रूढि र विकृतिको चंगुलमा तीज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
रूढि र विकृतिको चंगुलमा तीज

सारांश

  • डा.
  • कृष्णराज अधिकारी नेपालमा विभिन्न प्रकृतिका चाडपर्वहरु प्रचलनमा रहेका छन् ।
  • तिनीहरुमध्ये हिन्दू धर्मावलम्बीहरुले मनाउने चाडहरुमा दसैं, तिहार, जनैपूर्णिमा, तीज, माघे संक्रान्ति, फागु पूर्णिमा, राम नवमी, कृष्णाष्टमी, शिवरात्रि आदि प्रमुख रहेका छन् ।

डा.कृष्णराज अधिकारी

नेपालमा विभिन्न प्रकृतिका चाडपर्वहरु प्रचलनमा रहेका छन् । तिनीहरुमध्ये हिन्दू धर्मावलम्बीहरुले मनाउने चाडहरुमा दसैं, तिहार, जनैपूर्णिमा, तीज, माघे संक्रान्ति, फागु पूर्णिमा, राम नवमी, कृष्णाष्टमी, शिवरात्रि आदि प्रमुख रहेका छन् । यी चाडपर्वहरु पनि एउटै प्रकृतिका नभएर भिन्न प्रकृतिका पाइन्छन् ।

 

दसैं, तिहार जस्ता चाडहरु पौराणिक आख्यानसित गाँसिएका छन् भने जनैपूर्णिमा र तीज जस्ता चाडहरु वर्ण र लिंगमा आधारित रहेका छन् अनि शिवरात्रि, रामनवमी, कृष्णष्टमी जस्ता पर्वहरु धार्मिक वा ईश्वरीय व्यक्तित्वसित गाँसिएका देखिन्छन् । माघे संक्रान्ति, फागु पूर्णिमा जस्ता पर्वहरुले मौसम परिवर्तनसँग सम्बन्ध राख्छन् । यी सबै चाडपर्वहरु प्रारम्भ हुँदाको उद्देश्य खोज्दै जाँदा कृषि कर्मलाई उत्प्रेरित गर्ने, विश्राम र मनोरञ्जनको आवश्यकता परिपूर्ति गर्ने र सामाजिक तथा पारिवारिक सम्बन्धलाई दरिलो बनाउने रहेको पाइन्छ ।

 

तर कालान्तरमा आउँदा सामाजिक सम्बन्धका रुपहरु परिवर्तन हुँदै जाँदा र समाज वर्ग विभक्त हुँदै सामन्ती व्यवस्थामा आइपुग्दा चाडपर्वहरुलाई संग्लो, चोखो र सामाजिक आवश्यकता परिपूर्ति गर्ने संस्कृतिका रुपमा रहन दिएन । त्यस्ता चाडपर्व र संस्कृतिलाई सामाजिक सन्दर्भबाट विच्छेद गरी पौराणिक मिथकहरुसँग जोड्दै विकृत र भद्दा पारियो अनि इहलोकको आवश्यकताबाट परलोकको आवश्यकता बनाइयो । सामाजिक सन्दर्भलाई मेट्दै धर्मको जालोले जेल्दै लगियो अनि आमजनताको हित र स्वार्थबाट शासक र निश्चित वर्गको स्वार्थ अनुकूल बनाउँदै लगियो ।

 

तीजः परम्परा र मान्यता

हिन्दू नारीहरुले मनाउने गरेको तीजको सुरुआत कहिलेदेखि भयो त्यो एकिन भन्न नसकिए पनि विवाहित दिदी–बहिनीहरु माइत आउने, पतिको आयु बढाउनका लागि दिनभर उपवास बस्ने र त्यसको तयारीका लागि अघिल्लो दिन दर (पोषिलो वा दरो खाना) खाने गरिन्छ । रजस्वलाको पापबाट मुक्त हुन भन्दै ऋषि पञ्चमीमा सप्तर्षिको पूजा गर्ने प्रचलनलाई हेर्दा यो मातृसत्ता हटेर पुरुषसत्ता स्थापनासँगै त्यसको प्रभाव विस्तार गर्ने सन्दर्भमा नै प्रचलनमा ल्याइएको अनुमान गर्न सकिन्छ ।

