रसुवागढी नाका दुई सातादेखि ठप्प

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
रसुवागढी नाका दुई सातादेखि ठप्प

सारांश

  • नुवाकोट, २५ साउन ।
  • नेपाल–चीन प्रवेशका लागि एकमात्र रसुवागढी नाका दुई सातादेखि ठप्प छ ।
  • नाका नजिकै घट्टेखोलामा पहिरोले पुललगायतको सडकमार्गमा क्षति पुर्‍याएपछि नाका बन्द भएको हो ।

नुवाकोट, २५ साउन । नेपाल–चीन प्रवेशका लागि एकमात्र रसुवागढी नाका दुई सातादेखि ठप्प छ । नाका नजिकै घट्टेखोलामा पहिरोले पुललगायतको सडकमार्गमा क्षति पुर्‍याएपछि नाका बन्द भएको हो । पहिरोका कारण सदरमुकाम धुन्चेदेखि ३३ किलोमिटर उत्तरमा रहेको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेदेखि यातायात सन्चालन हुन नसक्दा रसुवागढी नाका यहि साउन ९ गतेदेखि वन्द रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले शुक्रवार बताए । उनका अनुसार सडकमार्गको पुल तथा सडक मर्मत गर्न प्राविधिकहरुले एक महिना समय लाग्ने जानकारी दिएको बताए ।

काठमाडौँदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोसी नदी किनारामा रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा हाल दुई प्रांग्रे मोटरसाइकल र पैदलयात्रीमात्र जोखिमपुर्ण यात्रा गरिरहेका छन् । साना तथा ठूला यातायातका साधन बन्द छन् । घट्टेखोलापुलमा बाढीले पुलमा क्षति पुर्‍याएपछि रसुवागढी नाका बन्द भएको हो । पहिरो हटाउनु अगाडि यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम भएकाले रोकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

२०७१ देखि औपचारिकरुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै रसुवागढी सीमामा व्यापारी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्छ । रसुवागढी नाका २०७२ बैशाख १२ गतेको भूकम्पले केही महिना बन्द भएको थियो । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात २०७२ सालको मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ ।

घट्टेखोला टिमुरेमा पहिरो भएपछि नाकाबाट आवतजावत बन्द छ । सडकको किनारासमेत भोटेकोशी नदीले बगाएकाले नाका सन्चालन हुन अझै तीन साताभन्दा बढी समय लाग्ने स्थानीय लाक्पादार्जे मोक्तानले जानकारी दिए । विभिन्न सामग्री आयातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुगेका सवारी रसुवागढी नाका पारी नै रोकिएका छन् । कतिपयले भरिया लगाएर कुहिने सामग्रीहरु नेपाल भित्राएर भन्सार चेकजांच गराइरहेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

सामान लिन चीनको केरुङ जाने क्रममा रहेका सवारी साधन पनि धुन्चे र स्याफ्रुबेसीमै रोकिएका छने भने कपितपय फर्किसकेको प्रजिअ पौडेलले बताए । भत्किएको घट्टेखोला पुलको अवस्थाको बारेमा जानकारी लिनका लागि डिभिजन सडक कार्यालयको इन्जिनियरसहितको टोली खटाइएको छ ।त्यो पुल सात वर्ष अगाडि चिनियाँ टोलीले निर्माण गरेका थिए । पुलको तीन मिटर पुलको जग खोलिसकेको छ । सडक विभागबाट विशेष टोली ल्याएर पुलको मर्मत वा पुनर्निर्माण गरिने भन्ने स्थितिको ठहर गरिने जनाइएको छ ।

पहिरो र भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ साल मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ । रसुवागढी नाकालाई चीनले सन् २०१७ सेप्टेम्वर १ तारिख अर्थात् २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरिसकेको छ ।चीनबाट नोपलतर्फ तयारी पोशाक, स्याउ, लेडिज जुत्ता, रवर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ ।

नेपालबाट चीनतर्फ हस्तकलाका सामान, मैदा, चाउचाउ, धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायतका बस्तुहरु निकासी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?