यि हुन काठ्माडाैका बाम गठ्बन्धन का उम्मेद्वार (फाेटाे फिचर )
सारांश
- काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेशसभाका एमाले उम्मेदवार केशव स्थापित हातमा कागजको तातो चियाको कप बोकेर सुरुप सुरुप पिउँदै थिए ।
- उभिई उभिई गफिंदै चिया पिइरहेका स्थापितछेउ आइपुगे काठमाडौं प्रतिनिधिसभा क्षेत्र नं १ का वाम उम्मेदवार अनील शर्मा ।
- स्थापितले शर्मालाई आफूतिरै ताने र आंगालो हाले ।

काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेशसभाका एमाले उम्मेदवार केशव स्थापित हातमा कागजको तातो चियाको कप बोकेर सुरुप सुरुप पिउँदै थिए । उभिई उभिई गफिंदै चिया पिइरहेका स्थापितछेउ आइपुगे काठमाडौं प्रतिनिधिसभा क्षेत्र नं १ का वाम उम्मेदवार अनील शर्मा । स्थापितले शर्मालाई आफूतिरै ताने र आंगालो हाले । सोधे– ‘के छ हो कमरेड १ नम्बरको चुनावी स्थिति ?’ शर्मा स्थापितको कानमा मुख जोत्दै केही भन्न थाले । त्यसैबेला स्थापितले भने– ‘लौ दुई भाईको फोटो खिचौं त ।’ अनि सुरु भयो फोटो सेसन ।

मंगलवार जमलस्थित यल्लोप्यागोडा होटेलमा काठमाडौं जिल्लाका बाम गठबन्धनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम राखिएको थियो । कार्यक्रममा दुवै दलका प्रतिनिधिसभा र प्रदेशसभाका ३० उम्मेदवार उपस्थित थिए । सँगै दुवै दलका नेता कार्यकर्ता पनि थिए । उनीहरुको भाव भंगिमा हेर्दा चुनाव तालमेल गरेका अलग पार्टी नभएर एउटै दलका कार्यकर्ता जस्तै देखिन्थ्यो ।

समारोहलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल आउने खवर थियो । तर, झापामा रहेका ओली ढिलोगरी कार्यक्रममा आएर उम्मेदवारहरुलाई जितको हौसला बढाए । तर, माओवादी अध्यक्ष दाहाल भने चितवनबाट आइपुग्न सकेनन् ।

उम्मेदवारको परिचयात्मक कार्यक्रममा उपस्थित भएका नेता कार्यकर्ता धेरैजसो चुनावपछि हुने पार्टी एकता र अहिलेको सम्भावित नतिजाको बारेमा गफिइरहेका देखिन्थे । पार्टी एकतापछि एउटै कमिटीमा बसेर काम गर्ने सल्लाह पनि बाँधेको देखिन्थ्यो ।

केहीवेरको फोटो सेसनपछि स्थापितले अनीललाई शुभकामना दिए– ‘लाग्नुस् यो अन्तिम युद्ध हो ।’ अनीलले पनि क्षेत्र नं १ मा जितेर देखाउने वाचा गरे– ‘दाइहरुको आशिर्वाद छ, जित्छु नि दाइ ।’ बाक्ला काला जुँगा नाच्नेगरी हाँस्दै अनील त्यहाँबाट अर्कै झुण्डतिर सरे ।

वाम गठबन्धनका उम्मेदवारहरुको परिचयनत्मक कार्यक्रम दुई पार्टीका स्थानीय तहका कार्यकर्ताको समेत परिचय र अन्तरघुलनको कार्यक्रम जस्तो बन्न पुग्यो । आपसमा उनीहरुबीच ठट्टा पनि भए । दुवै पार्टीका शीर्ष नेताहरुलाई थाहै नदिई मंसिर ९ गते पार्टी एकता घोषणा हुने हल्लावारे उनीहरुबीच ठट्टा चलेको थियो ।

अर्काे एउटा झुण्डमा घेरिएर बसेका थिए एमाले महासचिव ईश्वर पोखरेल, जो काठमाडौं ५ को प्रतिनिधिसभाका उम्मेदवार पनि हुन् । जमघटमा प्रसंग मिलाएर माओवादीका एकजना कार्यकर्ताले पोखरेलसँग सोधे– ‘कमरेड पार्टी एकता त हुन्छ नि हैन ?’ उनको प्रश्न र अनुहारको मुद्राले अहिलेनै पार्टी एकता भैदिए हुन्थ्यो जस्तो वताइरहेको थियो । पोखरेल एकैछिन् रोकिएर मुस्कुराए । ‘शंका लागेर सोध्नु भएको हो ?’ पोखरेलले नै प्रतिप्रश्न गरे, सँगसँगै जवाफ पनि दिए, ‘यो अचानक भएको विकास होइन, पार्टी एकता हुन्छ, ढुक्क हुनुस् ।’ पोखरेललाई प्रश्न गर्ने ती माओवादी कार्यकर्ताको अनुहार खुसीले धपक्कै भयो । वरिपरीका सबैले ताली बजाए ।

अर्काे समुहमा सल्लाह बाँध्दै थिए एमाले काठमाडौं जिल्ला कमिटीका उपसचिव सरिता न्यौपाने र काठमाडौं क्षेत्र नम्बर ६ का बाम गठबन्धनका उम्मेदवार झक्कु सुवेदी । न्यौपानेलाई एमालेले समानुपातिक तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार पनि बनाएको छ । झक्कुलाई उनले सोधिन्–‘दाइ कस्तो छ महोल ?’ झक्कुले मुस्कुराउदै भने– ‘हामीभन्दा मतदाता उत्साही भएको पाउँछु ।’ एमाले नेतृ न्यौपाने विजय जुलुशमा आउने वाचा गर्दै झक्कुसँग विदा भइन् ।
कार्यक्रममा माओवादी नेता तथा क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्य, एमाले वरिष्ठ नेता तथा क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले सम्बोधन गरेका थिए । ढिलोगरी आइपुगेका एमाले अध्यक्ष ओलीले कुनै पनि उम्मेदवारलाई अलग पार्टीको रुपमा होइन, दुवै पार्टीको साझा उम्मेदवारका रुपमा बुझ्न कार्यकर्तालाई निर्देशन दिए ।



प्रतिक्रिया