 

वैदिक र उपनिषदिक ग्रन्थहरुमा यस्ता पर्वहरु बारे कुनै चर्चा पाइँदैन । यसरी हेर्दा तीजको प्रचलन वैदिककाल र उपनिषद्कालभन्दा पछि पौराणिक कालमा प्रचलनमा ल्याइएको थियो भन्न सकिन्छ । दसैं, तिहार जस्ता चाडहरुको प्रारम्भ कृषि कर्मलाई उत्प्रेरित गर्न र पारिवारिक–सामाजिक सम्बन्धको विकास गर्ने असल उद्देश्यले भएको मान्न सकिने आधार देखिए पनि तीज र जनै पूर्णिमाको सन्दर्भमा भने यस्तो आधार भेटिँदैन ।

 

हिन्दू नारीहरुको अर्को महत्वपूर्ण मानिने पर्व तीज हो जसमा विवाहित महिलाहरुले पतिको सुस्वास्थ्य र दीर्घायुको लागि र अविवाहित महिलाहरुले असल लोग्नेको कामना गर्दै दिनभर भोकै रहेर व्रत बस्छन् ।

 

तराईका महिलाहरु र पहाडका जनजातिका महिलाहरुले तीज नमनाउने हुँदा यसलाई पनि सबै हिन्दू महिलाहरुको पर्व नभएर खस जाति विशेषको पर्व भन्न सकिन्छ । पार्वतीले शिवलाई पतिका रुपमा प्राप्त गर्न कठोर तपस्या गरेको स्वस्थानी व्रत कथा, हरितालिका तीजको कथा र त्यस्तै प्रकृतिका पौराणिक कथासँग यसलाई जोड्ने गरिन्छ । व्रत बसेर र पूजा गरेर मनले चाहेको कुरा पुग्छ भन्नु अन्धविश्वास मात्र हो ।

 

आफ्नो श्रम, कर्म र पुरुषार्थमा विश्वास नभएकाहरुको धार्मिक पाखण्ड मात्र हो । पुरुषहरुले महिलालाई सधैं आफ्नो अधीनमा राखून् र आफू जस्तोसुकै व्यभिचारी, अपराधी र नीच स्वभावको भएपनि ईश्वरलाई झैं पूजा गरिरहून् भनेर नै महिलाहरुलाई यस्तो व्रत बसी पूजा गर्ने प्रचलन चलाइदिएको देखिन्छ । तीजको सन्दर्भमा मनाइने ऋषि पञ्चमी पनि महिलाहरुसँगै जोडिएको चाड हो ।

 

रजस्वला भएदेखि बन्द नभएसम्म हिन्दू महिलाहरुले यसलाई मनाउने गर्छन् । महिलाहरुमा रजस्वला हुने हुँदा तिनीहरु अपवित्र हुन्छन् र अझ ३ दिनसम्म त महापापी नै हुन्छन् भन्दै हिन्दू धर्मशास्त्रले महिलालाई अत्यन्त निम्नस्तरमा राखेर हेर्ने गरेको पाइन्छ । ऋषि पञ्चमी व्रत–कथामा उल्लेख गरे अनुसार रजस्वलाको पहिलो दिन उनीहरु चाण्डाली, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिनमा धोबिनी र चौथो दिनमा मात्र शुद्ध हुन्छन् । त्यस कथाको अर्को प्रसंगमा एउटी ब्राह्मणीले रजस्वला भएको बेलामा थाहै नपाई भाँडाकुँडा छोएका कारणले मरेपछि आफ्नै घरमा कुकुर्नी भई जन्मिएको र लोग्नेले पनि रजस्वला भएकी श्रीमतीसँग लसपस गरेका कारणले गोरु भएर जन्मिएको कुरा उल्लेख गरेको पाइन्छ ।

