भारतका २२ राज्यमा नौ दिन ‘लकडाउन’, नेपाल-भारत सीमा पनि बन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १०, २०७६
|
|
२१ पटक हेरिएको
Shares
भारतका २२ राज्यमा नौ दिन ‘लकडाउन’, नेपाल-भारत सीमा पनि बन्द

सारांश

  • बीबीसी।
  • भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ।
  • नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय गरेको छ।

बीबीसी। भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ।

नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय गरेको छ। भारतको राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागु भयो। तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।

यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म ‘जनता कर्फ्यू’ लागु गरिएको थियो। आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गर्‍यो।

कोरोनाभाइरस सङ्क्रमण भेटिएका स्थानमा ती प्रतिबन्ध लागु हुनेछन्। मन्त्रिपरिषद्‌को निर्णयानुसार नेपाल-भारत सीमाबाट सोमवार १० बजेदेखि चैत १६ गतेसम्म यात्रु प्रवेश गर्न पाउनेछैनन्। तर वस्तुको प्रवेशमा कुनै रोक लाग्नेछैन।

बालुवाटारमा आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधिका लागि नेपालका सबै अन्तर्राष्ट्रिय सीमाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ।

“वस्तुको सीमा वारपार नियमित हुन्छ, यात्रुको मात्र आवागमन मात्र स्थगन गरेका हौँ,” ‍खतिवडाले भने। “यो सङ्क्रमण धेरै व्यक्तिको आवतजावतबाट र सीमा पार गर्नेबाटै सिर्जना हुने भएकाले अहिले उत्पन्न विषय र छिमेकी मुलुकहरुको हितलाई ध्यानमा राखेर आवागमन स्थगित गर्ने निर्णय भएको हो।”

सरकारले कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि एउटा कोष बनाउने निर्णय गरेको छ। त्यसका लागि सरकारले ५० करोड रुपैयाँबाट छुट्याएको छ।

लकडाउन भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ।

अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्। भारतमा लागु गरिएको लकडाउन अनुसार त्यहाँ सार्वजनिक यातायात बन्द रहनेछ। तर केही राज्यले भने एकचौथाइ सरकारी बस चल्ने बताएका छन्।

सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन्। एक राज्यबाट अर्को राज्य जाने बस तथा रेल सेवा बन्द गरिने। साथै सबै धार्मिक तथा सामाजिक कार्यक्रम रद्द गरिनेछन्।

सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल खुला रहने भारत सरकारले जनाएको छ। साथै बिजुली, पानी, इन्टर्नेट ब्याङ्किङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमलाई पनि काम गर्न दिइनेछ।

पेट्रोल पम्प, औषधि पसल तथा दुग्ध सेवा जारी रहनेछन्। भारत सरकारका अनुसार हाल त्यहाँ ३५० जनामा कोरोनाभाइरस सङ्क्रमण पाइएको छ भने सात जनाको ज्यान गइसकेको छ।

यसबीच पाकिस्तानमा अधिकारीहरूले दक्षिणी सिन्ध प्रान्तमा मध्यरातदेखि दुई सातासम्मका निम्ति आवतजावतमा प्रतिबन्ध घोषणा गरेका छन्।

कराँची तथा उक्त प्रान्तका अन्य क्षेत्रमा मानिसहरूलाई अत्यावश्यक कामका लागि बाहेक घरबाहिर ननिस्कन भनिएको छ। पाकिस्तानमा ६८० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। तिनको आधा सङ्ख्या सिन्ध प्रान्तमा पाइएको छ।

श्रीलङ्कामा प्रहरीले सप्ताहान्तमा लगाइएको कर्फ्यू उल्लङ्घन गरेकोमा झन्डै ८०० जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यहाँ हालसम्म ८० जनामा सङ्क्रमण भेटिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?