मञ्चमा उभिएर सभामुख महराले फोटो खिचेपछि…
सारांश
- काठमाडौं, १३ बैशाख ।
- सभामुख कृष्णबहादुर महराले हजारौं शब्द एउटै तस्वीरले बोल्ने बताएका छन् ।
- राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ वितरण समारोहलाई सम्बोधन गर्दै सभामुख महराले तस्वीरको शक्ति र प्रभावको चर्चा गर्दै यस्तो बताएका हुन् ।
काठमाडौं, १३ बैशाख । सभामुख कृष्णबहादुर महराले हजारौं शब्द एउटै तस्वीरले बोल्ने बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ वितरण समारोहलाई सम्बोधन गर्दै सभामुख महराले तस्वीरको शक्ति र प्रभावको चर्चा गर्दै यस्तो बताएका हुन् ।
“हज्जारौं शब्द एउटा तस्वीरले बोल्छ”, सभामुख महराले भने, “तस्बिर यति शक्तिशाली हुन्छ कि हजारौं शब्दले व्यक्त गर्न नसकिने कुरा एउटै तस्वीरबाट प्रष्ट भइदिन्छ ।” तस्वीरमा सत्यतथ्यहरु आफै बोल्ने भन्दै महराले त्यसले समाज, देश, राजनीतिको वास्तविकता देखाइदिने बताए । फोटो पत्रकारिताले इतिहास जोगाउने निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सभामुख महराले तस्वीरहरु आफ्नो समयको इतिहास भएको बताए ।
“तपाईं फोटो पत्रकारहरुले इतिहास जोगाउने निकै महत्वपूर्ण जिम्मेवारी पूरा गरिरहनुभएको छ”, उनले भने, “समाजको वास्तविक चित्र उतार्न र इतिहास साक्षी राख्न आफ्नो काममा सक्षम र सफल हुनुहोस्, मेरो शुभकामना छ ।” लामो समय फोटो पत्रकारिता गरेर योगदान पु¥याएका वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै सभामुख महराले फोटो पत्रकारिताको माध्यमबाट पु¥याएको योगदानको कदर गरेकोमा खुसी व्यक्त गरे ।
“अथक मेहनत र दुःख कष्ट सहेर लामो समय फोटो पत्रकारितामा मेहनत गर्नुभएका गोपाल चित्रकारलाई सम्मान गर्न पाउँदा मलाई निकै खुसी लागेको छ”, सभामुख महराले भने, “उहाँले विगतमा थुप्रै जोखिमहरु मोलेर फोटो पत्रकारिताको बाटो देखाउनु भयो र अहिले यति ठूलो समूह फोटो पत्रकारिताको क्षेत्रमा होमिएको छ । उहाँको योगदानको फोटो पत्रकार समूहले सही मूल्याङ्कन गरेकोमा मलाई खुसी लागेको छ ।”
समारोहमा ग्लोबल आइएमई लाइफ टाइम अचिभमेन्ट अवार्डका साथै विभिन्न १२ वटा विधामा उत्कृष्ट फोटो पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । फोटो पत्रकार समूहका अध्यक्ष ध्रुव आलेको अध्यक्षतामा भएको अवार्ड वितरण समारोहको उद्घाटन प्रमुख अतिथि सभामुख कृष्णबहादुर महराले फोटो खिचेर गरेका थिए ।
प्रतिक्रिया