 

निश्चित उमेर पुगेपछि निश्चित उमेरसम्म रजस्वला हुनु एउटा प्राकृतिक प्रक्रिया हो । यो सृष्टिको लागि अत्यावश्यक जैविक प्रक्रिया हो । यसैले यो सृष्टिचक्रको लागि अत्यन्त आवश्यक र सकारात्मक कुरा हो । यसलाई सकारात्मक रुपमा लिनुपर्नेमा कुनै पाप वा अपराधको कारण ठान्दै अछुत सम्झनु महिलाप्रतिको मात्र होइन सृष्टिचक्रकै घोर अपमान हो, विज्ञान र वैज्ञानिक चेतनाको उपहास हो ।

 

दुर्गम गाउँका अशिक्षित महिला मात्र होइन सहर–बजारका शिक्षित महिला समेत ‘पाप लाग्छ’ भन्दै रजस्वलाको समय ‘अछुत’ भएर बस्नुलाई विडम्वना नै मान्नुपर्छ । रजस्वलालाई पाप ठानिनुमा यही रुढिग्रस्त सामन्ती संस्कार अनि तिनका पृष्ठपोषक ‘हरितालिका कथा’ र ‘स्वस्थानी कथा’को प्रभाव हो भन्न सकिन्छ ।

 

३ सय ६४ दिनसम्म दाँत नमाझ्ने तर वर्षदिनको साटो एकैदिन ३ सय ६५ वटा दतिबन टोक्दै रजस्वलाको प्रायश्चित्त गर्न खोज्नु अन्धविश्वाशको पराकाष्टा हो । यसरी रजस्वलालाई पापको कारण देख्ने, लोग्नेको आयु बढाउन भन्दै महिलालाई दिनभर पानीसम्म पिउन नदिएर भोकै बस्न लगाउने, जनैलाई उच्च जातका पुरुषहरुमा सीमित गर्ने, महिला र दलितलाई वेद पढ्न र सुन्नमा समेत बञ्चित गराउने हिन्दू धर्मका कतिपय ग्रन्थहरु नारी उत्पीडन, जातीय अहंकार पुरुष हैकम कै पक्षपाती भएको पुष्टि हुन्छ ।

 

औचित्य र सान्दर्भिकता

केही दशक अघिसम्म पनि यहाँ भौगोलिक विकटता, यातायात र सञ्चार सुविधाको अभाव, बाल विवाहको प्रचलन, सासूमण्डलीको हैकम, लोग्नेको अत्याचारअनि बुहारीहरुले सधैंको बुहार्तन भोग्दै र उत्पीडन सहदै गरेको समय र अवस्था थियो ।

 

सानैमा बिहे गरेर विकट र बिरानो ठाउँमा पुगेका महिलाहरुलाई एकातिर घरको कामधन्दाले बिहान झिस्मिसेदेखि रातीसम्म सास्ती दिन्थ्यो भने अर्कातिर घरका परिवार विशेष गरी सासू र लोग्नेबाट पनि आवश्यक माया र सहानुभूतिको साटो अपहेलना र पीडा थप्ने काम हुन्थ्यो । खोला, जंगल अनि भीर पहराको एकान्त र लामो बाटो एक्लै हिँडेर टाढाको माइती घर पुग्ने अवस्था सहज र सरल थिएन । कामधन्दाको चपेटो अनि घर–परिवारको असहिष्णु व्यवहारले गर्दा पनि घरबाट फुत्केर सजिलै माइत जाने स्थिति हुँदैनथ्यो । माइतीको सञ्चो–विसञ्चोको खबर समेत पाउन मुस्किल पथ्र्यो ।

 

