माडीबासीले प्रचण्डलाई माफी दिए त !?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
माडीबासीले  प्रचण्डलाई माफी दिए त !?

सारांश

  • काठमाडौं, मंसिर २६ –पात्रोको पाना पल्टिँदै जाँदा घाउमा खाटा बस्छन् र हराउँछन् खाटाको आकार पनि ।
  • भुल्दै जानु मान्छेको बानी हो ।
  • यही बानीले दिएको छ मान्छे अघि बढ्ने आँट, पीडाबाट माथि उठ्ने र नयाँ दैनिकी सुरु गर्ने शक्ति पनि ।

काठमाडौं, मंसिर २६ –पात्रोको पाना पल्टिँदै जाँदा घाउमा खाटा बस्छन् र हराउँछन् खाटाको आकार पनि । भुल्दै जानु मान्छेको बानी हो । यही बानीले दिएको छ मान्छे अघि बढ्ने आँट, पीडाबाट माथि उठ्ने र नयाँ दैनिकी सुरु गर्ने शक्ति पनि ।

तर केही घटना यस्ता हुन्छन् घाउमा खाटा बस्दा पनि पीडा घट्दैन, बरु समयसँगै पीडाको आकार बढ्दै जान्छ । र, कतिपय अवस्थामा पुस्तान्तरण समेत हुन्छ । यस्तै घटना हो, बाँदरमुढे । नेकपा माओवादीका अध्यक्षले बाँदरमुढे र त्यस घटनाका पीडित समेतले भोट हालेको क्षेत्रबाट चुनाव जितेपछि बाँदरमुढे पीडा फेरि बल्झिएको छ ।

बाँदरमुढे घटना

२०६२ सालको जेठ २३ गते चितवनको तत्कालीन माडी गाविस (अहिले माडी नगरपालिका) को कल्याणपुर बजार र बसन्तपुर बजारको बिचमा रहेको बाँदरमुढे खोला नजिक युद्धरत तत्कालीन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परि ३८ जनाको ज्यान गयो । ७२ जनाघाइते भए ।

माओवादीले सेनालाई लक्षित गरेर थापेको धरापमा सर्वसाधारण नागरिक चढेको ना २ ख ३२४५ नम्बरको बस पर्‍यो । सदरमुकाम भरतपुर हिँडेका केही यात्रुको जीवन घटनास्थलमै सकियो । धेरैको बाटोमा ज्यान गयो । र बाँचेकाहरुको जिन्दगी अस्पतालतिर मोडियो । त्यस दिनदेखि आजसम्मै बाँदरमुढेले माओवादीलाई पछ्याइरहेको छ र धेरैको परिवारमा रुवाबासी रोकिए पनि शोक र पीडा यथावात छ ।

बाँदरमुढे घटना भएको १० महिना १ दिन पूरा भएको दिन (२०६२ चैत २४) देखि सुरु भएको जनआन्दोलनपछि माओवादी मुलधारको राजनीतिमा आयो । तर द्वन्द्वकालको अन्त्यतिर भएको बाँदरमुढे घटनाले माओवादीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आलोचित बनायो, बनाइरहेको छ । यसै बेला प्रचण्डले चितवन ३ बाट जित्नु भएको छ । तर, अहिलेको शान्तिपूर्ण राजनीतिक परिवर्तनका महत्वपूर्ण नेता प्रचण्डलाई सशस्त्र युद्धका कमाण्डरका रुपमा बाँदरमुढे घटनाले खिल बनेर पछ्याइरहेको छ र पछ्याइरहनेछ ।

प्रचण्डको माफी

घटना भएको १२ वर्षको बिचमा माओवादी अध्यक्ष प्रचण्डले धेरैपटक बाँदरमुढे जाने प्रयास गरेको सुनियो । तर विभिन्न कारणले उहाँ माडी पुग्नु भएको थिएन । घटनामा निधन भएकाको सम्झनामा बाँदरमुढेमा स्मृति पार्क बन्यो । त्यो पार्क उद्घाटन गर्न निम्तो पाएर पनि उहाँ माडी पुग्नु भएन । घटनाका प्रभावितहरु पीडा बोकेरै नियमित जीवनमा फर्किए । तर बीच बीचमा बाँदरमुढे बल्झिरह्यो ।

१२ वर्षको सशस्त्र युद्ध र त्यसपछि १२ वर्षकै राजनीतिक प्रयासपछि संविधानसभाबाट बनेको नयाँ संविधानसँगै नयाँ संरचनाको चुनावमा प्रचण्ड चितवनको क्षेत्र नंबर ३ बाट उम्मेदवार बन्न पुग्नुभयो । भरतपुर महानगरपालिकाको अधिकांश क्षेत्र र माडी नगरपालिका रहेको क्षेत्र नम्बर ३ मा चुनावी प्रचारमा व्यस्त प्रचण्डले जानेर वा नजानेर हो १२ वर्षमा नगरेको काम गर्नुभयो माडीका जनतासित माफी मागेर ।

