रूढि र विकृतिको चंगुलमा तीज
सारांश
- डा.
- कृष्णराज अधिकारी नेपालमा विभिन्न प्रकृतिका चाडपर्वहरु प्रचलनमा रहेका छन् ।
- तिनीहरुमध्ये हिन्दू धर्मावलम्बीहरुले मनाउने चाडहरुमा दसैं, तिहार, जनैपूर्णिमा, तीज, माघे संक्रान्ति, फागु पूर्णिमा, राम नवमी, कृष्णाष्टमी, शिवरात्रि आदि प्रमुख रहेका छन् ।
डा.कृष्णराज अधिकारी
नेपालमा विभिन्न प्रकृतिका चाडपर्वहरु प्रचलनमा रहेका छन् । तिनीहरुमध्ये हिन्दू धर्मावलम्बीहरुले मनाउने चाडहरुमा दसैं, तिहार, जनैपूर्णिमा, तीज, माघे संक्रान्ति, फागु पूर्णिमा, राम नवमी, कृष्णाष्टमी, शिवरात्रि आदि प्रमुख रहेका छन् । यी चाडपर्वहरु पनि एउटै प्रकृतिका नभएर भिन्न प्रकृतिका पाइन्छन् ।
दसैं, तिहार जस्ता चाडहरु पौराणिक आख्यानसित गाँसिएका छन् भने जनैपूर्णिमा र तीज जस्ता चाडहरु वर्ण र लिंगमा आधारित रहेका छन् अनि शिवरात्रि, रामनवमी, कृष्णष्टमी जस्ता पर्वहरु धार्मिक वा ईश्वरीय व्यक्तित्वसित गाँसिएका देखिन्छन् । माघे संक्रान्ति, फागु पूर्णिमा जस्ता पर्वहरुले मौसम परिवर्तनसँग सम्बन्ध राख्छन् । यी सबै चाडपर्वहरु प्रारम्भ हुँदाको उद्देश्य खोज्दै जाँदा कृषि कर्मलाई उत्प्रेरित गर्ने, विश्राम र मनोरञ्जनको आवश्यकता परिपूर्ति गर्ने र सामाजिक तथा पारिवारिक सम्बन्धलाई दरिलो बनाउने रहेको पाइन्छ ।
तर कालान्तरमा आउँदा सामाजिक सम्बन्धका रुपहरु परिवर्तन हुँदै जाँदा र समाज वर्ग विभक्त हुँदै सामन्ती व्यवस्थामा आइपुग्दा चाडपर्वहरुलाई संग्लो, चोखो र सामाजिक आवश्यकता परिपूर्ति गर्ने संस्कृतिका रुपमा रहन दिएन । त्यस्ता चाडपर्व र संस्कृतिलाई सामाजिक सन्दर्भबाट विच्छेद गरी पौराणिक मिथकहरुसँग जोड्दै विकृत र भद्दा पारियो अनि इहलोकको आवश्यकताबाट परलोकको आवश्यकता बनाइयो । सामाजिक सन्दर्भलाई मेट्दै धर्मको जालोले जेल्दै लगियो अनि आमजनताको हित र स्वार्थबाट शासक र निश्चित वर्गको स्वार्थ अनुकूल बनाउँदै लगियो ।
तीजः परम्परा र मान्यता
हिन्दू नारीहरुले मनाउने गरेको तीजको सुरुआत कहिलेदेखि भयो त्यो एकिन भन्न नसकिए पनि विवाहित दिदी–बहिनीहरु माइत आउने, पतिको आयु बढाउनका लागि दिनभर उपवास बस्ने र त्यसको तयारीका लागि अघिल्लो दिन दर (पोषिलो वा दरो खाना) खाने गरिन्छ । रजस्वलाको पापबाट मुक्त हुन भन्दै ऋषि पञ्चमीमा सप्तर्षिको पूजा गर्ने प्रचलनलाई हेर्दा यो मातृसत्ता हटेर पुरुषसत्ता स्थापनासँगै त्यसको प्रभाव विस्तार गर्ने सन्दर्भमा नै प्रचलनमा ल्याइएको अनुमान गर्न सकिन्छ ।