यो अवस्थामा वर्षको एक पटक २÷४ दिन माइत जाने परिस्थिति बनाउनको लागि पनि तीज जस्ता चाडको आवश्यकता पर्दथ्यो । यसको लागि पुरुषहरुले सम्झौता त गरिदिए तर माइत गए पनि लोग्नेकै निम्ति व्रत बसिदिनु पर्ने सर्तमा । यसरी आफ्नो मन र शरीरलाई हलुका पार्ने गरी वर्षको एकपटक भए पनि माइतमा गएर उन्मुक्त भई नाचगान गर्ने, आफ्ना व्यथा र वेदनालाई गीतका रुपमा व्यक्त गर्ने र पुराना साथी संगीहरुसँग भेटघाट गरी मनलाई हलुका पार्ने कार्य तत्कालको आवश्यकता थियो ।

 

वर्षभरि सासूमण्डली र लोग्नेको सकसमा परेका अधिकांश बुहारीहरुलाई यस्ता पर्वले २÷४ दिन भएपनि अवश्य केही राहत दिन्थ्यो । तर त्यस छोटो उन्मुक्तिलाई समेत पुरुषहरुले आफ्नो प्रभाव र हैकमभित्र राख्न पुरुषकै निम्ति व्रत बस्न लगाउँदै धार्मिक र पौराणिक मिथहरुसँग जोड्न थालेपछि यो पर्व नारी उत्पीडनकारी बन्न पुग्यो ।

 

आज प्रायः गाउँ–गाउँमा मोटरबाटो पुगेको र अधिकांशको हात–हातमा मोबाइल फोन रहेको अवस्था छ । यसैले माइतीको हालखबर थाहा पाउन अब हप्तौं वा महिनौं लाग्ने स्थिति छैन । मोबाइलबाटै धित मर्ने गरी कुराकानी गर्न सकिने अवस्था छ । अर्कातिर कतै–कतैको अपवाद छाडेर बालविवाहको प्रचलन पनि हटिसकेको छ र शिक्षा र चेतनाको जागरणसँगै नारी हक–अधिकारका कुराहरु पनि उठिरहेको अवस्था छ ।

 

बुहारी भएकै कारण शोषित र पीडित हुनुपरेको अवस्था कम हुँदै गई सहर–बजारतिर त बुहारीभन्दा सासूहरु नै बढी प्रताडित हुन थालेको अवस्था पनि छ । यो परिवर्तित अवस्थामा अब महिलालाई माइत आउन तीजै कुर्नुपर्ने, लिन गए मात्र पठाउने भन्ने अवस्थाको अन्त हुन थालेको छ । धेरै जसो महिलाहरु आफूले चाहेको खण्डमा सजिलै माइत आउन सक्ने स्थिति बन्दै गरेको अवस्था छ  । यो अवस्थालाई हेर्दा अब तीजको सन्दर्भ र औचित्य देखिन छाडेको छ ।

 

भोकै व्रत बस्दैमा पुरुषको आयु बढ्ने होइन, उचित खानपान, स्वास्थ्य र जीवनशैली नै यसको कारक तत्व हो भन्ने अब धेरैले बुझिसकेको अवस्थामा व्रत बस्ने र त्यसको तयारीका लागि अघिल्लो राती दर (दह्रो खाना वा पोषिलो खाना) खानुपर्ने आवश्यकता पनि अब रहेन । रजस्वलालाई नै पाप कर्म मानी त्यसको प्रायश्चित्तमा गरिने ऋषि पञ्चमी पूजा त अब महिला उत्पीडनकारी हुन पुगेको छ । यो  स्थितिमा अव तीजको सन्दर्भ र औचित्य पुष्टि गर्ने आधार कहिँ कतै देखिँदैन ।

 

रूढिबाट विकृत उपभोक्तावाद तिर

आज तीजको स्वरुप फेरिँदै गएको छ । समय र समाजको विकासक्रमसँगै संस्कार–संस्कृतिहरु परिमार्जित हुँदै जानुलाई स्वाभाविक मान्न सकिए पनि तीज लगायतका चाड पर्वहरुले जे जस्तो स्वरुप लिन थालेका छन् त्यसले परिमार्जित र समाजोपयोगी स्वरुप नलिएर विकृत र विद्रुप स्वरुप लिँदै गएको देखिन्छ ।