चुनावी प्रचारका लागि माडी जाने क्रममा प्रचण्डले स्मृति पार्कमा रोकिएर घटनामा ज्यान गुमाएकाको प्रतिमामा माल्यार्पण गर्नुभयो । बाँदरमुढे घटना सशस्त्र द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती रहेको स्वीकार गर्नुभयो र माडीबासीसित आश मारिसकेको माफी पनि माग्नुभयो ।

माडीबासीसित भोट माग्न जाँदा बाँदरमुढे घटनाका पीडितले न्याय माग्नका लागि भन्दै बनाएको समितिसँग प्रचण्डले तीन बुँदे लिखित सहमति गनुभयो । बाँदरमुढे घटनाका पीडितले प्रचण्डको स्वागत गरे । पीडितको एक पक्षले अहिले पनि त्यो सहमतिलाई मानेको छैन, तर पनि लामो प्रयासपछि मंसिर १० गते बाँदरमुढे गएर गल्ती स्वीकारेका प्रचण्डलाई माडी समेटिएको चितवन क्षेत्र नम्बर ३ का नागरिकले पत्याए । माडीको विकास र राजनीतिमा राम्रै पकड राख्ने बिक्रम पाण्डेलाई दश हजारको मत अन्तरले जित्नुलाई धेरैले प्रचण्डलाई माडीबासीले दिएको माफीका रुपमा बुझेका छन् ।

प्रचण्डको जितको अर्थ

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई फराकिलो मतान्तरले हराएर प्रचण्डले हासिल गरेको जितले नेपाली राजनीतिमा धेरै अर्थ राख्ला ।

बाँदरमुढे घटनालाई जोडेर हेर्दा यो जितलाई बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई दिएको माफीका रुपमा लिने धेरै छन् । हुन पनि माडीका मतदाताको भोट नपाएको भए प्रचण्डको जितका सुनिश्चित थिएन । किनकी वामपन्थी मतदाताकै भोट बाँदरमुढे घटनाको प्रभावले काटिने सम्भावना थियो । तर प्रचण्डको बठ्याइँ सहितको सहमति, माफी र प्रतिबद्धताले काम गर्‍यो । प्रचण्डले ४८ हजार २ सय ७६ मत ल्याएर जिते । प्रतिस्पर्धी विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत पाए ।

प्रचण्डले एमाले र पाण्डेले कांग्रेसको साथ पाएकाले मतमा प्रभावत पर्‍यो । तर प्रचण्डलाई बाँदरमुढे घटनाले समस्यामा पार्ने देखिएको थियो । अहिले त्यो समस्या जितको अवसर बनेको जस्तो पनि देखिएला, तर प्रचण्डका लागि यो जित साँच्चैको अवसर हो ।

प्रचण्डलाई अवसर र चुनौती

माडी जान १२ वर्षसम्म रोकिएको बाटो यो चुनावले खोलिदिएको छ । त्यसैले घटनाको १२ वर्षपछि प्रचण्ड माडी जानुभयो । बाँदरमुढे घटनाका पीडितसँग वार्ता गर्नुभयो । र, अहिले उनीहरुकै प्रतिनिधि पनि चुनिनु भएको छ ।

बाँदरमुढे घटनास्थल, घटनामा परेका माडी र चितवनबासीको प्रतिनिधिको हैसियतले अब प्रचण्डले द्वन्द्वकालमा भएको सबैभन्दा ठूलो गल्ती सुधार गर्ने अवसर पनि पाउनु भएको छ । पीडितलाई सँगै लिएर अघि बढ्ने मौका आएको छ । तर त्यसका केही पीडित मात्रै होइन सबै पीडितलाई एक बनाएर ल्याउनु र उनीहरुबाट माफी पाउनु पर्ने चुनौती भने छ ।

प्रचण्डको जित र बाँदरमुढे घटनालाई जोडेर हेर्दा उहाँको जित अब शान्ति प्रक्रियामा बाँकी रहेका बाँदरमुढे, दोरम्बाजस्ता जघन्य घटनासित सम्बन्धित काम पूरा गर्न महत्वपूर्ण कडी बन्न सक्नेछ । तर के प्रचण्ड त्यसका लागि तयार हुनुहुन्छ ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सार्वजनिक
‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सार्वजनिक
भोलीबाट साझा चल्ने (रुटसहित)
भोलीबाट साझा चल्ने (रुटसहित)
नागरिकलाई हवाइ भाडामा सहुलियत दिन कर्णाली पर्यटन उद्यमी समाजकाे माग
नागरिकलाई हवाइ भाडामा सहुलियत दिन कर्णाली पर्यटन उद्यमी समाजकाे माग
बहुविवाह कानुनी रुपमा दर्ता नहुने
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन
व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार
सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार
सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी
सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी
सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा
सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा