यात्रुलाइ तानातान गर्ने चालकलाई सार्वजनिक मुद्दा
सारांश
- नेपालगञ्ज, ७ मंसिर।
- यात्रुलाई आफ्नो सवारी साधन बसाउनका लागि तानातान गर्दै हुनुहुन्छ ?
- यदि यस्तो गरिरहनु भएको छ भने आजैदेखि त्यस्तो गर्न छोडदिनुस् है ।
नेपालगञ्ज, ७ मंसिर। यात्रुलाई आफ्नो सवारी साधन बसाउनका लागि तानातान गर्दै हुनुहुन्छ ? यदि यस्तो गरिरहनु भएको छ भने आजैदेखि त्यस्तो गर्न छोडदिनुस् है । नत्र सार्वजनिक उपद्रयाई कसुरमा सजाय भोग्नु पर्ला । नेपालगञ्जको पुष्पलालचोकमा यात्रुलाई तानातान गर्ने एउटा हाइस ((सानो गाडी) का चालक प्रहरी फन्दामा परेका छन् । नेपालगञ्जदेखि दाङ चल्ने आफ्नो हाइसमा बसाउनका लागि यात्रुलाई तानिरहेका चालक कृष्णबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको हो । विकले यात्रुलाई आफ्नो गाडीमा बसाउनका लागि झोला तानेको देखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सार्वजनिक उपद्रयाई कसुरअन्तर्गत मुद्दा चलाएको छ । यो मुद्दामा २५ हजार रुपैयासम्म जरिवानाको व्यवस्था रहेको छ ।
सवारी साधनका चालक तथा सहचालकले यात्रुलाई आफ्नो गाडीमा बसाउनका लागि तानातान गर्ने प्रवृत्ति भने नयाँ होइन । विशेष गरेर भारतबाट काम गरेर आएका सोझा नेपालीलाई गाडीका चालक तथा सहचालकले झोला एकातिर मान्छे अर्कोतिर हुने गरी तानातान गर्दछन् । एउटा गाडीको मान्छेले झोला र अर्को गाडीको स्टाफले मान्छेलाई आफ्नोतिर तानिरहदा सोझा यात्रुलाई हैरानी हुने गर्दछ ।
बाँके प्रहरीले यसरी यात्रुलाई तानातान गर्ने गाडीका कर्मचारीविरुद्ध कारबाहीको अभियान थालेको छ । ‘यात्रु त स्वइच्छाले गाडीमा बस्न पाउन पर्यो नि । यहाँ त तानातान गरेर आफ्नो गाडीमा बसाउने गरेको पाइयो, जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रणबहादुर विष्टले भने, हामीले त्यस्तो गर्ने गाडीका कर्मचारीलाई कारबाही गर्ने अभियान थालेका छौं ।’
नेपालगञ्जबाट बाहिरिने यात्रुवाहक सवारी साधन पुष्पलालचोक हुँदै जान्छन् । सुर्खेत, दाङ, धनगढी जाने हाइसहरु त्यही रोडमा लागेका हुन्छन् । रिक्सामा यात्रु आउने बित्तिकै सबै गाडीका स्टाफहरु हुर्रेर आउँछन् । र, तानातान गर्छन् । बसपार्कमा पनि यस्तो प्रवृत्ति देखिन्छ । जतिधेरै यात्रुलाई तानेर आफ्नो गाडीमा ल्यायो, त्यति नै सहचालकको खुबी मानिन्छ । जो सोझो छ । यात्रुलाई फकाएर या तानेर आफ्नो गाडीमा ल्याउन सक्दैन, उसलाई गाडीका मालिक तथा चालकले मन पराउदैनन् ।
गाडी मालिक तथा चालकको मन जित्न पनि सहचालकहरु यात्रु तान्नतिर लाग्छन् । यो नेपालगञ्जमा मात्रै नभएर जहाँ सुकै हुन्छ । बाँके प्रहरीले भने यात्रुलाई लछारपछार पारेर होइन कि उसले रोजेको गाडीमा जान पाउनु पर्छ भनेर अभियान थालेको छ । यद्यपि, यो अभियानको नियमित अनुगमन हुन सकेको छैन । सहप्रवक्ता विष्टले पछिल्लो केही दिनमा चार जनालाई गाडीका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएर कारबाही गरिसकेको बताए ।
प्रतिक्रिया