 

हरितालिकाका दिन र कहिलेकाहिँ त्यसको भोलिपल्ट समेत भोकै बस्नु पर्ने हुनाले महिलाहरुले हरितालिकाको अघिल्लो दिन (द्वितीयाका दिन) राति उठेर दह्रो वा पोषिलो खाना खाने प्रचलन गरेका थिए । दूध, घिउ र त्यसबाट बनेका प्रोटिन र चिल्लोयुक्त खानाले शक्ति सञ्चय गर्दथ्यो र भोलिपल्टको लागि समेत काम गर्दथ्यो । त्यही प्रचलनलाई विकृत तुल्याउँदै आज सहरका महिलाहरु दर खाने नाउँमा एक–डेढ महिना अघिबाटै होटल–रेस्टुरेन्ट र पार्टी प्यालेसहरुमा भोज–भतेरमा रम्न थालेका छन् ।

 

व्यक्तिगत तवरबाट मात्रै होइन संघ–संस्था, समूह र क्लबहरुबाट समेत यसलाई फेसनका रुपमा अघि बढाउँदै एक–डेढ महिना अघिबाटै होटल–रेस्टुरेन्टहरु बुक हुन थालेका छन् । कतिपय व्यक्तिहरुले फेसनका रुपमा, कतिपयले आफ्नो नव–आर्जित सम्पत्तिको प्रदर्शन गर्न अनि कतिपयले व्यापार–व्यवसाय प्रवद्र्धन गर्न समेत दर खुवाउने प्रचलनको उपयोग गर्न थालेको पाइन्छ । यसरी खाने–खुवाइने दर (भोज)मा प्रस्तुत हुन जाँदा लगाउने गहना र कपडालाई हेर्दा कुनै प्रदर्शनस्थलमा गए झैं प्रतीत हुन्छ ।

 

यसरी आफ्ना छोरी–चेलीहरुलाई बोलाएर भोज खुवाउनकै लागि तीज मनाउने हो भने तीजको औचित्य देखिँदैन । दसैं वा अन्य कुनै पनि अवसरमा यस्तो भोजको आयोजना गर्न सकिन्छ । यसरी तिजले एकातिर परम्पराका नाउँमा अन्धविश्वास र रुढिलाई अघि बढाइरहेको छ भने अर्कातिर आधुनिकताका नाउँमा पश्चिमा उपभोक्तावादी विकृत संस्कृतिको विस्तार गरिरहेछ ।

 

तीजको अर्को एउटा सकारात्मक पक्ष नेपाली लोकगीतका विशेष भाकाहरुको संरक्षण र प्रवद्र्धन गर्नु पनि थियो । नेपाली महिलाहरुले माइतमा साथीहरुसँग भेट भई आ–आफ्ना घर–गाउँका दुख–सुख, आस्था–विश्वास, घटना–अवस्थाका विषयहरुलाई आ–आफ्नै गाउँ–ठाउँका भाकामा उनेर प्रस्तुत गर्ने गर्दथे ।

यसले सम्बन्धित ठाउँको प्रकृति, अवस्था, घटना, आर्थिक–सामाजिक, सांस्कृतिक र पारिवारिक स्थितिको जानकारी हुन्थ्यो । महिलाहरुका स्वतः स्फूर्त शब्द र भाकाहरुले गर्दा नेपाली लोक संस्कृतिको एउटा प्रतिबिम्ब देख्न सकिन्थ्यो । तर अहिले यो सबै लोप हुन थालेको छ ।

 