वैदिक र उपनिषदिक ग्रन्थहरुमा यस्ता पर्वहरु बारे कुनै चर्चा पाइँदैन । यसरी हेर्दा तीजको प्रचलन वैदिककाल र उपनिषद्कालभन्दा पछि पौराणिक कालमा प्रचलनमा ल्याइएको थियो भन्न सकिन्छ । दसैं, तिहार जस्ता चाडहरुको प्रारम्भ कृषि कर्मलाई उत्प्रेरित गर्न र पारिवारिक–सामाजिक सम्बन्धको विकास गर्ने असल उद्देश्यले भएको मान्न सकिने आधार देखिए पनि तीज र जनै पूर्णिमाको सन्दर्भमा भने यस्तो आधार भेटिँदैन ।
हिन्दू नारीहरुको अर्को महत्वपूर्ण मानिने पर्व तीज हो जसमा विवाहित महिलाहरुले पतिको सुस्वास्थ्य र दीर्घायुको लागि र अविवाहित महिलाहरुले असल लोग्नेको कामना गर्दै दिनभर भोकै रहेर व्रत बस्छन् ।
तराईका महिलाहरु र पहाडका जनजातिका महिलाहरुले तीज नमनाउने हुँदा यसलाई पनि सबै हिन्दू महिलाहरुको पर्व नभएर खस जाति विशेषको पर्व भन्न सकिन्छ । पार्वतीले शिवलाई पतिका रुपमा प्राप्त गर्न कठोर तपस्या गरेको स्वस्थानी व्रत कथा, हरितालिका तीजको कथा र त्यस्तै प्रकृतिका पौराणिक कथासँग यसलाई जोड्ने गरिन्छ । व्रत बसेर र पूजा गरेर मनले चाहेको कुरा पुग्छ भन्नु अन्धविश्वास मात्र हो ।
आफ्नो श्रम, कर्म र पुरुषार्थमा विश्वास नभएकाहरुको धार्मिक पाखण्ड मात्र हो । पुरुषहरुले महिलालाई सधैं आफ्नो अधीनमा राखून् र आफू जस्तोसुकै व्यभिचारी, अपराधी र नीच स्वभावको भएपनि ईश्वरलाई झैं पूजा गरिरहून् भनेर नै महिलाहरुलाई यस्तो व्रत बसी पूजा गर्ने प्रचलन चलाइदिएको देखिन्छ । तीजको सन्दर्भमा मनाइने ऋषि पञ्चमी पनि महिलाहरुसँगै जोडिएको चाड हो ।
रजस्वला भएदेखि बन्द नभएसम्म हिन्दू महिलाहरुले यसलाई मनाउने गर्छन् । महिलाहरुमा रजस्वला हुने हुँदा तिनीहरु अपवित्र हुन्छन् र अझ ३ दिनसम्म त महापापी नै हुन्छन् भन्दै हिन्दू धर्मशास्त्रले महिलालाई अत्यन्त निम्नस्तरमा राखेर हेर्ने गरेको पाइन्छ । ऋषि पञ्चमी व्रत–कथामा उल्लेख गरे अनुसार रजस्वलाको पहिलो दिन उनीहरु चाण्डाली, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिनमा धोबिनी र चौथो दिनमा मात्र शुद्ध हुन्छन् । त्यस कथाको अर्को प्रसंगमा एउटी ब्राह्मणीले रजस्वला भएको बेलामा थाहै नपाई भाँडाकुँडा छोएका कारणले मरेपछि आफ्नै घरमा कुकुर्नी भई जन्मिएको र लोग्नेले पनि रजस्वला भएकी श्रीमतीसँग लसपस गरेका कारणले गोरु भएर जन्मिएको कुरा उल्लेख गरेको पाइन्छ ।
निश्चित उमेर पुगेपछि निश्चित उमेरसम्म रजस्वला हुनु एउटा प्राकृतिक प्रक्रिया हो । यो सृष्टिको लागि अत्यावश्यक जैविक प्रक्रिया हो । यसैले यो सृष्टिचक्रको लागि अत्यन्त आवश्यक र सकारात्मक कुरा हो । यसलाई सकारात्मक रुपमा लिनुपर्नेमा कुनै पाप वा अपराधको कारण ठान्दै अछुत सम्झनु महिलाप्रतिको मात्र होइन सृष्टिचक्रकै घोर अपमान हो, विज्ञान र वैज्ञानिक चेतनाको उपहास हो ।
