जनता को घर बाटै किन लखेटिए गृहमन्त्री शर्मा…
सारांश
- नेपालगञ्ज, ६ असार ।
- निर्वाचन आचारसंहिताविपरीत माओवादीको चुनाव प्रचारप्रसारमा पुगेका गृहमन्त्री जनार्दन शर्मा बाँकेको बैजनाथ गाउँपालिकाबाट लखेटिएको खबर छ ।
- निर्वाचन आचारसंहिताको खिल्ला उडाउँदै राति १० बजे बैजनाथमा भोट माग्न पुगेका शर्मा २ मिनेटमै त्यहाँबाट हिँडन् बाध्य भएको स्थानीय बासिन्दाले जानकारी दिए ।
नेपालगञ्ज, ६ असार । निर्वाचन आचारसंहिताविपरीत माओवादीको चुनाव प्रचारप्रसारमा पुगेका गृहमन्त्री जनार्दन शर्मा बाँकेको बैजनाथ गाउँपालिकाबाट लखेटिएको खबर छ ।
निर्वाचन आचारसंहिताको खिल्ला उडाउँदै राति १० बजे बैजनाथमा भोट माग्न पुगेका शर्मा २ मिनेटमै त्यहाँबाट हिँडन् बाध्य भएको स्थानीय बासिन्दाले जानकारी दिए ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षा रणनीतिबारे छलफल गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री शर्मा एकाएक माओवादी केन्द्रको घरदैलोमा हिँडेका थिए ।
सोमबार दिउसो नेपालगञ्जमा प्रदेश नं ५ का केही जिल्लाहरूको सुरक्षा अवस्थाबारेमा गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीको उद्दघाटन कार्यक्रम सकेर उनी खजुरा गाउँपालिकाको विभिन्न वडाहरूमा घरदैलो गर्न पुगेका थिए । उनले राति १० बजेतिर पार्टीको चुनावी कार्यक्रमलाई सम्बोधन गरेको तस्वीर पनि सार्वजनिक भएको छ ।
आचारसंहिता पालना गर्ने र गराउने निकायमा रहेका शर्माले मन्त्रीको हैसियतले यो समयमा पार्टीको चुनावी प्रचारमा लागेपछि उनीमाथि प्रश्न समेत उब्जिएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक आईपी खरेलले गृहमन्त्री शर्मा सुरक्षा गोष्ठीपछि खजुरा गाउँपालिकाको रनियाँपुरमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गरेको बताए । उनले मंगलबार बिहान बैजनाथ गाउँपालिकामा कार्यक्रममा सहभागी भएर गृहमन्त्री शर्मा धनगढीतर्फ लागेको जानकारी दिए ।
बैजनाथ गाउँपालिकमा गृह मन्त्री नै घरदैलोमा हिँडेपछि स्थानीय कांग्रेस, एमाले, राप्रपा लगायतका तर्फबाट विरोध गर्दै गृह मन्त्री आचारसंहिता बिरुद्ध क्रियाकलाप गर्दै हिँडेको आरोप लगाएका छन् ।
कार्यक्रममा सहभागी शर्माको बिरोध हुन थालेपछि सभालाई सम्बोधन गर्न थालेका गृहमन्त्री शर्माले २ मिनेटमै मञ्च छाडेर भाग्नु पर्ने गरी लखेटिएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया