को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
सारांश
- काठमाडौं, ८ भदौ ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा नेतृत्व चयनका लागि गृहकार्य गरिरहेको छ ।
- सातवटा प्रदेशमध्ये २ वटा प्रदेश कमिटीको अध्यक्षको टुंगो नै लागिसकेको छ भने अन्य ५ वटा प्रदेशमा अध्यक्षका आकांक्षी धेरै भएपछि सहमतिमा साझा नाम सिफारिस गर्न कार्यदल असफल भएका छन् ।
काठमाडौं, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा नेतृत्व चयनका लागि गृहकार्य गरिरहेको छ । सातवटा प्रदेशमध्ये २ वटा प्रदेश कमिटीको अध्यक्षको टुंगो नै लागिसकेको छ भने अन्य ५ वटा प्रदेशमा अध्यक्षका आकांक्षी धेरै भएपछि सहमतिमा साझा नाम सिफारिस गर्न कार्यदल असफल भएका छन् ।
प्रदेश ७ को कार्यदलले जिल्ला कमिटी, जिल्ला सचिवालय, जिल्ला कार्यालय, प्रदेश कमिटी, प्रदेश सचिवालय र प्रदेश कार्याालयको समेत एकीकरण गरेको छ । कार्यदलले प्रदेश अध्यक्षमा तत्कालीन एमालेका पोलिटव्युरो सदस्य कर्णबहादुर थापा र सचिवमा तत्कालीन माओवादी केन्द्रका लक्ष्मीप्रसाद जोशीको नाम सिफारिस गरेको छ ।
प्रदेश र मातहत कमिटी एकीकरणमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र लेखराज भट्टले अभिभावकीय भूमिका खेलेकाले सबै विषय सहजरुपमा समाधान भएको अध्यक्षमा प्रस्तावित थापाले बताए । अब प्रदेश इन्चार्ज र सहइन्चार्ज पार्टी केन्द्रीय कमिटीले तय गर्नेछ । प्रदेश ७ का ९ मध्ये ५ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ४ को नेतृत्व तत्कालीन माओवादी केन्द्रले लिने सहमति भएको छ ।
प्रदेश नेतृत्व सिफारिस गर्नेमा प्रदेश ५ पनि परेको छ । प्रदेश ५ को कार्यदलले भने अध्यक्षमा तत्कालीन एमाले र तत्कालीन माओवादीबाट एक÷एक जनाको नाम सिफारिस गरेको छ । प्रदेश बाँडफाँड गर्दा तत्कालीन एमालेले अध्यक्ष पाएमा दलबहादुर राना मगर र माओवादीले पाएमा गणेशमान पुन बन्ने समझदारी भएको कार्यदलका सदस्य मणि थापाले जानकारी दिएका छन् ।
कार्यदल सदस्य थापाका अनुसार प्रदेश कमिटी अध्यक्ष कसले पाउने भन्ने तय भएपछिमात्र सचिव तय गरिनेछ । प्रदेश कमिटी इन्चार्जमा घनश्याम भुसाल, छबिलाल विश्वकर्मा र मणि थापामध्ये एक हुनेछन् । यद्यपि इन्चार्ज कार्यकारी पद नभएकाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि इच्छुक रहेको बताइएको छ ।
प्रदेश ७ र ५ बाहेक अन्य प्रदेशले भने अध्यक्षको नाम सिफारिस गर्न अझै सकेका छैनन् । कतिपय प्रदेश कार्यदलमा त अध्यक्षका आकांक्षीको बारेमा छलफल समेत भएको छैन । ७ वटा प्रदेशमध्ये तत्कालीन एमालेले ४ र तत्कालीन माओवादी केन्द्रले ३ प्रदेशको नेतृत्व पाउने समझदारी यसअघि नै भइसकेको छ । जसमध्ये एमालेले प्रदेश १, ३, कर्णाली र ७ नम्बर प्रदेशको अध्यक्ष पाउने छ । त्यस्तै, माओवादीले २, ४ र ५ नम्बरको नेतृत्व पाउने सम्भावना छ । सोही समझदारी बमोजिम प्रदेश ७ को अध्यक्षमा तत्कालीन एमालेका नेता कर्ण थापाको मात्र नाम सिफारिस भएको हो ।
प्रतिक्रिया