दुर्गम गाउँका अशिक्षित महिला मात्र होइन सहर–बजारका शिक्षित महिला समेत ‘पाप लाग्छ’ भन्दै रजस्वलाको समय ‘अछुत’ भएर बस्नुलाई विडम्वना नै मान्नुपर्छ । रजस्वलालाई पाप ठानिनुमा यही रुढिग्रस्त सामन्ती संस्कार अनि तिनका पृष्ठपोषक ‘हरितालिका कथा’ र ‘स्वस्थानी कथा’को प्रभाव हो भन्न सकिन्छ ।
३ सय ६४ दिनसम्म दाँत नमाझ्ने तर वर्षदिनको साटो एकैदिन ३ सय ६५ वटा दतिबन टोक्दै रजस्वलाको प्रायश्चित्त गर्न खोज्नु अन्धविश्वाशको पराकाष्टा हो । यसरी रजस्वलालाई पापको कारण देख्ने, लोग्नेको आयु बढाउन भन्दै महिलालाई दिनभर पानीसम्म पिउन नदिएर भोकै बस्न लगाउने, जनैलाई उच्च जातका पुरुषहरुमा सीमित गर्ने, महिला र दलितलाई वेद पढ्न र सुन्नमा समेत बञ्चित गराउने हिन्दू धर्मका कतिपय ग्रन्थहरु नारी उत्पीडन, जातीय अहंकार पुरुष हैकम कै पक्षपाती भएको पुष्टि हुन्छ ।
औचित्य र सान्दर्भिकता
केही दशक अघिसम्म पनि यहाँ भौगोलिक विकटता, यातायात र सञ्चार सुविधाको अभाव, बाल विवाहको प्रचलन, सासूमण्डलीको हैकम, लोग्नेको अत्याचारअनि बुहारीहरुले सधैंको बुहार्तन भोग्दै र उत्पीडन सहदै गरेको समय र अवस्था थियो ।
सानैमा बिहे गरेर विकट र बिरानो ठाउँमा पुगेका महिलाहरुलाई एकातिर घरको कामधन्दाले बिहान झिस्मिसेदेखि रातीसम्म सास्ती दिन्थ्यो भने अर्कातिर घरका परिवार विशेष गरी सासू र लोग्नेबाट पनि आवश्यक माया र सहानुभूतिको साटो अपहेलना र पीडा थप्ने काम हुन्थ्यो । खोला, जंगल अनि भीर पहराको एकान्त र लामो बाटो एक्लै हिँडेर टाढाको माइती घर पुग्ने अवस्था सहज र सरल थिएन । कामधन्दाको चपेटो अनि घर–परिवारको असहिष्णु व्यवहारले गर्दा पनि घरबाट फुत्केर सजिलै माइत जाने स्थिति हुँदैनथ्यो । माइतीको सञ्चो–विसञ्चोको खबर समेत पाउन मुस्किल पथ्र्यो ।
यो अवस्थामा वर्षको एक पटक २÷४ दिन माइत जाने परिस्थिति बनाउनको लागि पनि तीज जस्ता चाडको आवश्यकता पर्दथ्यो । यसको लागि पुरुषहरुले सम्झौता त गरिदिए तर माइत गए पनि लोग्नेकै निम्ति व्रत बसिदिनु पर्ने सर्तमा । यसरी आफ्नो मन र शरीरलाई हलुका पार्ने गरी वर्षको एकपटक भए पनि माइतमा गएर उन्मुक्त भई नाचगान गर्ने, आफ्ना व्यथा र वेदनालाई गीतका रुपमा व्यक्त गर्ने र पुराना साथी संगीहरुसँग भेटघाट गरी मनलाई हलुका पार्ने कार्य तत्कालको आवश्यकता थियो ।
वर्षभरि सासूमण्डली र लोग्नेको सकसमा परेका अधिकांश बुहारीहरुलाई यस्ता पर्वले २÷४ दिन भएपनि अवश्य केही राहत दिन्थ्यो । तर त्यस छोटो उन्मुक्तिलाई समेत पुरुषहरुले आफ्नो प्रभाव र हैकमभित्र राख्न पुरुषकै निम्ति व्रत बस्न लगाउँदै धार्मिक र पौराणिक मिथहरुसँग जोड्न थालेपछि यो पर्व नारी उत्पीडनकारी बन्न पुग्यो ।