महिलाहरुले मात्र गाउने यी गीतहरु अहिले महिला पुरुष दुवैले र अझ दोहोरी भाकामा अश्लिल र हलुका प्रेम र यौनका शब्द ओकल्ने गरिएबाट तीजे गीतको विशेषता र महत्व हराउन पुगेको छ । यसरी सबै कोणबाट तीजको औचित्य समाप्त हुँदै गएको देखिन्छ ।

 

बिदाको सन्दर्भ
तीजलाई राष्ट्रिय चाडका रुपमा मान्यता दिँदै नेपाल सरकारले हरितालिका र ऋषि पञ्चमीका दिन महिलाहरुलाई सार्वजनिक बिदा दिने गरेको छ । यसलाई लिएर पनि विवाद सिर्जना भएको छ । एकथरिले जसरी हिन्दूहरुका चाड दसैंं–तिहार र कृष्णाष्टमी जस्ता पर्वमा गैरहिन्दूलाई समेत बिदा दिइन्छ र इद, क्रिसमस जस्ता गैरहिन्दूका पर्वमा हिन्दूलाई समेत बिदा दिइन्छ ।

 

त्यसरी नै महिलाहरुको चाडमा पनि महिलालाई मात्र नभई पुरुषलाई समेत बिदा दिनुपर्छ भन्ने रहेको छ । अनि अर्काथरि महिलाको भनाइमा तीज वास्तवमा महिलालाई उत्पीडन गर्ने सामन्ती र पुरुष–हैकमवादी पर्व भएकाले यो चाड मनाउन बन्द गर्नुका साथै बिदा समेत दिइनु हुन्न भन्ने रहेको छ ।

 

वास्तवमा तीजमा एकातिर नारी उत्पीडन र रुढिवादको परम्परा र अर्कातिर उपभोक्तावादी विकृत संस्कृतिको मिश्रण भएबाट यसको सामाजिक आवश्यकता र औचित्य अनि सांस्कृतिक महत्व समाप्तप्रायः भइसकेको छ । यसैले समाजलाई उन्नत बनाउँदै अगाडि बढाउन हैन विकृत पार्दै पछाडि धकेल्न खोज्ने यस्ता विकृतिजन्य चाडहरुको पक्षपोषण लोककल्याणकारी राज्यको लागि नसुहाउने कुरा हो ।

 

यसैले तीज, जनैपूर्णिमा, कृष्णाष्टमी लगायत अन्य पर्वहरुमा दिइने सार्वजनिक बिदा तुरुन्तै कटौति गर्न नसकिए पनि यी लगायत सम्पूर्ण चाड–पर्वमा दिइने बिदाको औचित्य बारेमा अध्ययन गरी राज्यले पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘प्राइभेट’ नम्बरबाट बेलुका–बेलुका फोनः माओवादी नेतालाई गोली हानेर मार्ने धम्की
‘प्राइभेट’ नम्बरबाट बेलुका–बेलुका फोनः माओवादी नेतालाई गोली हानेर मार्ने धम्की
सप्तकोशी बाँधमा आइएसले  विस्फोटन गराउन थालेको  प्रचार,कोशी आतंकवादी को निशानामा,
सप्तकोशी बाँधमा आइएसले विस्फोटन गराउन थालेको प्रचार,कोशी आतंकवादी को निशानामा,
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आमरण अनशनमा रहेकी यादवको जीवनरक्षा गर्न आग्रह
आमरण अनशनमा रहेकी यादवको जीवनरक्षा गर्न आग्रह
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
माघ १२ गते सोमवारको राशिफल यस्तो छ
माघ १२ गते सोमवारको राशिफल यस्तो छ
अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, के भयाे कुराकानी ?
अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट, के भयाे कुराकानी ?
कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख मात्रै कमायो
कंगना अभिनित तेजसले पहिलो दिन ५० लाख मात्रै कमायो
आज भाइ टीका, कस्तो छ तपाईंको राशिफल?
आज भाइ टीका, कस्तो छ तपाईंको राशिफल?
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा

तपाईंले छुटाउनुभयो कि?