मेलम्चीको पानी राजधानीमा वितरण गर्न हुदैँछ यस्तो तयारी
सारांश
- काठमाडौं, १४ माघ ।
- मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरण गर्नका लागि विशेष रुपमा भइरहेको छ ।
- काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइएको हो ।
काठमाडौं, १४ माघ । मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरण गर्नका लागि विशेष रुपमा भइरहेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइएको हो ।
यसैगरी ६ सय ७० किमी वितरण सञ्जालमध्ये ६ सय ४४ किमी पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताएका छन् ।
बजेट अभावका कारण धूम्रबाराही–महाराजगञ्ज–सामाखुसी–कलंकी क्षेत्रको ३ सय किमी क्षेत्रमा वितरण सञ्जाल स्थापना हुन सकेको छैन ।
यो क्षेत्रमा पाइप बिच्छ्याउन ८ अर्ब बढी बजेट आवश्यक पर्नेछ । बजेटका लागि एसियाली विकास बैंकसँग कुरा भइरहेको निर्देशनालयले जनाएको छ ।
पाइप बिच्छ्याउन भत्काइएको सडकमध्ये ६१ किमी सडक विभागलाई कालोपत्रका लागि सम्झौता भई काम शुरु भएको छ । विभागले ८५ करोडको लागतमा निर्माण एवम् कालोपत्र गर्नेछ।
१ सय किमी सडक निर्माण एवम् कालोपत्रको जिम्म निर्देशनालय आफैँले गर्ने निर्णय लिएकोछ । यसको लागत १ अर्ब छ । भत्काइएकामध्ये २८ किमी सडक निर्माण सम्पन्न भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलसम्मको २७.५ किमी दूरी सुरुङमध्ये अब ३ सय मिटर मात्र खन्न बाँकी छ । सुरुङको ३ सय मिटरको काम सकेरभित्रको कामलाई अन्तिमरुप दिई चैत १५ अर्थात् मार्चको अन्तिमसम्ममा पानी उपत्यकामा खसाल्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ ।
उपत्यकामा पानी वितरण गर्न ८४ हजार २ सय १७ घरमा धारा जडान गर्नुपर्नेमा हालसम्म ४५ हजार १ सय ८६ घरमा धारा जडान भइसकेको प्रवक्ता ढकालले जानकारी दिएका छन् ।
सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माण भइसकेको छ। अर्को ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।
पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ। दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७–१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ।
मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक पाँच घण्टासम्म र याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४सै घण्टा पानी वितरण गर्ने निर्देशनालयको लक्ष्य छ ।
प्रतिक्रिया