आज प्रायः गाउँ–गाउँमा मोटरबाटो पुगेको र अधिकांशको हात–हातमा मोबाइल फोन रहेको अवस्था छ । यसैले माइतीको हालखबर थाहा पाउन अब हप्तौं वा महिनौं लाग्ने स्थिति छैन । मोबाइलबाटै धित मर्ने गरी कुराकानी गर्न सकिने अवस्था छ । अर्कातिर कतै–कतैको अपवाद छाडेर बालविवाहको प्रचलन पनि हटिसकेको छ र शिक्षा र चेतनाको जागरणसँगै नारी हक–अधिकारका कुराहरु पनि उठिरहेको अवस्था छ ।
बुहारी भएकै कारण शोषित र पीडित हुनुपरेको अवस्था कम हुँदै गई सहर–बजारतिर त बुहारीभन्दा सासूहरु नै बढी प्रताडित हुन थालेको अवस्था पनि छ । यो परिवर्तित अवस्थामा अब महिलालाई माइत आउन तीजै कुर्नुपर्ने, लिन गए मात्र पठाउने भन्ने अवस्थाको अन्त हुन थालेको छ । धेरै जसो महिलाहरु आफूले चाहेको खण्डमा सजिलै माइत आउन सक्ने स्थिति बन्दै गरेको अवस्था छ । यो अवस्थालाई हेर्दा अब तीजको सन्दर्भ र औचित्य देखिन छाडेको छ ।
भोकै व्रत बस्दैमा पुरुषको आयु बढ्ने होइन, उचित खानपान, स्वास्थ्य र जीवनशैली नै यसको कारक तत्व हो भन्ने अब धेरैले बुझिसकेको अवस्थामा व्रत बस्ने र त्यसको तयारीका लागि अघिल्लो राती दर (दह्रो खाना वा पोषिलो खाना) खानुपर्ने आवश्यकता पनि अब रहेन । रजस्वलालाई नै पाप कर्म मानी त्यसको प्रायश्चित्तमा गरिने ऋषि पञ्चमी पूजा त अब महिला उत्पीडनकारी हुन पुगेको छ । यो स्थितिमा अव तीजको सन्दर्भ र औचित्य पुष्टि गर्ने आधार कहिँ कतै देखिँदैन ।
रूढिबाट विकृत उपभोक्तावाद तिर
आज तीजको स्वरुप फेरिँदै गएको छ । समय र समाजको विकासक्रमसँगै संस्कार–संस्कृतिहरु परिमार्जित हुँदै जानुलाई स्वाभाविक मान्न सकिए पनि तीज लगायतका चाड पर्वहरुले जे जस्तो स्वरुप लिन थालेका छन् त्यसले परिमार्जित र समाजोपयोगी स्वरुप नलिएर विकृत र विद्रुप स्वरुप लिँदै गएको देखिन्छ ।
हरितालिकाका दिन र कहिलेकाहिँ त्यसको भोलिपल्ट समेत भोकै बस्नु पर्ने हुनाले महिलाहरुले हरितालिकाको अघिल्लो दिन (द्वितीयाका दिन) राति उठेर दह्रो वा पोषिलो खाना खाने प्रचलन गरेका थिए । दूध, घिउ र त्यसबाट बनेका प्रोटिन र चिल्लोयुक्त खानाले शक्ति सञ्चय गर्दथ्यो र भोलिपल्टको लागि समेत काम गर्दथ्यो । त्यही प्रचलनलाई विकृत तुल्याउँदै आज सहरका महिलाहरु दर खाने नाउँमा एक–डेढ महिना अघिबाटै होटल–रेस्टुरेन्ट र पार्टी प्यालेसहरुमा भोज–भतेरमा रम्न थालेका छन् ।
व्यक्तिगत तवरबाट मात्रै होइन संघ–संस्था, समूह र क्लबहरुबाट समेत यसलाई फेसनका रुपमा अघि बढाउँदै एक–डेढ महिना अघिबाटै होटल–रेस्टुरेन्टहरु बुक हुन थालेका छन् । कतिपय व्यक्तिहरुले फेसनका रुपमा, कतिपयले आफ्नो नव–आर्जित सम्पत्तिको प्रदर्शन गर्न अनि कतिपयले व्यापार–व्यवसाय प्रवद्र्धन गर्न समेत दर खुवाउने प्रचलनको उपयोग गर्न थालेको पाइन्छ । यसरी खाने–खुवाइने दर (भोज)मा प्रस्तुत हुन जाँदा लगाउने गहना र कपडालाई हेर्दा कुनै प्रदर्शनस्थलमा गए झैं प्रतीत हुन्छ ।
