मोटरसाइकल किन्न रकम नदिएको झोंकमा एक युवाले बाबुको हत्या गरे
सारांश
- श्रावण ६, २०७४- मोटरसाइकल किन्न रकम नदिएको झोंकमा चितवनको कालिका नगरपालिका– २ पदमपुरका एक युवाले बाबुको हत्या गरेका छन् ।
- स्थानीय ४८ वर्षीय भूमिनन्द दुलालका छोरा अञ्जनले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।
- प्रहरीका अनुसार बुधबार दिउँसो दुवैजना मादक पदार्थ सेवन गर्न बसेका बेला अञ्जनले पल्सर मोटरसाइकल किन्न रकम मागेका थिए ।
श्रावण ६, २०७४- मोटरसाइकल किन्न रकम नदिएको झोंकमा चितवनको कालिका नगरपालिका– २ पदमपुरका एक युवाले बाबुको हत्या गरेका छन् ।
स्थानीय ४८ वर्षीय भूमिनन्द दुलालका छोरा अञ्जनले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् । प्रहरीका अनुसार बुधबार दिउँसो दुवैजना मादक पदार्थ सेवन गर्न बसेका बेला अञ्जनले पल्सर मोटरसाइकल किन्न रकम मागेका थिए । बुबाले नदिने अडान लिए ।
विवाद बढदै गएपछि दुलालले छोरालाई दाउराको चिर्पटले प्रहार गरे । घाइते अञ्जनले ब्लेड निकालेर बुबाको हात, खुट्टा, आँखा र निधारलगायतका भागको नसा काटेको र उपचारको अभावमा अधिक रक्तश्रावका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।
बाबुको हत्यापछि छोरा अञ्जनले अर्को कोठामा बसेका भिनाजु टेकबहादुर बुढा र दिदीलाई बोलाएका थिए । अञ्जनले रत्ननगरमा भएकी आमा लगायतका परिवारका सदस्यलाई तत्काल बोलाएर हत्या गरेको घटनाको जानकारी गराए । ‘त्यसपछि घटना लुकाउने प्रयास गरियो,’ एसपी थापाले भने, ‘गाउँमा गाइँगुइँ हल्ला चलेपछि साँझ घटनास्थल पुगेर तन्नाले बेरेर लुकाएर राखेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।’
सम्पत्तिकै निहुँमा बाबु–छोराबीच दिनहुँ झगडा हुने गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनायो । प्रहरीले राति पोस्टमार्टमका लागि शव ल्याउन लाग्दा केहीबेर विवाद भएको थियो । दुलाल क्रिश्चियन धर्म मान्ने भएकाले शव पोस्टमार्टम गर्न नदिने परिवारको अडान थियो ।
नागरिक बाट
प्रतिक्रिया