यी हुन् साढे दुई वर्षमै सात करोड कमाउने अधिकृत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
यी हुन्  साढे दुई वर्षमै सात करोड कमाउने अधिकृत

सारांश

  • काठमाडौं, २२ साउन।
  •   अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ ।
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

काठमाडौं, २२ साउन।  अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो । अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको छ ।

‘ढकालविरुद्ध उदयपुरको कटारी र इलामको माई नगरपालिकामा रहँदा भ्रष्टाचार गरेको अभियोग दाबीसहित दुई वटा मुद्दा दर्ता भएका छन् । एउटामा सोमबारै बयान सकिएको छ । अर्कोमा मंगलबार बयान र थुनछेक हुने छ,’ विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले बताए।अख्तियारले ढकाललाई वैशाख १२ मा ज्ञानेश्वरबाट पक्राउ गरेको थियो । सिन्धुलीका ढकाल २०७२ मंसिर १५ मा सेवा प्रवेश गरेका हुन् ।

इलामको माई नगरपालिकाबाट कटारीमा सरुवा भएको डेढ महिनामै ढकालले चार करोड रूपैयाँ निजी खातामा राखेको खुलेको छ ।ढकाल एक वर्ष नौ महिना माई नगरपालिकामा बसेर कटारीमा सरुवा भएका हुन् । अख्तियारले कटारी र माई नगरपालिका दुवैको फाइल झिकाएर छानबिन गरेको थियो । सरकारी खाताबाट आफन्तका नाममा रकम हालेर पुनः आफ्नो नाममा ‘ट्रान्सफर’ गरिएको छ। सोलु सल्लेरीको जनस्वास्थ्य कार्यालयमा सुरु नियुक्ति पाएका ढकाल त्यहाँ ११ महिना काम गरेपछि इलामको माई नगरपालिकामा सरुवा भएका थिए । गत फागुनमा उनी कटारी सरुवा भएका हुन् ।

ढकाल १४ महिना बीचमा झण्डै चार करोड रूपैयाँ खातामा सार्न सफल भएको अनुसन्धानले देखाएको छ । अख्तियारले सोलुस्थित जनस्वास्थ्य कार्यालयबाट समेत ढकालको जिम्माका सबै फाइल खिचेर छानबिन सुरु गरेको थियो । कटारी नगरपालिकाका नाममा विनियोजन भएको एक करोड ९८ लाख ७५ हजार रूपैयाँ गत फागुन २२ गते निजी खातामा स्थानान्तरण भएको छ । त्यसपछि चैत २६ गते त्यति नै रकम ढकालले पुनः आफ्नो निजी खातामा पठाएका छन् । अनुसन्धानबाट नगरपालिकाको मूल खाताबाटै धमाधम निजी खातामा रकम सारेको भेटिएको छ ।

कार्यकारी अधिकृतको नक्कली हस्ताक्षरमा रकम स्थानान्तरण भएको छ । अख्तियारले आफन्तका नाममा किनिएको जग्गा र उनीहरूको बैंक रकम पनि रोक्का गरेको छ । ढकालले आमा प्रेमकुमारीको नाममा सिन्धुलीस्थित एनआईसी एसिया बैंकमा राखेको ६ लाख ५५ हजार रूपैयाँ, सासु तुलसादेवी आचार्यका नाममा काठमाडौं पुलचोकस्थित एनआईसी बैंकमा राखिएको ३० लाख, साथीकी श्रीमती प्रमिला भण्डारीको नाममा प्राइम बैंक बिर्तामोडमा २१ लाख ६५ हजार, ढकालकै नाममा राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा राखिएको २७ लाख, चिनजानका व्यक्ति हर्कबहादुर श्रेष्ठको नाममा टुरिजम बैंक सिन्धुलीमा १३ लाख रूपैयाँ, काकी सावित्री ढकाल प्याकुरेलको नाममा भक्तपुर नगरपालिका–९ स्थित दधिकोटमा किनेको ६० लाख रूपैयाँ बराबरको चार आना जग्गा र बैंक खाता रोक्का गरिएको छ ।

यस्तै ढकालका साढुको नाममा ‘ट्रान्सफर’को आशंकामा एक करोड ५० लाख र अन्य आफन्तको नाममा रहेको ७५ लाख रूपैयाँ बैंक रकम पनि रोक्का छ । बैंकमा नवविवाहित पत्नीको नाममा रहेको १ करोड २७ लाख रूपैयाँ र साथीकी पत्नीको नाममा रहेको ३० लाख रकम पनि शंकास्पद रहेको अख्तियारको दाबी छ ।

भक्तबहादुर विष्टको नामबाट काकीको नाममा जग्गा किनेको अनुसन्धानबाट देखिएको छ । यता झापा हल्दीबारी गाउँपालिका (पाराखोपी)–९ मा १० धुर, वडा नम्बर ८ मा ११ धुर र सोही वडामा अर्को कित्ता ६ धुर र ८ धुर जग्गासमेत भेटिएको छ । यी सबै कित्ताका जग्गा रोक्का गरिएका छन् । यस्तै ललितपुरको झरुवारासीमा आफू र पत्नीको नामको ६ आना जग्गा, पत्नीको नाममा ज्ञानेश्वरमा पाँच आना १ पैसा तीन दाम जग्गासमेत अख्तियारले रोकिदिएको छ ।

ढकालले बैंकको नाममा विभिन्न किर्ते पत्र तथा कागजात बनाई कटारी नगरपालिकाको संचित कोष खाताबाट आफ्नो नाममा रहेको व्यक्तिगत बैंक खातामा तीन करोड ९८ लाख ३६ हजार ९ सय ८७  रूपैयाँ जम्मा गरेको दाबी अख्तियारको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आठ वर्षदेखि दश वर्षसम्म जेल सजाय र बिगोको अनुपातमा जरिवाना माग गरिएको छ ।

यता कार्यकारी अधिकृतका नामको दस्तखत आफंैले किर्ते गर्ने र राजस्व तिरेको बैंक भौचरसमेत किर्ते खडा गरी इलामको माई नगरपालिकामा पनि तीन करोड २४ लाख ५६ हजार एक सय ४८ रूपैयाँ भ्रष्टाचार गरेको अभियोग पनि ढकाललाई लागेको छ ।

सरकारी रकम बदनियतपूर्वक आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको दाबी अख्तियारको छ । उक्त मुद्दामा अधिकृत ढकाल, श्रीमती रिना, आमा प्रेमकुमारीको नाममा रहेको जग्गा तथा उनीहरूका नाममा रहेको बैंक मौज्दातसमेत जफत गर्न अख्तियारको अदालतसँग माग छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Pokharel Raj

    सबै सम्पत्ति जफत गरेर हात्खुट्टा बाधेर बोरामा हालेर बाम चुटे झै गरेर चुटेर अङ्ग भङ्ग बनाइ भिरबाट गुल्ट्यादिनुपर्छ ।

    Comment Author

    Magar Depersion

    terima haram khor lai dhaan chure jhai chuter koma ma puraunu parchha janta le tereko kar ma raj garna khojne

    Comment Author

    Subash Kc

    साला अनुहार हेर्दा सालिम देखीन्छ यो ता माहा डकैति रहेछ कडा कार्बाई हुनु पर्छ

    Comment Author

    Poon Kamal

    ramro garyo neta le vastachar garda kehi xaina aaile samma

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?