मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ

सारांश

  • काठमाडौँ, २५ साउन ।
  • व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आगलागीले हालसम्म १५ घर जलेर नष्ट भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
  • सो घटनाका बारेमा छानबिन गर्न उहाँले सरकारसित माग गर्दै अस्थायी शिक्षकका माग पूरा गर्न आग्रह गर्नुभयो ।

काठमाडौँ, २५ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आगलागीले हालसम्म १५ घर जलेर नष्ट भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सो घटनाका बारेमा छानबिन गर्न उहाँले सरकारसित माग गर्दै अस्थायी शिक्षकका माग पूरा गर्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का भीमबहादुर रावलले भियना सम्मेलन र संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यताअनुरुप देश चल्नुपर्छ यसतर्फ सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो । उहाँले हालै भारतीय वाणिज्य दूतावासका कन्सुलरबाट वीरगञ्जमा भएको क्रियाकलाप खेदजनक रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीननाथ गिरीले वर्तमान सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको आरोप लगाउनुभयो ।

सोही पार्टीका बृजेशकुमार गुप्ताले सातवटै प्रदेशमा एक÷एकवटा मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति कहाँ पुग्यो भन्ने प्रश्न गर्दै २ नं प्रदेशमा मेडिकल कलेज बर्दिबासमा बनाउने प्रस्ताव अव्यवहारिक रहेको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कृषिप्रधान देशमा पशुपालनतर्फ कृषकको आकर्षण बढाउने नीति सार्वजनिक गर्न माग गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका मीना पुनले भारतले सुनौली भन्सार कार्यालयबाट नेपालतर्फ सामान पैठारी गर्न अवरोध गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

शून्य समय 

यसैगरी सदनको आजको बैठकको शून्य समयमा सांसदहरुले वर्षात्ले देशभरिका राजमार्गलाई क्षति पु¥याएको, काठमाडौँभित्रका सडकमा बनेका खाडल पुर्न प्रधानमन्त्रीबाट दिनुभएको निर्देशन पालना नभएकोतर्फ सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले कोशी ब्यारेजको पानी सप्तरीको गोबरगाडामा पसेको, गएराति कास्कीका विभिन्न स्थानमा पहिरो गएको, चिकित्सा विधेयक सदनमा प्रस्तुत गर्न, अस्थायी शिक्षकका माग पूरा गर्न पनि माग गर्नुभएको थियो ।

सांसदहरुले निकट भविष्यमा प्रधानमन्त्रीबाट हुन लागेको आसन्न भारत भ्रमणका बारेमा सदनसमक्ष जानकारी गराउन, भूकम्पपीडितलाई सरकारले दिने भनेको राहत तथा सुविधा शीघ्र प्रदान गर्न पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसरी आफ्नो धारणा राख्नुहुने सांसदहरुमा शिवराज चौधरी, शिवलाल थापा, सकलदेव सुतियार, सीतादेवी गिरी ओली, सिन्धुजलेसा बुढाथोकी, सीता नेपाली, श्रीप्रसाद जगेबु, हर्कबोल राई, हितराज पाण्डे, ज्ञानुदेवी गैरे हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?