मुख्यमन्त्री बन्न लागेका डोरमणि पौडेल को हुन् ?
सारांश
- काठमाडौँ, माघ २७ ।
- प्रदेश नम्बर ३ बाट एमाले संसदीय दलको नेतामा निर्वाचित भएका डोरमणी पौडेल मुख्यमन्त्री बन्ने पक्का भएका छन् ।
- शुक्रबार भएको निर्वाचनमा पौडेलले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई १० मतले हराएका हुन् ।
काठमाडौँ, माघ २७ । प्रदेश नम्बर ३ बाट एमाले संसदीय दलको नेतामा निर्वाचित भएका डोरमणी पौडेल मुख्यमन्त्री बन्ने पक्का भएका छन् । शुक्रबार भएको निर्वाचनमा पौडेलले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई १० मतले हराएका हुन् ।
पौडेल ३४ मत पाएर विजयी हुँदा शाक्यले २४ मत मात्रै प्राप्त गरिन् । एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद थिए । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिने भएपनि पौडेलले २४ मत प्राप्त गरेका थिए ।
यो सँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
को हुन् त डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक नगरपालिकाको नेतृत्व गरेका उनले हेटौंडालाई देशमै नमुनालायक हुने गरि विकास गरेको जानकारहरु बताउँछन् ।
राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत हुन् ।
काठमाडौंको तत्कालिन फर्पिङ गाविसमा वि.सं. २००२ साल चैत १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो ।
मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक(बी.ए.)सम्मको औपचारिक अध्ययन गरेका छन् । वि.सं. २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।
उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए । लामो समय अर्धभूमिगत जीवन बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए ।
३८ वर्षदेखि राजनीतिमा सक्रिय उनलाई प्रदेश ३ नम्बरको भावी मुख्यमन्त्री बनाउन ओली कस्सिएका छन् ।
प्रदेश नं. ३ लाई उत्कृष्ट प्रदेश बनाउँछु : पौडेल
जेष्ठ सदस्यका हैसियतले प्रदेशसभा चलाईरहेका हेटौंडा उपमहानगरपालिकालाई विकास र समृद्धिको नयाँ स्वरुप दिन सफल २०४८ साल र २०५४ का पूर्वमेयर एवंम् वर्तमान प्रदेश सांसद डोरमणी पौडेलले आफू मुख्यमन्त्री भए यस प्रदेशको विकासलाई नयाँ उचाईमा पु¥याउने उद्घोष गरेका छन् ।
हेटौंडा नगरलाई सुन्दर, सफा र व्यवस्थित बनाएर सफल कार्यकाल सकिसकेका पौडेलले शिखरन्यूजको कुराकानीमा प्रदेश ३ लाई उत्कृष्ट बनाउन हरपल लाग्ने बताए ।
जानकारहरु भन्छन्, एक हिसाबले पौडेल आफैँ यो बिषयमा विज्ञ हुन् तरपनि सधैं अन्य विज्ञहरुसँग सुझाव लिएर मात्र कुनै कामको योजना बनाउने र त्यसलाई तोकिएको समयसिमा भित्रै पुरा गर्ने गर्छन् ।
चुस्तदुरुस्त टिम बनाएर योजनालाई कार्यमा अघि बढ्नु आफ्नो कर्तव्य रहेको उनले बताए । संघीय मामिला र स्थानीय विकास निकै नै पोख्त रहेको उनले गरेका उल्लेखनीय कार्यहरुले नै पुष्टि गरेको छ ।
प्रतिक्रिया