यसकारण आज विवाहका लागि साइत चाहिँदैन, विवाह पञ्चमी

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
यसकारण आज विवाहका लागि साइत चाहिँदैन, विवाह पञ्चमी

सारांश

  • काठमाडौं ।
  • आज विवाह पञ्चमी पर्व सीता र रामको विवाह, पूजा गरी देशभर मनाइँदैछ ।
  • प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी पर्व मनाइन्छ ।

काठमाडौं । आज विवाह पञ्चमी पर्व सीता र रामको विवाह, पूजा गरी देशभर मनाइँदैछ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी पर्व मनाइन्छ । विशेषगरी जनकपुरधाममा आज बुधबार श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी धुमधामसँग मनाइँदैछ । पर्वको अवसरमा आज कुनै जोडीले विवाह गर्दा साइत नचाहिने पौराणिक मान्यता पनि छ ।

त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभरका राम मन्दिरमा पूजा आराधना गरी पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । यस अवसरमा आज प्रदेश नं २ सरकारले प्रदेशका आठ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिन सम्झेर मिथिलावासीले यस पर्व विशेष महोत्सवका रूपमा मनाइन्छ । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए ।

शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुराउने चलन छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।
यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । उक्त अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतिकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?