलोमिटर बाटो निकुञ्जभित्र पर्दछ । माडी जाने एक मात्र सडक यहि नै हो । माडी क्षेत्रमा ४० हजारभन्दा बढी जनसंख्या बसोबास गर्दछन् । सोही बाटो हुँदै ठोरीसम्म जान सकिन्छ ।
प्रतिक्रिया