यसरी कांग्रेस छोडेका थिए पुष्पलालले

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
यसरी कांग्रेस छोडेका थिए पुष्पलालले

सारांश

  • विगत ७५ वर्षको नेपालको इतिहासको पाना पल्टाउँदै जाँदा धेरै पाना सत्यमा आधारित देखिँदैनन् ।
  • कति अर्धसत्य देखिन्छन् ।
  • कति सत्यभन्दा धेरै पर देखिन्छन् ।

विगत ७५ वर्षको नेपालको इतिहासको पाना पल्टाउँदै जाँदा धेरै पाना सत्यमा आधारित देखिँदैनन् । कति अर्धसत्य देखिन्छन् । कति सत्यभन्दा धेरै पर देखिन्छन् । कति कसैको उर्वर कल्पनाको उपजजस्तो पनि देखिन्छन् । उदाहरणका लागि, २००७ सालको परिवर्तनबारेको वर्णनलाई लिन सकिन्छ । सन् १९५० मा चीनको आधिपत्यमा रहेको तिब्बतमा चिनियाँ सेना आयो, लामाहरूको शासनबाट तिब्बतलाई ‘मुक्त’ गर्न भनेर ।

awantika-regmi

भर्खरै स्वाधीन भएको भारतले यसलाई तिब्बतमाथिको आक्रमण भनेर ठहर गर्‍यो । तानाशाही राणा सरकार रहिरह्यो भने कम्युनिस्ट चीनले नेपालमा आक्रमण गर्न सक्ने तर्क अगाडि राख्यो । यसैलाई आधार बनाई राणालाई जति सक्यो चाँडो हटाउने अडान लियो । आफूले अंगीकार गरेको प्रजातान्त्रिक पद्धति नेपालमा जसरी पनि स्थापित गर्नुपर्ने उसले पहिल्यै ठानेको थियो, अब त्यसलाई गति दिनु अत्यावश्यक ठान्यो ।

यही पृष्ठभूमिमा नोभेम्बर ६ मा राजा त्रिभुवन शीतल निवासस्थित भारतीय दूतावास पुगे । भारत सरकारले उनलाई लिन हवाईजहाज पठायो । नोभेम्बर १० मा उनी दिल्ली पुगे । राणाको पिँजराबाट राजालाई उम्कने कार्यमा सहायता गरेको थिए त्यो बेलाको भारतीय राजदूत सर सीपीएन सिन्हाले । तर, यसमा सर सिन्हाको जति हात भए पनि स्वयम् राजाले साहसी कदम नचालेको भए राणाशाही त्यति चाँडो र त्यति सजिलोसँग कदापि ढल्ने थिएन । २००७ सालको परिवर्तनमा भारतका तत्कालीन प्रधानमन्त्री नेहरूको सबैभन्दा ठूलो भूमिका थियो ।

उनीबाहेक राममनोहर लोहिया, जयप्रकाश नारायण, रफी अहमद किदवाइले पर्दा अगाडि देखिएका मुख्य नायकहरूलाई सबै प्रकारले मद्दत गरेका थिए । खासगरी लोहिया र जयप्रकाश नारायणले । उनीहरू नेपाली नेताको ‘नेता’ भनेर चिनिन्थे । तर, अहिलेसम्म पनि नेपालमा २००७ साल कसरी आयो, किन आयो, कुन परिवेशमा आयो, त्यसको पर्दा पछाडिको मुख्य नायक को थिए, यीबारे अध्ययन गर्न खासै कोसिस गरेको देखिँदैन । कसैले गरून् पनि किन ? त्यसो गरे सत्य जो उजागर हुन्छ । २००७ सालको परिवर्तनसम्बन्धी केही अति महत्वपूर्ण पाटा भने ओझेलमा पारिएका छन् ।

त्यस्तै, २००७ सालसम्बन्धी धेरै महत्वपूर्ण पाटाहरू सतहमा आए पनि तिनको वर्णन आफू अनुकूल गर्ने गरिएको पाइन्छ । कतिपय तथ्य त मनगढन्ते वर्णनको सिकार बनेका छन् । जस्तै १९५० को नोभेम्बरमा नेपाली कांग्रेसको नेतृत्वमा भएको वीरगन्जको सशस्त्र कब्जा । अर्को हो, सन् १९४७ विराटनगर जुट मिलमा गरिएको मजदुर हडताल विवरण ।

यो हडताल मनमोहन अधिकारीको अगुवाइमा भएको थियो । विराटनगर जुट मिल हडताल राणाविरुद्ध उठेको पहिलो व्यापक आन्दोलन थियो । त्यसको श्रेय पाउनबाट आफू वञ्चित हुने देखेर बीपी कोइराला, उनका बहिनीहरू र सहयोगीहरू हतारपतार गर्दै केही दिनमा पुगे । त्यहाँ पुगेर उनले नेतृत्व आफ्नो हातमा लिए । अगुवाइ गरेको श्रेय आफ्ना भाइ गिरिजाप्रसाद कोइरालालाई दिए।

त्यस्तै आफू अनुकूल इतिहास वर्णनको अर्को उदाहरण हो, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसबीचको सम्बन्ध बारेको वर्णन । त्यसबारे एउटा प्रचलित वर्णन यस्तो छः

‘त्यसताका भारतमा रहेका नेपालीहरू राणाशाही विरोधी आन्दोलनको तयारीका लागि राजनीतिक पार्टीहरू स्थापना गर्ने तर्खरमा थिए । पुष्पलाल पनि जेलबाट छुटेपछि बनारस पुग्नुभयो र त्यहाँ स्थापित नेपाली राष्ट्रिय कांग्रेस पार्टीको कार्यालय सचिव भएर काम गर्न थाल्नुभयो । तर, त्यस संस्थाभित्र डिल्लीरमण रेग्मी र बीपी कोइरालाको बीचमा केही नीति र नेतृत्वको सवालमा विवाद बढ्दै जाँदा त्यसलाई मिलाउन उहाँले सक्दो प्रयास गर्नुभयो र नैतिक दबाब दिन अनशनसमेत गर्नु भो तर त्यो पार नलागेपछि उहाँ पार्टी छोडी कलकत्तातिर लाग्नुभयो ।’ (मोदनाथ प्र िश्रत, पुष्पलाल स्मृति दिवस, साउन ६, २०७४, नेपालपाटीडटकम )
यो लेखमा यही वर्णनको खण्डन दस्तावेजको आधारमा गरिनेछ ।

१९४१ सेप्टेम्बेरमा दार्जिलिङमा एउटा सभा भएको थियो । त्यसलाई निरन्तरता दिँदै जुन १९४२ मा बनारसमा हेडक्वार्टर भएको एक अन्डरग्राउन्ड संस्था स्थापना भयो । उद्देश्य थियो– हिंसात्मक तरिकाले राणाशासन फ्याँक्ने । त्यस संस्थामा सन्तवीर लामा दार्जिलिङ इन्चार्ज, डिल्लीरमण रेग्मी बनारस इन्चार्ज, अग्निप्रसाद सापकोटा, देहरादुन इन्चार्ज भए । यसै संस्थासँग आबद्ध बीपी कोइराला र उनका पिता कृष्णप्रसाद कोइरालाको कार्य सन्तवीर लामालाई उनलाई सघाउनु थियो । राणाका सुराकीहरूले यिनीहरूले पठाएको पत्र आदि जफत गर्थे । राणाहरूले भारत भूमिमा बसेर आफ्नो विरोधी कार्य गर्ने नेपालीहरूको लिस्ट अंग्रेज सरकारलाई दियो । जसको फलस्वरूप १८४२ को अन्त्यतिर दार्जिलिङ, पटना, लखनउबाट सन्तवीर लामा, सूर्यविक्रम लामा, सूर्यप्रसाद उपाध्याय, मनमोहन अधिकारी, गोपालप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बीपी कोइराला र अरू केही समातिए ।

अहिलेसम्म पनि नेपालमा २००७ साल कसरी आयो, किन आयो, कुन परिवेशमा आयो, त्यसको पर्दा पछाडिको मुख्य नायक को थिए, यीबारे अध्ययन गर्न खासै कोसिस गरेको देखिँदैन ।

