मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
सारांश
- उमेश बञ्जाडे मलेशिया, १३ साउन ।
- इच्छा र चाहनाको भेलबाढीसहित सहयोगी मनहरु जुटेमा जस्तोसुकै अक्करहरु पनि सहजै पार लाग्छन् ।
- समय र परिस्थितिलाई दोष थुपार्ने बतास चलेको यो बखत मलेसियामा पसिना बगाइरहेका नेपाली युवाहरुले धन हुने तर मन नहुनेहरुलाई व्यबहारबाटै चुनौती दिएका छन् ।
उमेश बञ्जाडे
मलेशिया, १३ साउन । इच्छा र चाहनाको भेलबाढीसहित सहयोगी मनहरु जुटेमा जस्तोसुकै अक्करहरु पनि सहजै पार लाग्छन् । समय र परिस्थितिलाई दोष थुपार्ने बतास चलेको यो बखत मलेसियामा पसिना बगाइरहेका नेपाली युवाहरुले धन हुने तर मन नहुनेहरुलाई व्यबहारबाटै चुनौती दिएका छन् ।
दिनभर साहुको मजदुरीमा हत्केला घोटेर जोहो गरेको रकमबाट केही भाग छुट्याएर दुःखमा परेका एक नेपाली युवाको जीवन रक्षाका लागि सहयोग गरेका छन् । यिनै श्रमिकहरुको सक्दो सहयोगमा लक्ष्यनजिक पुगेको “दिलबहादुर घर्ती बचाउ आर्थिक संकलन अभियान मलेसिया” ले आफ्नो अभियानको विधिवत अन्त्य गरेको छ । आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा एक कार्यक्रमका बीच अभियान समापन गरिएको हो ।
ब्लडमनि तिर्न नसक्दा साउदीमा जेलजीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीलाई बचाउने उद्देश्यले अभियानको थालनी गरिएको थियो । नेपालका विभिन्न ठाउँबाट रोजगारीको लागि मलेसिया आएका श्रमिकहरुको प्रयत्नमा हालसम्म साढे ६ लाख बढी नेपाली रकम पीडितका श्रीमती मनिका घर्तिको खातामा पठाइएको अभियानका सदस्य रुपधन घर्ती “सुकुमार”ले जानकारी दिए ।
दिलबहादुर घर्तीलाई साउदी अरबको अदालतले सवारी दुर्घटनाका कारण स्थानीय नागरिकको ज्यान गएको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो । नेपाली जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेको रोहबरमा अभियानको समापन गर्दै अन्तिम किस्तास्वरुप नेपाली १ लाख २६ हजार ७ सय ६४ रुपैयाँ पीडित दिलबहादुरकी श्रीमती मनिका बुढा मगरको नाममा पठाइएको हो । पहिलो र अन्तिम किस्ता गरेर जम्मा ६ लाख ७५ हजार ९ सय ६३ रुपैयाँ पीडितका श्रीमती मनिकालाई हस्तान्तरण गरिएको मलेसियास्थित मूल समितिका सदस्य अर्जुन घर्ती मगरले जानकारी दिए ।
अभियानमा हरेक हिसाबले हातेमालो गर्नुहुने सहयोगी हात र अभियानलाई सहयोग पुगोस् भन्ने हेतुले रकम सम्प्रेषण गरेबापत लाग्ने शुल्क नलिई निःशुल्क रकम पठाउन सहयोग गर्ने मलेसियास्थित आईएमईलाई दिलबहादुर घर्ती बचाउ अभियान मलेसियाले कृतज्ञता व्यक्त गरेको छ । साथै समापनसम्म आउँदा अभियानलाई सहयोग पुराउने सहयोगीहरुको विवरण यसरी उल्लेख गरिएको छ ।
Umesh Banjade
हार्दिक धन्यवाद शिखर न्युज परिवार !