लम्बिँदै पार्टी एकता संयोजन बैठक …..
सारांश
- एमाले र माओवादी केन्द्रबीचको एकताको ‘मोडालिटी’केन्द्रित छलफल लम्बिँदै गएको छ ।
- पार्टी एकता संयोजन समितिको बिहीबारको बैठक कुनै ठोस नयाँ निर्णयविना औपचारिकतामै सीमित भएको छ ।
- माघयता दुईपटक बसेको संयोजन समितिको बैठकले राष्ट्रिय सभा, प्रदेश सभा, प्रदेश सरकार र संघीय सरकारमा तालमेलसम्बन्धी निर्णय र कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ ।
एमाले र माओवादी केन्द्रबीचको एकताको ‘मोडालिटी’केन्द्रित छलफल लम्बिँदै गएको छ । पार्टी एकता संयोजन समितिको बिहीबारको बैठक कुनै ठोस नयाँ निर्णयविना औपचारिकतामै सीमित भएको छ । माघयता दुईपटक बसेको संयोजन समितिको बैठकले राष्ट्रिय सभा, प्रदेश सभा, प्रदेश सरकार र संघीय सरकारमा तालमेलसम्बन्धी निर्णय र कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ ।
एमाले अध्यक्ष केपी ओली बैंककबाट फर्किएपछि ७ माघमा बसेको बैठकले नयाँ सरकारले ल्याउने समृद्धि र सुशासनसँगसम्बन्धी नीति तथा कार्यक्रमको गृहकार्य गर्न एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । बालकोटस्थित ओलीनिवासमा बिहीबार बसेको बैठकले पनि प्रदेश सभा र प्रदेश सरकारमा तालमेल र नेतृत्व बाँडफाँडका लागि गठित वाम कार्यदलको प्रतिवेदन अनुमोदन गर्नेबाहेक एकतासम्बन्धी नयाँ निर्णय गरेन ।
‘एकता संयोजन समितिबाट वाम कार्यदलले प्रदेश सभा र प्रदेश सरकारका सम्बन्धमा तयार पारेको प्रतिवेदन अनुमोदन गरेको छ,’ बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणसम्बन्धी सामान्य ‘ब्रिफिङ’बाहेकका विषयमा बैठकमा थप छलफल भएको छैन ।’
कार्यदलको गत १४ माघमा बसेको बैठकले प्रदेश सभा र प्रदेश सरकारको नेतृत्वसम्बन्धी बाँडफाँट टुंगो लगाएको थियो । एमालेले प्रदेश १, ३, ४ र ५ तथा माओवादी केन्द्रले ६ र ७ मा मुख्यमन्त्री लिने, प्रदेश सरकार सातदेखि ११ सदस्यीय हुने तथा मन्त्रिपरिषद्मा एमाले–माओवादीको ७०÷३० अनुपातमा सहभागिता रहने कार्यदलले समझदारी गरेको थियो । त्यस्तै, चारवटा प्रदेशमा एमाले र दुईवटा प्रदेशमा माओवादी केन्द्रले सभामुख लिने समझदारीसहितको प्रतिवेदनलाई संयोजन समितिको बैठकले अनुमोदन गरेको छ ।
दुई अध्यक्षको सहमतिपछि मात्रै एकता कार्यदल
एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई गति दिने उद्देश्यले बनाउने भनिएको ‘बहुप्रतिक्षित’ दुई कार्यदल गठन गरेन । ‘अझै दुई अध्यक्षबीच एक–दुई चरण छलफल भएपछि एकता संयोजन समितिको बैठक बसेर कार्यदल बनाउने दिशामा अघि बढ्ने भन्ने कुरा भएको छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘एकताका विषयमा दुई अध्यक्षबीच चलिरहेको छलफल सकारात्मक दिशातिरै उन्मुख छ ।’
एकता संयोजनमा पार्टी एकतालाई गति दिन पुसको अन्तिम साता नै दुवै पार्टीका नेताहरू रहेको सैद्धान्तिक, वैचारिक तथा सांगठनिक एकतासम्बन्धी कार्यदल बनाउने ओली र प्रचण्डबीच समझदारी भएको थियो । तर, ७ माघमा बसेको बैठकमा समेत ती दुई कार्यदल नबनाएर दुवै पार्टी यसबीचमा एकतालाई ठोस रूप दिनेभन्दा पनि गठबन्धनसँग सम्बन्धित गृहकार्यमै बढी व्यस्त देखिँदा छलफल लम्बिँदै गएको छ ।
प्रतिक्रिया