कति फरार भए । समातिएकाहरू जेलमा हालिए । केहीलाई त्यही वर्षको अगस्टदेखि सुरु भएको भारत छोडो आन्दोलनमा पनि संलग्न भएको पाइयो । तीमध्ये केही १० महिनामा जेलबाट छुटे भने केही दुई-तीन वर्षमा । स्वाभाविक थियो, छुटेपछि फेरि राणा हटाउने क्रियाकलापमा लागे । त्यो बेलासम्म अंग्रेज भारत छोडेर जाने तर्खरमा थिए । अब ती नेपाली खुलेर आफ्ना संस्था खोल्न सक्ने भए । सुभाषचन्द्र बोससँगै पुरानो संस्था अस्तुमा परिणत भइसकेको थियो ।राणा हटाएर नेपालमा प्रजातन्त्र ल्याउन संघर्षरत नेपालीहरू कसरी एउटै थलोमा कसरी जम्मा हुन आइपुगे भन्नेबारेको इतिहासले भने अर्कै तथ्य स्थापित गर्छ ।

इतिहास अर्कै बोल्छ । वर्णनअनुसार पटनाबाट प्रकाशन हुने दैनिक पत्रिका ‘द सर्चलाइट’मा बीपी कोइरालाले सबै नेपालीलाई क्रान्तिको लागि आह्वान गरे । सोही आग्रह पढेर भारतको ठाउँठाउँबाट जागरुक नेपालीहरू एक ठाउँमा आए । त्योबेला अहिलेजस्तो सञ्चारमाध्यमको विकास भएको थिएन । कति पढ्लेखेका युवाले ‘द सर्चलाइट’ पढे होलान् र कतिले कोइरालाको आह्वान थाहा पाए होलान् ? जेहोस्, कोइरालाको आह्वान ‘द सर्चलाइट’मा प्रकाशित भएको भने सत्य हो ।

pushpalal_letter

१९४७ को जनवरी २५ मा कलकत्ताको खाल्सा हाइस्कुलमा नेपाली राष्ट्रिय कांग्रेसको ‘उद्घाटन सभा’ भएको थियो । लोहियाको प्रमुख आतिथ्यमा हुने भनिएको त्यो सभामा कारणवश लोहिया उपस्थित भएनन् । त्यसको उद्घाटन डिल्लीरमण रेग्मीले ‘राष्ट्रिय पताकात्तोलन’बाट गरेका थिए । ‘उद्घाटन सभाको छोटो विवरण’ नामक पुस्तिकामा उद्घाटन–सभा ‘हतपतमा भएको’ र त्यसकारण धेरै ठाउँका प्रतिनिधिहरू आउन नपाएको उल्लेख गरिएको छ । पुस्तिकामा उल्लेख भएअनुसार, उद्घाटन समारोहमा प्रतिनिधि र आमन्त्रित गरी ‘५० जना’ जतिको जमघट थियो । क्रिपलानी, लोहिया र अरू केही ठूला नेता र नेतृहरूले पठाएको सन्देश पढेर सुनाइएको थियो ।

स्वागताध्यक्ष श्री डीएन प्रधान थिए । प्रधानले सभाको सभापति चुन्ने कार्य पनि गरे । जसलाई ‘ श्री विश्वेश्वरप्रसाद कोइरालासित त्यस सभाको सभापति हुने प्रार्थना गर्नुभयो’ भनी पुस्तिकामा उल्लेख गरिएको छ । कोइराला सभाको सभापतिमात्र नभई राष्ट्रिय कांग्रेसको कार्यकारी सभापति बन्न पुगे । उद्घाटन सभालाई महाधिवेशन भनी नाम दिइयो । भोलिपल्ट १५ जना प्रतिनिधि लोहियासँग उनको डेरामा उनको आशीर्वाद लिन पुगे।
यसैबीच मार्चको सुरुमा जुट मिल हडताल सुरु भयो । त्यसको नेतृत्व गर्न पुगेका बीपी कोइरालालगायत मनमोहन अधिकारीलाई राणा सरकारले गिरफ्तार गर्‍यो । उनीहरू काठमाडौं जेल चलान भए । लोहिया र जयप्रकाश नारायणले कोइरालालाई छुटाउन कुनै कसर बाँकी राखेनन् । जयप्रकाश नारायणले श्री ३ राणा प्रधानमन्त्रीलाई पत्र लेखी माफी मागे । केही महिनापछि कोइराला जेलबाट छुटे । बनारस आइपुगे । आउनासाथ कार्यकारी सभापतिको हैसियतले कार्यसमितिको बैठक बोलाउने आदेश दिए । उनले कलकत्ता रेडियोबाट आफूले कार्यकारी सभापतिको जिम्मेवारी लिएको घोषणा पनि गरे । यो घोषणापछि पुष्पलालले एउटा प्रेस विज्ञप्ति निकाले । प्रेस विज्ञप्ति यस्तो छ

‘प्रिय साथी,
अस्ति शुक्रबारको कलकत्ता रेडियोको नेपाली एलानमा श्री विश्वेश्वरप्रसाद कोइरालाले कार्यकारी सभापतिको जिम्मेदारी लिएँ भन्ने खबर सुन्नुभयो होला । यो पत्र त्यसै खबरको खण्डनको लागि लेखिरहेछु ।

श्री विश्वेश्वरप्रसाद कोइराला अहिले हाम्रो संस्थाका साधारण पदाधिकारी पनि होइनन् । उनलाई कसैले कार्यकारी सभापतिको पदमा नियुक्त गरेको छैन । गत जनवरीमा जब नेपाली राष्ट्रिय कांग्रेसको अस्थायी (एड हक) समिति बनेथ्यो तब उनी त्यस समितिको कार्यकारी सभापति छानिएका थिए । उनको अनुपस्थितिमा त्यसै अस्थायी समितिले श्री मातृकाप्रसाद कोइरालालाई उनको ठाउँमा छानेको थियो । जनवरीमा संगठित अस्थायी समितिको बैठकमा तीन, चार महिनापछि वकायदा चुनाव हुनेछ भन्ने निश्चयअनुसार र हाम्रो संस्थाको रूप ठूलो हुँदै गएकोले त्यो अस्थायी समितिलाई विघटन गरेर नेपाली राष्ट्रिय कांग्रेसको प्रतिनिधिहरूको सभा गत जुलाईमा भयो, जसमा हालका अध्यक्ष श्री डिल्लीरमण रेग्मी सर्वसम्मतिले सभापति छानिनु भयो ।

त्यसै सभामा पास भएको विधानको अनुसार श्री रेग्मीले आफैं कार्यकारिणी नामजद गर्नुभो । विधानबमोजिम कार्यकारी सभापतिको चुनाव कार्यसमितिले सभापतिको इस्तिफावाद गर्नु पर्दछ । तर कार्यसमितिले सभापतिको इस्तिफा पाएको छैन र उले कुनै कार्यकारी सभापतिको चुनाव पनि गरेको छैन । यस अवस्थामा श्री विश्वेश्वरप्रसाद कोइरालाले कार्यकारी सभापति हँ भनेर एलान गर्न लगाउनु एकदम अनाधिकार र अशोभनीय साथसाथै प्रजातन्त्रको आधारभूत सिद्धान्तलाई हनन् गर्ने चेष्टा हो । हाम्रो अर्को पत्र नपाउन्जेलसम्म नेपाली राष्ट्रिय कांग्रेसको कुनै शाखाले विश्वेश्वरप्रसाद कोइरालालासँग कुनै प्रकारको सम्बन्ध राख्नु हुँदैन । उनले पठाएको सबै तार पत्रहरू केन्द्रीय दफ्तरको निम्नलिखित ठेगानामा पठाई दिनुहोला ।
भवदीय
पुष्पलाल श्रेष्ठ

अन्नपूर्णपोस्ट बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??
३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??
मुलुक निर्माणमा मुस्लीम समुदायको महत्वपूर्ण भूमिका: कमल थापा
मुलुक निर्माणमा मुस्लीम समुदायको महत्वपूर्ण भूमिका: कमल थापा
नागरिकतामाथि प्रश्न उठेका अन्सारी स्वतः अध्यक्ष हुने
नागरिकतामाथि प्रश्न उठेका अन्सारी स्वतः अध्यक्ष हुने
आजको राशीफल
आजको राशीफल
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा
टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा
म बिरुद्द फेरि कुप्रचार सुरु भयो बामदेब गौतम ।
म बिरुद्द फेरि कुप्रचार सुरु भयो बामदेब गौतम ।
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ:अध्यक्ष प्रचण्ड
चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ:अध्यक्ष प्रचण्ड