मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
सारांश
- नेपालगञ्ज, ८ साउन ।
- संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताएका छन् ।
- महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको शिलान्यास गर्दै सभामुख महराले भने, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।
नेपालगञ्ज, ८ साउन । संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताएका छन् । महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको शिलान्यास गर्दै सभामुख महराले भने, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।”
सभामुख महराले भने, “मुलुक बनाउन अहिले पनि थुप्रै चुनौती छन् तर सामूहिक संकल्प गरेर अघि बढियो भने सफलता अवश्य पाइन्छ ।” संघीयताको कार्यान्वयन मुख्य प्राथमिकतामा राखेर सरकार गतिवान हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक पर्ने कानून निर्माण संघीय सभाबाट भइरहेको स्पष्ट पारे । सभामुख महराले नेपालगञ्ज पश्चिम नेपालको शैक्षिक हब भएकाले यहाँको शैक्षिक विकासमा आफ्नो सबैखाले सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
उक्त क्याम्पसमा ४० वर्षअघि आइएस्सीमा अध्ययन गरेका सभामुख महराले आफ्नो विद्यार्थी जीवनको भोगाइका स्मरणीय पलहरु पनि सुनाएका थिए । उक्त अवसरमा संघीयसभाका सांसदद्वय नन्दलाल रोकाय र महेश्वर गहतराज “अथक”ले क्याम्पसको पूर्वाधार र शैक्षिक विकासमा विद्यार्थीको अहम् भूमिका हुने बताए ।
कार्यक्रममा शिक्षाका विकासमा महत्वपूर्ण योगदान पुराएका प्राध्यापक गोपालप्रसाद अधिकारी र मोहनजङ्ग शाहलाई महराले कदरपत्र प्रदान गरेका थिए । एक वर्षभित्र निर्माण सक्ने गरी ३० कोठे नयाँ क्याम्पस भवनका लागि सरकारले रु ६ करोड ८९ लाख लागत खर्च अनुमान गरेको छ ।
प्रतिक्रिया