यसरी आफ्ना छोरी–चेलीहरुलाई बोलाएर भोज खुवाउनकै लागि तीज मनाउने हो भने तीजको औचित्य देखिँदैन । दसैं वा अन्य कुनै पनि अवसरमा यस्तो भोजको आयोजना गर्न सकिन्छ । यसरी तिजले एकातिर परम्पराका नाउँमा अन्धविश्वास र रुढिलाई अघि बढाइरहेको छ भने अर्कातिर आधुनिकताका नाउँमा पश्चिमा उपभोक्तावादी विकृत संस्कृतिको विस्तार गरिरहेछ ।
तीजको अर्को एउटा सकारात्मक पक्ष नेपाली लोकगीतका विशेष भाकाहरुको संरक्षण र प्रवद्र्धन गर्नु पनि थियो । नेपाली महिलाहरुले माइतमा साथीहरुसँग भेट भई आ–आफ्ना घर–गाउँका दुख–सुख, आस्था–विश्वास, घटना–अवस्थाका विषयहरुलाई आ–आफ्नै गाउँ–ठाउँका भाकामा उनेर प्रस्तुत गर्ने गर्दथे ।
यसले सम्बन्धित ठाउँको प्रकृति, अवस्था, घटना, आर्थिक–सामाजिक, सांस्कृतिक र पारिवारिक स्थितिको जानकारी हुन्थ्यो । महिलाहरुका स्वतः स्फूर्त शब्द र भाकाहरुले गर्दा नेपाली लोक संस्कृतिको एउटा प्रतिबिम्ब देख्न सकिन्थ्यो । तर अहिले यो सबै लोप हुन थालेको छ ।
महिलाहरुले मात्र गाउने यी गीतहरु अहिले महिला पुरुष दुवैले र अझ दोहोरी भाकामा अश्लिल र हलुका प्रेम र यौनका शब्द ओकल्ने गरिएबाट तीजे गीतको विशेषता र महत्व हराउन पुगेको छ । यसरी सबै कोणबाट तीजको औचित्य समाप्त हुँदै गएको देखिन्छ ।
बिदाको सन्दर्भ
तीजलाई राष्ट्रिय चाडका रुपमा मान्यता दिँदै नेपाल सरकारले हरितालिका र ऋषि पञ्चमीका दिन महिलाहरुलाई सार्वजनिक बिदा दिने गरेको छ । यसलाई लिएर पनि विवाद सिर्जना भएको छ । एकथरिले जसरी हिन्दूहरुका चाड दसैंं–तिहार र कृष्णाष्टमी जस्ता पर्वमा गैरहिन्दूलाई समेत बिदा दिइन्छ र इद, क्रिसमस जस्ता गैरहिन्दूका पर्वमा हिन्दूलाई समेत बिदा दिइन्छ ।
त्यसरी नै महिलाहरुको चाडमा पनि महिलालाई मात्र नभई पुरुषलाई समेत बिदा दिनुपर्छ भन्ने रहेको छ । अनि अर्काथरि महिलाको भनाइमा तीज वास्तवमा महिलालाई उत्पीडन गर्ने सामन्ती र पुरुष–हैकमवादी पर्व भएकाले यो चाड मनाउन बन्द गर्नुका साथै बिदा समेत दिइनु हुन्न भन्ने रहेको छ ।
वास्तवमा तीजमा एकातिर नारी उत्पीडन र रुढिवादको परम्परा र अर्कातिर उपभोक्तावादी विकृत संस्कृतिको मिश्रण भएबाट यसको सामाजिक आवश्यकता र औचित्य अनि सांस्कृतिक महत्व समाप्तप्रायः भइसकेको छ । यसैले समाजलाई उन्नत बनाउँदै अगाडि बढाउन हैन विकृत पार्दै पछाडि धकेल्न खोज्ने यस्ता विकृतिजन्य चाडहरुको पक्षपोषण लोककल्याणकारी राज्यको लागि नसुहाउने कुरा हो ।
यसैले तीज, जनैपूर्णिमा, कृष्णाष्टमी लगायत अन्य पर्वहरुमा दिइने सार्वजनिक बिदा तुरुन्तै कटौति गर्न नसकिए पनि यी लगायत सम्पूर्ण चाड–पर्वमा दिइने बिदाको औचित्य बारेमा अध्ययन गरी राज्यले पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया