राजपासँग कांग्रेसको सहकार्य …?
सारांश
- काठमाडाै, २ असार ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) सँग सहकार्यका लागि प्रयास गरेको छ।
- संविधान संशोधन लगायत मधेशको माग सम्बोधन गर्नुपर्ने माग राजपाले उठाइरहेका बेला कांग्रेसले प्रतिपक्षी मोर्चालाई बलियो बनाइराख्न राजपासँग सहकार्यको प्रयास थालेको हो।
काठमाडाै, २ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) सँग सहकार्यका लागि प्रयास गरेको छ।
संविधान संशोधन लगायत मधेशको माग सम्बोधन गर्नुपर्ने माग राजपाले उठाइरहेका बेला कांग्रेसले प्रतिपक्षी मोर्चालाई बलियो बनाइराख्न राजपासँग सहकार्यको प्रयास थालेको हो।
सहकार्यका विषयमा कांग्रेस संस्थापन पक्षका नेताहरुले राजपाका केही नेतासँग कुराकानी गरेको दावी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले गरे। खाँडका अनुसार मधेशी जनतालार्इ न्याय दिलाउन राजपाका लागि संविधान संशोधन अनिवार्य रहेको र कांग्रेसलार्इ पनि त्यही अनुरुप खरो प्रतिपक्षीको भूमिकामा रहनु परेकाले राजपा-कांग्रेस सहकार्यको प्रयास थालिएको हो।
यसै त, प्रतिनिधि सभामा नेकपाको झण्डै दुई तिहाई स्थानका कारण प्रमुख प्रतिपक्ष सदनमा कमजोर थियो। संघीय फोरमपनि नेकपा नेतृत्वको सरकारमा सामेल भएपछि सदनमा कांग्रेस नेतृत्वको प्रतिपक्षी बेञ्च कमजोर बन्न पुगेको छ। यस्तो स्थितिमा राजपापनि सरकारमा सामेल भयो भने कांग्रेस एक्लिने स्थिति छ। त्यसैले, उसले राजपासँग सहकार्यको प्रयास थालेको बुझ्न कठिन छैन।
राजपाको मुड
‘सरकार निरङ्कुसताको बाटोमा लागेको छ, त्यसलार्इ रोक्नुपर्ने छ’ खाँडले भने, ‘त्यसकारण पनि कांग्रेसले विभिन्न लगायतका दलहरुसँग सहकार्य गर्नुपर्ने भएको छ, त्यसमा राजपालाई पहिलो प्रथामिकतामा राखेका छौँ र राजपासँग हाम्रो कुराकानी जारी छ।’
अर्को मधेशवादी दल संघीय समाजवादी फोरम सरकारमा गएपछि राजपाका नेताहरुले संविधान संशोधनमा आशंका व्यक्त गर्न थालेका छन्। त्यसो त, सरकारका विषयमा राजपाभित्रैपनि मतैक्यता छैन। एक पक्ष संविधान संशोधनका लागि सरकारमा गएर दबाब दिनुपर्ने पक्षमा छ भने अर्को पक्ष सरकार बाहिर रहेर दबाब दिनुपर्ने पक्षमा छ।
आफूले उठाएका मुद्दा मिलेका खण्डमा कांग्रेससँग सहकार्य गर्ने विषयमा राजपापनि नकरात्मक छैन। ‘सहकार्यको कुरा ठूलो होइन, कांग्रेससँग त्यति धेरै कुरा अघि बढिसकेको भने छैन’ राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव भन्छन्, ‘हामीले उठाएका मुद्दा मिल्ने जुनसुकै दलसँग सहकार्य गर्न हामी तयारै छौँ।’
नेकपा र कांग्रेस भन्दा भिन्दै दल भएकाले राजपालाई तेस्रो धारको राजनीतिक पार्टी हो भन्न रुचाउँछन्, यसआधारमा उनको तर्क छ, तेस्रो धार भएकाले यसका मुद्दा पनि फरक छन्। भन्छन्। ‘कुनै मुद्दा कसैसँग मिल्लान्, कुनै कसैसँग। अहिले नै कांग्रेससँग मिल्नुपर्ने बाध्यता छैन। कांग्रेससँग केही मुद्दा मिल्न सक्छन्, मिलेका मुद्दामा हामी सँगै जान सक्छौँ।’
खासमा राजपा कांग्रेसभन्दा नेकपासँग नै मिल्न चाहन्छ। यसका दुई कारण छन्। एक, आफूहरुको माग बमोजिम संविधान संसोधन भयो भइहाल्यो भने त्यसको जस आफूलाई पनि आउँछ भन्ने राजपा नेताहरुलाई लागेको छ। दुई, सरकारमा रहेर पार्टी संगठन मजबुत बनाउन सकिने विश्लेषणपनि उनीहरुको छ।
तर, राजपालाई सरकारमा सामेल गराउने वातावरण नेकपाभित्र बनिसकेको छैन। फोरमसँग जस्तो नीति र सिद्धान्त नमिल्ने भएकाले राजपालाई सरकारमा ल्याउन हुन्न बलियो मत नेकपाभित्र छ। सरकारमा रहेको फोरमपनि मधेशको प्रतिस्पर्धी दल राजपालाई सरकारमा ल्याउने विषयमा सकरात्मक छैन।
अन्योलमा कांग्रेस
उपरोक्त कारणले सरकार प्रवेशको मार्ग अन्योलमा परेका बेला राजपाले मधेशका विभिन्न जिल्लाहरुमा पुगेर जनतासँग प्रत्यक्ष कुराकानी गर्ने योजनामा छ। अध्यक्ष मण्डलका सदस्य तथा राजपामा दोस्रो बरियताका नेता राजेन्द्र महतो सहितको टोली तरार्इका विभिन्न जिल्लामा भ्रमण निस्किसकेको पनि छ।
यसका विपरित प्रमुख प्रतिपक्षी कांग्रेस न जनताको बीचमा पुग्न सकेको छ, न त सदनमा प्रभावकारी रुपमा प्रस्तुत हुन नै सकेको छ। बरु पार्टीभित्रको मानसिक विभाजन अरु गहिरो हुँदैछ। सभापति शेरबहादुर देउवाविरुद्ध रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला एकजुट भएर मोर्चा कसिसकेका छन्। ५-७ असारमा हुन लागेको जिल्ला सभापति भेलामा पौडेल-सिटौला पक्ष संस्थापन विरुद्ध अझ कडा रुपमा प्रस्तुत हुने तयारीमा छ।
असार पहिलो हप्ता हुने जिल्ला सभापतिको भेलाअघि नै सभापति देउवा केही प्रमुख समिति र विभाग गठन गर्ने प्रयासमा छन्। १६ बैशाखमा सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन मस्यौदा समिति गठनको निर्णय पनि गरेको थियो। यसबाहेक कांग्रेसले कोष निर्माण तथा सञ्चालन समिति, अञ्चल समन्वय समिति, प्रदेश समिति र काठमाडौं उपत्यका समन्वय समिति गठन गर्नुपर्नेछ।
तर पार्टीभित्र पौडेल-सिटौला मिलेर आफूविरुद्ध मोर्चा कसेपछि सभापति देउवा झन् अप्ठेरोमा परेका छन्।
(नेपालखबर बाट)
प्रतिक्रिया